भारतीय प्रजातन्त्र, आमचुनाव र प्रधानमन्त्रीहरू
सन् २०२४ मा विश्वभरका ६४ मुलुकहरूमा विश्वकै ४९ प्रतिशत (करिव ४ अर्ब) जनसंख्याको प्रतिनिधित्व हुने गरी आमनिर्वाचन हुँदैछ। जस मध्ये विश्वभरका सचेत मानिसहरूको दृष्टि भारत र अमेरिकाको निर्वाचनमा सबैभन्दा बढी केन्द्रित भएको देखिन्छ।
भारत विश्वमा नै सबैभन्दा बढी जनसंख्या भएको विशाल प्रजातान्त्रिक मुलुक हो। उ चीन जस्तै विश्व कै अग्रणी मध्येको अर्थतन्त्र हुने होडमा अघि बढीरहेको मुलुक हो।
सन् १९४७ अगस्तमा बेलायतको उपनिवेशबाट स्वतन्त्र भएदेखि आजसम्म भारतमा १४ जना प्रधानमन्त्री भए। शुरुको दिनमा केही दिनको निम्ति गुल्जारीलाल नन्दा दुई पटक अन्तरिम प्रधानमन्त्री भएका थिए।
१७ वर्षसम्म भारतको प्रधानमन्त्री हुने मौका पाएका भारतीय स्वतन्त्रता पछिका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुले भारतको आर्थिक विकासको पुर्वाधार निर्माण र विश्वमा भारतको कूटनीतिक अगुवाईको निम्ति निकै धेरै काम गरे।
उनी पुरै भारतका जनताका ज्यादै प्रिय तथा विश्वासिला प्रधानमन्त्री यानी एक प्रकारले भारतका अभिभावक कै रूपमा चिनिन्थे।
उनले भारत स्वतन्त्र हुने बेलामा सन् १९४६ देखि १९४७ सम्म पनि प्रान्तिय चुनावमा उनको पार्टी भारतीय राष्ट्रिय कांग्रेसले विजय हासिल गरेपछि वृटिश भारतको अन्तरिम प्रधानमन्त्रीको रूपमा काम गरेका थिए।
त्यतिबेला भारतको स्वतन्त्रता र भारत तथा पाकिस्तानको विभाजनको कार्य शान्तिपूर्ण तवरले सम्पन्न गर्न उनले ठूलो भूमिका खेलेका थिए। स्वतन्त्र भारतमा सन् १९५२ मा पहिलो आमनिर्वाचन भएको हो।
नेहरुको निधन पछि अर्का अति भलाद्मी तथा विद्धान व्यक्ति लालबहादुर शास्त्री भारतका प्रधानमन्त्री हुन पुगे। तर भारत-पाक वार्ताको सिलसिलामा तत्कालीन सोभियत रुसको तास्कन्दको भ्रमणको दौरान शास्त्री आफु बसेको होटलमा नै मृत फेला परे।
यसरी १ वर्ष ७ महिनामा नै उनको कार्यकाल सकिन पुग्यो र नेहरुकी सुपुत्री इन्दिरा गान्धी सन् १९६६ मा भारतकी प्रधानमन्त्री हुन पुगिन्। उनी भारतकी प्रथम महिला प्रधानमन्त्री थिइन् र उनी पछि अरु कुनै महिलाले पनि प्रधानमन्त्री हुने सौभाग्य पाएको छैन।
आफ्नो ११ वर्षको शासनकालमा इन्दिरा गान्धीले आफ्ना पिता नेहरुको विकास मोडललाई नै पछ्याइन्। तर उनी निकै महत्वाकांक्षी र आक्रामक प्रकृतिकी महिला थिइन्। उनकै कार्यकालमा पाकिस्तानसँग भारतको युद्ध भएर पाकिस्तानले पुर्वी पाकिस्तान गुमाउन परेर छुट्टै राष्ट्र बंगलादेशको निर्माण भएको थियो।
त्यस्तै इन्दिरा गान्धी कै महत्वाकांक्षी नीति मुताविक स्वतन्त्र राष्ट्र सिक्किम भारतमा विलय हुन बााध्य भएको थियो। उनले आन्तरिक राजनीति र पार्टी भित्रका असन्तोषी नेताहरूलाई आफ्नो पकडमा राख्न र प्रेस तथा न्यायालयको मुख बन्द गर्न छोरा युवा नेता सञ्जय गान्धीको सहयोगमा मुलुकमा संकटकालको घोषणा पनि गरिन्।
