चिनियाँ रक्षामन्त्रीले भने- ताइवानको स्वतन्त्रतालाई पूर्ण शक्तिले रोक्छौं
काठमाडौं । चीनले पूर्ण शक्तिका साथ ताइवानको स्वतन्त्रतालाई दबाउनेछ। समाचार एजेन्सी एएफपीका अनुसार चिनियाँ रक्षामन्त्री डोङ जुनले शनिबार ताइवानलाई स्वतन्त्र हुनबाट रोक्न चिनियाँ सेना पूर्ण रूपमा तयार रहेको चेतावनी दिएका छन्। उनले ताइवानलाई चीनबाट अलग गर्ने जो कोहीलाई पनि टुक्रा टुक्रा पारिने बताएका छन् । यसो गर्नेहरूले आफ्नो विनाशलाई निम्तो दिइरहेको उनले बताए ।
सिंगापुरमा आयोजित सांग्रिला संवादको अन्तिम दिन चिनियाँ रक्षामन्त्रीले यी कुरा भनेका हुन् । चीनका रक्षामन्त्री डोङ जुनले सांग्रिला संवादमा कुनै पनि देशले चिनियाँ सीमा उल्लंघन गर्नु नहुने बताए । उनले चीनले एसियामा कुनै पनि प्रकारको युद्ध हुन नदिने बताए ।
चीनका रक्षामन्त्रीले आफूले ताइवानलाई शान्तिपूर्ण रूपमा चीनमा एकीकरण गर्न चाहेको बताएका छन् । तर, कतिपय देश यसमा बाधक बनिरहेका छन् । तिनीहरूका कारण ताइवानलाई बल वा युद्ध बिना चीनमा सामेल हुन गाह्रो भइरहेको छ। अमेरिकाको नाम नलिई उनले चीनलाई रोक्न केही देशले ताइवानलाई हतियार दिइरहेको बताए । डोङ जुनले यस्तो कार्य गरेर ताइवानलाई समस्यामा पारेको बताए ।
शुक्रबार उनले अमेरिकी रक्षामन्त्री लोयड अस्टिनसँग भेट गरे । यस क्रममा उनले अमेरिकालाई दुवै देशले वार्ताको बाटो खुला राख्नु पर्ने बताएका थिए । अमेरिका र चीनका रक्षामन्त्रीबीच एक घण्टा लामो कुराकानी भएको थियो । यस भेटबाट दुई देशबीचको तिक्तता हटाउने प्रयास गरिएको छ । एक साताअघि ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ-टेले सपथ ग्रहण गर्दा यो बैठक भएको हो। चीनले चिङ-टेलाई पृथकतावादी नेता मानेको छ। त्यसपछि दुई देशबीच तनाव बढेको थियो ।
Facebook Comment