हेलेन मेरी रोबर्ट्स पाकिस्तानी सेनाको पहिलो अल्पसंख्यक महिला ब्रिगेडियर बनिन्
काठमाडौं । हेलेन मेरी रोबर्ट्सले पाकिस्तानी सेनामा ब्रिगेडियरको पद हासिल गर्ने पहिलो क्रिश्चियन महिला बनेर इतिहास रचेकी छिन्। उनी हाल पाकिस्तानी सेनाको मेडिकल कोरमा कार्यरत छिन्।
पाकिस्तान मुस्लिम बहुल देश हो र त्यहाँ इसाई समुदाय अल्पसंख्यक छन् । हेलेन रोबर्ट्स पाकिस्तानी सेनाका ती अधिकारीहरूमध्ये एक थिइन् जसलाई चयन बोर्डले ब्रिगेडियर र पूर्ण कर्णेलको पदमा बढुवा गरेको थियो।
हेलेनलाई ब्रिगेडियरमा बढुवा गरेकोमा बधाई दिँदै प्रधानमन्त्री शहबाज शरीफले देशको सेवा गरिरहेका अल्पसंख्यक समुदायका उनीजस्ता हजारौं मेहनती महिलाहरूमाथि सिंगो देशले गर्व गरेको बताए।
उनले भने, ‘पाकिस्तानी सेनामा ब्रिगेडियर पदमा बढुवा भएकी अल्पसंख्यक समुदायबाट पहिलो महिला हुनुभएकोमा म आफै र सिङ्गो राष्ट्र हेलेन मेरी रोबर्ट्सलाई बधाई दिन्छु।’
ब्रिगेडियर हेलेन एक वरिष्ठ रोग विशेषज्ञ हुन् र विगत २६ वर्षदेखि पाकिस्तानी सेनामा कार्यरत छिन्। गत वर्ष, रावलपिंडीको क्राइस्ट चर्चमा क्रिसमस मनाउने क्रममा, पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले देशको विकासमा अल्पसंख्यक समुदायले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
सन् २०२१ मा पाकिस्तान ब्यूरो अफ स्ट्याटिस्टिक्सले जारी गरेको तथ्याङ्क अनुसार देशमा ९६.४७ प्रतिशत मुस्लिम, २.१४ प्रतिशत हिन्दू, १.२७ प्रतिशत इसाई, ०.०९ प्रतिशत अहमदी मुस्लिम र ०.०२ प्रतिशत अन्य छन्।
हालै पाकिस्तानका कानूनमन्त्री आजम नाजिर तरारले पाकिस्तानको उच्च न्यायपालिकामा अल्पसंख्यक समुदायका न्यायाधीशहरूलाई समावेश गर्न वकालत गरेका थिए। न्यायमूर्ति केआर कर्नेलियस सम्मेलनलाई सम्बोधन गर्दै तारारले पाकिस्तानमा धार्मिक स्वतन्त्रता र अल्पसंख्यक अधिकारको महत्त्वमा जोड दिए।
उनले अल्पसंख्यक अधिकार आयोग गठन गर्न र अल्पसंख्यक अधिकारी र कानुनी सल्लाहकारहरूलाई आरक्षण दिन जोड दिए। सर्वोच्च अदालतका न्यायाधीश जस्टिस मन्सुर अली शाहले पनि तरारको अपिललाई समर्थन गरेका छन् ।
Facebook Comment