आखिर उनकै पार्टीका पुराना तथा दिग्गज नेताहरूले पार्टी परित्याग गरेर जनता पार्टीको निर्माण गरे र १९७७ को आमनिर्वाचनमा इन्दिरा कांग्रेसलाई पराजित गरेर उनलाई कारागारमा समेत पुर्याए।
इन्दिरा गान्धी पछि २ वर्ष मोरारजी देसाई प्रधानमन्त्री भए भने त्यसपछि चरण सिंह। तर सन् १९८० को आमनिर्वाचनमा कांग्रेसले विजय हासिल गरेपछि इन्दिरा गान्धी पुनः भारतकी प्रधानमन्त्री भइन्।
उनी पछिका प्रधानमन्त्री हुने सम्भावना बोकेका उनका कान्छा छोरा सञ्जय गान्धी र साथी सुभाष सक्सेनाको फ्लाइङ क्लबको हवाइजहाज दुर्घटनामा परी १९८० मा मृत्यु भयो।
पछिल्लो पटक करिव ५ वर्ष प्रधानमन्त्री भएकी इन्दिराले पञ्जावमा भिण्डरावालेलाई नेताको रूपमा उठाइन् र पछि उही भिण्डरावालेले खालिस्तान आन्दोलन शुरु गरेर पञ्जावमा विखण्डनको नारा लाग्न थाल्यो। भारतीय सरकार र सेनालाई यो आन्दोलन मत्थर गर्न निकै हम्मे पर्यो।
तर आखिर अमृतसरको स्वर्ण मन्दिर घेरेर सेनाले आक्रमण गरे पछि भिण्डरावाले र उनका धेरै अनुयायीहरूको मृत्यु भयो। यही कुराको बदलास्वरुप इन्दिरा गान्धीका सिख अंगरक्षकहरूले उनको औपचारिक निवासमा नै गोली हानि उनको हत्या गरे।
यो विभत्स घटना पश्चात् इन्दिरा गान्धीका जेठा छोरा राजीव, जो एक व्यावसायिक विमान चालक थिए, उनलाई पार्टीले नेता बनाएर भारतका छैठौँ र सबैभन्दा कान्छा प्रधानमन्त्रीको रूपमा कुर्सीमा राखिदियो र उनी र उनको पार्टीले १९८४ को आमनिर्वाचनमा ठूलो विजय हासिल गर्यो।
शुरुमा उनको सक्षमतामा नै प्रश्न उठिरहेको बेलामा पछि उनी माथि भारतभित्र मात्र नभइ पुरै विश्वमा आशा लाग्दा नेताका रूपमा चर्चा चलेको थियो। राजिवले विश्वका विभिन्न मुलुकमा काम गरिरहेका विभिन्न क्षेत्रका विज्ञहरूलाई समेत भारतमा बोलाएर सूचना प्रविधि तथा अन्य क्षेत्रको विकास गर्ने काममा लगाए।
श्रीलंकामा जारी तामिल टाइगर्ससँगको युद्धलाई मत्थर पार्न भारतले पठाएको सेनाको कार्वाही असफल भए पश्चात् भारतमा भएको १९८९ को आमनिर्वाचनमा कांग्रेस पार्टीले राष्ट्रिय मोर्चा (नेशनल फ्रन्ट)सँग नराम्रो पराजय भोग्नु पर्यो।
सन् १९९१मा दक्षिण भारतको तामिलनाडुमा आवस्थित श्रीपेरुम्बुदुरमा तामिल टाइगर्सका कार्यकर्ताहरूले फूलको मालामा बम राखेर राजीव गान्धीको हत्या गरे। उनको हत्या पछि विश्वनाथ प्रताप सिँह र त्यसपछि चन्द्रशेखर केही समयको निम्ति भारतका प्रधानमन्त्री भए।
अनि पी.भी. नरसिंह राव प्रधानमन्त्री बने। राजीव गान्धीले निकै जोड दिएको आर्थिक उदारवादलाई मलजल दिने काम रावको कार्यकालमा शुरु भयो तर सन् १९९६ को चुनावमा हार ब्यहोरेपछि भने विजयी पार्टी राष्ट्रिय मोर्चाको तर्फबाट १६ दिनको निम्ति अटल विहारी बाजपेयी र त्यसपछि एच.डी. देवेगौडा भारतका प्रधानमन्त्री भए।
उनी पछि करिव १ वर्षको निम्ति प्रधानमन्त्री भएका इन्दरकुमार गुजराल छिमेकी राष्ट्रहरू बीच एक उदार तथा मित्रवर नेताको रूपमा निकै लोकप्रिय भएका थिए।
उनका उदार नीतिहरू आजसम्म पनि गुजराल डक्ट्रिनको नामले चिनिन्छन्। कवि तथा सहृदयी स्वभावका अटल विहारी वाजपेयी पुनः ६ वर्षको निम्ति प्रधानमन्त्री भए। उनको कार्यकालमा पनि छिमेकी राष्ट्रहरूसँग उनले राम्रै सम्बन्ध राखे।
सन् २००४ को आमनिर्वाचनमा कांग्रेसले विभिन्न दलहरूसँग मिलेर युनाइटेड डेमोक्रेटिक अलायन्सको नाममा चुनाव लडेर जिते पछि भारतमा अहिलेसम्मको अन्तिम कांग्रेस सरकार डा. मनमोहन सिंहको नेतृत्वमा बन्यो।
सोनिया गान्धीलाई खासगरी भाजपाका सांसदहरूले विदेशी भनेर संसदमा विरोध गरेपछि तथा राहुल गान्धी काँचा नै भएकाले मनमोहन सिंहलाई प्रधानमन्त्री बनाइएको थियो। तर उनी भारतका एक विलक्षण र आर्थिक विकासका लागि ज्यादै महत्वपुर्ण प्रधानमन्त्री सावित हुन पुगे।
उनको व्यक्तिगत प्रयास र उनको सरकारको राम्रो कामको कारण नै सो पार्टीले २००९ को चुनावमा पनि विजय हासिल गरेर उनी लगातार दोश्रो पटक पनि प्रधानमन्त्री हुन पुगे।
जवाहरलाल नेहरु र इन्दिरा गान्धी पछि दुई पटक लगातार प्रधानमन्त्री हुने व्यक्ति उनी नै हुन पुगे। हालै सम्पन्न भारतको अठारौँ आमनिर्वाचन पछि त नरेन्द्र मोदी झनै ३ पटक लगातार प्रधानमन्त्री बन्ने व्यक्ति हुन पुगेका छन्।
भारतको हालको प्रगतिको मार्गचित्र कोरेर कार्यान्वयन गर्ने प्रमुख व्यक्ति नै मनमोहन सिंह हुन्। उनी अर्थमन्त्री हुँदा र प्रधानमन्त्री हुँदा नै भारतले आर्थिक विकासमा फड्को मार्न थालेको हो।
वास्तवमा भन्नै पर्दा सन् २०१४ मा आमनिर्वाचन जितेर प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको आजसम्म देखिएको आर्थिक विकासको सफलतामा मनमोहन सिंह र उनको टोलीले गरेको अथक परिश्रमको ठूलो हात छ। त्यतिबेलाको विकासको योजनालाई सफलतापूर्वक निरन्तर रूपले कार्यान्वयन गर्नमा भने मोदीको १० वर्षे कार्यकालको ठूलो भूमिका रहेको छ।
सन् १८८५ मा वृटिश साम्राज्यको विरुद्ध स्थापना भएको पहिलो अभियन्ता पार्टी भारतीय राष्ट्रिय कांग्रेसले खासगरी १९२० मा महात्मा गान्धीको नेतृत्वमा भारतको स्वतन्त्रताको निम्ति आन्दोलन गर्न थालेको हो।
पण्डित जवाहरलाल नेहरुको नेतृत्वमा यो पार्टीले धर्मनिरपेक्ष र समाजवादी दर्शनलाई आत्मशात गरेर अघि बढ्दै गएको हो। नेहरुकै पालादेखि पञ्च वर्षीय विकास योजना र मिश्रित अर्थतन्त्रको अवधारण अघि सारिएको थियो।
भारत स्वतन्त्र भए पश्चात् सम्पन्न १८ वटा आमनिर्वाचनमा भारतीय राष्ट्रिय कङ्ग्रेसले ६ जना प्रधानमन्त्रीहरू मार्फत झण्डै आधा शताब्दिसम्म शासन गरेको थियो। ७ पटक अत्यधिक बहुमतले विजयी भएर शासन गरेको थियो भने ३ पटक गठबन्धनको सरकारको नेतृत्व गरेको थियो।
सन् १९९० देखि भारतीय राष्ट्रिय कांग्रेसको मुख्य प्रतिद्वन्द्वीको रूपमा देखिन थालेको भारतीय जनता पार्टीले सन् २०१४ देखि एक विशाल गठवन्धनको नेतृत्व गर्दै लगातार भारतको शासन आफ्नो बागडोरमा राख्न सफल भएको छ।
वास्तवमा इन्दिरा गान्धीको सन् ६० र ७०को दशकको अति अहंकारी शासनशैलीकै कारण उनैको पार्टीबाट अग्रज नेताहरू छुट्टिएर विभिन्न पार्टी बनेपछि पछिल्लो समयमा भारतीय जनता पार्टी बलियो हुँदै आएको हो।
स्वतन्त्र भारतको इतिहासमा इन्दिरा गान्धी र नरेन्द्र मोदीको शासनकालमा सबैभन्दा बढी राजनैतिक विवाद र अन्यौलका घटना घटेका थिए। तर यसो भन्दैमा यी प्रधानमन्त्रीहरूले मुलुकको निम्ति केही काम नगरेको भन्ने भने बुझ्नु हुँदैन। भारतका सबै प्रधानमन्त्रीहरूले राष्ट्रभक्त, विकास प्रेमी र प्रजातन्त्रका पहरेदारका रूपमा नै आफ्नो दायित्व पूरा गरेका छन्। आआफ्ना शासनशैली फरक फरक ढंगका हुने मात्र हो।
सन् २०१९ मा दोश्रो पटक अत्यधिक बहुमतले चुनाव जितेर सरकार बनाउन सफल भारतीय जनता पार्टी र नेशनल डेमोक्रेटिक अलायन्सले त्यसपछि विस्तारै क्रुर तानाशाहीको प्रदर्शन गर्न थालेको हो। नेइबोर फस्र्ट (छिमेकी पहिला) भन्ने नारा मुखमा भए तापनि सबै छिमेकी माथि पेलाहा नीति अवलम्बन गर्यो भारतले यो अवधिमा।
हिन्दू धर्म र हिन्दू अतिवादीहरूको आडमा अन्य धमावलम्वी तथा समूदायहरू र उनका आस्थाका केन्द्रहरूलाई निमिट्यान्न पार्न र विभाजन ल्याउन खोज्ने तथा साम्प्रदायिक खलबली मच्चाउन खोज्ने, सूचनाका सबै प्रकारका माध्यमहरू जस्तै टेलिभिजन, रेडियो, पत्रपत्रिका र सामाजिक सञ्जाललाई आफ्नो अधिनमा राखेर आफ्नो मात्र गुणगान गाउन लगाउने र अन्य पार्टी र विरोधीहरूको खेदो खन्ने, आर्थिक सूचकांकहरूलाई घुमाई फिराई आफ्नो उपलब्धि देखाउने आदि जस्ता धेरै प्रकारका गलत कार्यहरू पनि यो अवधिमा भए।
प्रजातान्त्रिक मुलुकका जनता भएर पनि भारतीय आम जनताले सरकारको विरोध गर्न डराएको अवधि थियो यो। जर्मनीमा हिटलर र नाजीले गरेका दुष्प्रचार र अत्याचार तथा तानाशाहीको पुरै झल्को दिने काम यो अवधिमा भएको कुरा विभिन्न विद्वानहरूका लेखहरूमा समेत पढ्न पाइएको थियो।
व्यापक मानव अधिकार हनन र विपन्न वर्गले पाइ आएको सुविधा र आरक्षणमा तगारो हाल्नेदेखि सम्विधान नै सम्शोधन गरेर हिन्दूत्वको रक्षा तथा आफ्नै प्रकारको आमूल परिवर्तन गर्ने हुँकार आउन थालेपछि भारतीय जनता निकै त्रसित भएका थिए।
चुनाव जित्न कै निम्ति मुलुकका अग्रज राजनेता देखि विपक्षी नेताहरूलाई तल्लो स्तरका गाली गलौज गर्ने र नचाहिँदा आरोप लगाउने परिपाटीको पनि यही अवधिमा विकास भएको पाइयो।
सरकारको पिट्ठु गोदी मेडियाले निरन्तर रूपमा विपक्षी नेताहरू र छिमेकी राष्ट्रका सरकार प्रमुख र राष्ट्राध्यक्षलाई गाली गरेको देख्दा र सुन्दा ती मेडियाका समाचार माथि भर पर्ने जनसंख्या नै कम हुन पुगेको थियो।
महात्मा गान्धी भन्दा नाथुराम ठीक, नेहरु र गान्धीहरूले मुलुक चौपट पारेका र भाजपाले मात्र मुलुकको हित गरेका कुराले तथा विभिन्न साना तथा क्षेत्रिय दल र समूदाय माथि घृणाका शब्दको वर्षा गरेको कुरा आम भारतीय जनतालाई मन नपरेको कुरा हालको निर्वाचन परिणामले देखायो।
आजको २१औँ शताब्दिमा आदिम युगमा जस्तै कसैको आस्थाको धरोहरलाई भत्काएर रामको मन्दिर बनाई गेरु वस्त्रधारीहरूको भिडमा विश्वभर सिधा प्रसारण गरेर मन्दिरको समुद्घाटन गर्ने तथा राज्य सञ्चालनको कामलाई पन्छाएर हप्तौँसम्म हिन्दू धर्मको रक्षामा नै तल्लीन भएर बस्ने प्रवृत्तिले वास्तवमा राम्रो सन्देश दिएको थिएन।
नरेन्द्र मोदी जस्ता शक्तिशाली प्रधानमन्त्रीले चाहेका भए भारतको आर्थिक विकासमा कायापलट हुन सक्दथ्यो। सन् १९४७ मा भारतवर्षलाई छोडेर जानु पर्ने भएपछि बेलायतले अनेक राजनैतिक दाउपेचको साथ यो मुलुकलाई हिन्दू र मुसलमानको छुट्टै दुई वटा राज्य बनाएर गएको थियो, जुन आज तीन राज्यमा विभक्त छ।
जुन कारणले यसरी मुलुक टुक्राउनु परेको थियो, ती समस्या ज्युँका त्युँ नै छन् आज पनि र भारत र पाकिस्तान एक अर्काका जानी दुष्मन भएर बसेका छन्। यो दुष्मनीको फाइदा पनि बढी मात्रामा विकसित मुलुकहरूले नै उठाएका छन् हतियार बेच्ने स्थायी बजारको रूपमा।
भारत र पाकिस्तान दुवै राष्ट्रको वार्षिक वजेटको ठूलो अंश सेना र सुरक्षामा नै खर्च हुने गरेको छ। आखिर बाहिर नदेखाए पनि पाकिस्तानलाई जस्तै भारतलाई पनि त सैनिक वन्दोवस्तीको भारले नराम्ररी थिचेको रहेछ नी। निकै चर्चामा आएको र बदनामी भएको अग्नीपथ योजना सेनाको भार कम गर्न नै ल्याइएको त रहेछ नि।
आफ्नो ज्यानको बाजी राखेर मुलुकको रक्षा गर्ने अधिकांश फौजीले भर्भराउँदो यौवनमा नै केही वर्षको सेवा पश्चात् उपदानको भरमा अवकाश पाउने तर सांसद र मन्त्रीहरूले पाँच वर्षको सेवा पश्चात् जीवनभर पेन्सन पाउने कुराको पुरै भारतले विरोध गरेको थियो।
सन् १९४७मा विशाल भारत टुक्रिनु र हिन्दू तथा मुसलमानका बेग्ला बेग्लै राज्य खडा हुनाले यो उपमहाद्विपका जनताले विगत ७५ वर्षदेखि निकै कष्ट भोग्न परेको छ।
आज दुई वटा जर्मनी मिलेर पुनः एउटा राष्ट्र बन्न सक्छन् भने मोदी जस्ता शक्तिशाली नेताले आफ्नो मुलुक र पाकिस्तान तथा बंगलादेशका नेता र जनतासँग विशेष आह्वान र भलाकुसारी गरेर शान्ति स्थापना गर्नुका साथै यी मुलुक फेरी एक हुने सूत्रको विजारोपण गर्नु पर्दैनथ्यो र?
आज सुन्दा काँचो र बहुलट्टीपूर्ण कुरा लागे पनि साहस गरेर यस्तो विचार राजनेताहरूले प्रवाह गर्न सकेमा एक न एक दिन यो महान् कार्यले सार्थकता पाउन के बेर र? समय अझै पनि गुज्रिसकेको छैन सबै जात र धर्मावलम्बी अटाउने विशाल भारतको पुर्नएकीकरण हुन्।
आफ्नो पार्टी र गठबन्धन बाहेक अन्य पार्टी र गठबन्धनलाई तुच्छ सावित गर्न सबै प्रकारको हथकण्डा अपनाइएको हालको चुनावमा यदी भाजपाले भने जस्तो अत्यधिक बहुमत आएर निर्वाचन जितेको भए एकछत्र विजयको उन्मादको कारण अबको ५ वर्षमा भारतका भूटान, नेपाल र माल्दिभ्स जस्ता केही छिमेकी र भारतभित्रैका अल्पसंख्यक र अन्य पार्टीका नेता र विद्धत वर्गको सफाया नै हुन बेर लाग्दैनथ्यो भने भारतमा अझै कलह र विचारमा विखण्डनको वातावरण सिर्जना हुन थाल्ने थियो।
तर यसपालीको आमनिर्वाचनमा भाजपाले भने जस्तो अत्यधिक बहुमत त परै जाओस्, उसको सन् २०१९मा प्राप्त सिटलाई पनि बचाउन नसकेकोले विभिन्न साना पार्टीहरूसँग गठबन्धन गरेर बहुमतको सरकार बनाउन वाध्य हुनुपर्यो भने कैयन् महत्वपूर्ण राज्यहरूमा हार व्यहोर्नु पर्यो।
प्रधानमन्त्रीको रूपमा होस् वा मुख्यमन्त्रीको रूपमा होस् आफूले शक्तिशाली शासकको रूपमा काम गरेको अनुभव बटुलेका नरेन्द्र मोदीलाई यसपटक विभिन्न पार्टीसँग गठबन्धन गरेर सरकार बनाउन पर्दा र त्यहाँ पनि माधव नेपाल जस्ता अपठ्यारा र स्वार्थी पार्टनरहरूसँग काम गर्न पर्दा कति असहजता महसुस गर्नु पर्ने हुन्छ होला।
राणाशासन छँदाका श्री ३ महाराज मोहन शमशेर प्रजातन्त्र पश्चात् प्रधानमन्त्री श्री मोहन शमशेर भएर ङिच्च हुनु परे जस्तै अवस्था आएको छ अहिले। तर मोदीजीले यस्तो परिस्थितिमा पनि उचित कूटनीति अपनाएर स्थितिलाई सम्हाल्ने अवस्था अझै छँदैछ।
गोदी मेडियाको शिर झुकेर स्वर मलिन हुँदै गएको त अहिले नै महसुस हुन थालिसकेको छ। शक्ति घट्दै गएपछि आफ्ना भनिएका मानिस र संस्थाहरू पनि टाढिँदै र मुख फेर्दै जान्छन्। चुनाव हारेका र नयाँ सरकारको भागवण्डामा नपरेका आफ्नै दलका नेताहरूका पनि फरक अभिव्यक्ति आउन थाल्छन् यस्तो अवस्थामा।
व्यक्तिगत तवरमा नरेन्द्र मोदीजी आजसम्मका थोरै प्रधानमन्त्री मध्येका आँटिला, स्पष्टवक्ता र प्रगतिशील प्रधानमन्त्री हुन्। तर अबका दिनमा भने उनले आफ्ना पार्टीभित्रका पाखण्डी जमातलाई किनारा लगाउँदै प्रगतिशील, अध्ययनशील, विकास प्रेमी, आधुनिकताका हिमायती, संस्कारी र बुद्धिजिवी जमातलाई साथमा लिएर अघि बढ्नु पर्दछ भने बलियो विपक्षको कदर गर्दै उनिहरूका विचारलाई पनि महत्व दिने परिपाटी बसाल्नु जरुरी छ।
अझ पनि भारतमा गरिवीको रेखा भन्दा मुनि रहेको जनसंख्या विशाल छ। त्यस्तै त्यहाँको विद्यमान सामाजिक कुरितीको अन्त गर्न अझै धेरै काम गर्नुपर्ने आवश्यकता छ। आम जनताको जीवनस्तर कसरी उकास्ने र मुलुकलाई सच्चा हिसाबले कसरी समृद्ध बनाउने भन्ने कुरामा प्रधानमन्त्री मोदी र उनको सरकारले केन्द्रित हुनु जरुरी छ।
नेपालको निम्ति दुवै विशाल छिमेकीहरू भारत र चीनले सफलतापूर्वक आर्थिक विकास गरेको र समृद्ध भएको हेर्न पाउनु गौरवको विषय हो।
झनै हाम्रो धर्म, संस्कृति, रहन सहन र जीवनशैली नै भारतसँग बढी मिल्ने तथा हामी बीच रहेको खुला सिमाना मार्फत दुई मुलुकका जनताको आवत जावत निकै हुने भएकोले हाम्रो निम्ति समृद्ध, सुरक्षित र शुशासनयुक्त भारत देख्न पाउनु ज्यादै महत्वपुर्ण हुन्छ। शुभकामना भारतको नयाँ सरकारलाई।
८ लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment