रक्सीको तालमा मुख्यमन्त्रीका सल्लाहकारको आफ्नै नेतालाई गाली, छोडेपछि सार्वजनिक आत्मालोचना

डिसी नेपाल
२५ जेठ २०८१ १२:४६

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराका प्रमुख राजनीतिक सल्लाहकार निर्मल आचार्यले रक्सीको उन्मादमा आफ्नै नेताहरुलाई गाली गरेर पछि माफी मागेका छन्।

भर्खरै मुख्यमन्त्रीको सल्लाहकार नियुक्त भएका आचार्यले रक्सी सेवन गरेको र त्यसले असैह्य बनाएपछि सामाजिक सञ्जालमा नेताहरु विरुद्ध अशोभनीय टिप्पणी गरेको र त्यसले ठूलो आघात पुगेको भन्दै उनले फेसबुकमार्फत नै माफी मागेका हुन्।

उनले माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिव जनार्दन शर्मालाई रक्सीको उन्मादमा असभ्य एवं अराजक तवरले आलोचना गर्दै सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरेको बताएका छन्।

उनले रक्सीको उन्मादमा असभ्य र अमर्यादित टिप्पणी गरेको सामाजिक सञ्जालमा सहर्स स्वीकारेका छन्। तथापि नेताहरुलाई गाली गरेर लेखिएको उक्त फेसबुक स्टाटस भने उनले हटाइसकेका छन्।

माओवादीको केन्द्रीय सदस्य एवं दाङ इन्चार्ज समेत रहेका मुख्यमन्त्रीको सल्लाहकार आचार्य पार्टीका दिवंगत नेता पोष्टबहादुर बोगटीका छोरी ज्वाइँ हुन्।

केही दिन अघि भएको उनको सल्लाहकारको नियुक्तिको विषयलाई लिएर अहिले माओवादीभित्र तीव्र आलोचना भइरहेको छ।

पार्टीको लुम्बिनी प्रदेश सचिव रहेका कृष्ण अधिकारीलाई नियुक्त गर्ने प्रदेश समितिको सर्वसम्मत निर्णय विपरित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो दवाबमा उनलाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गरिएको हो।

माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको ठाडो दवाबमा लुम्बिीनीका मुख्यमन्त्री महराको सल्लाहकारमा नियुक्त भएका आचार्य आफ्नै ससुराका नाममा स्थापित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानका सञ्चालक समेत हुन्।

प्रदेश समितिको सर्वसम्मत निर्णयलाई लत्याएर प्रचण्डको ठाडो निर्देशनमा आचायलाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गरिएको भन्दै अधिकांश लुम्बिीनी प्रदेशका माओवादी नेताहरु असन्तुष्ट बनेका छन्।

आचार्यले आफूलाई मुख्यमन्त्रीको सल्लाहकार हुनबाट रोक्नका लागि उपाध्यक्ष महरा र उपमहासचिव शर्माले चलखेल गरेको आशंकामा आक्रोशित भएर सामाजिक सञ्जालमा जथाभाबी टिप्पणी गरेको लुम्बिनी प्रदेशका एक माओवादी नेता बताउँछन्।

ती माओवादी नेताका अनुसार महरा र शर्मासँग सल्लाहकार हुनबाट रोक्न लागेको रिस उनले सामाजिक सञ्जालमा पोखेका हुन् । मुख्यमन्त्री महरा, उपाध्यक्ष महरा र शर्मा पार्टीमा इमान्दार छवि बनाएका सचिव अधिकारीलाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने पक्षमा थिए।

अध्यक्ष प्रचण्डले आफूलाई सल्लाहकार नियुक्तिका लागि दिएको दबाव र निर्देशन नमानेर प्रदेश समितिको निर्णय अनुसार अधिकारीलाई नै नियुक्त गर्ने तयारी गरेपछि नेताहरुविरुद्ध अराजक रुपमा उनी खनिएका हुन्। आचार्यले महाराविरुद्ध विषवमन गर्नुको पछाडिको कारण भने अर्कै रहेको लुम्बिनीका अर्का माओवादी नेता बताउँछन्।

ती माओवादी नेताका अनुसार सहजै विजय हुने अवस्थामा महराले सधैं दाङबाट उम्मेदवारी दिएको र पराजित हुने समयमा फेरि रोल्पा पुगेर आफूलाई दाङमा उठाएको रिस आचार्यले पोखेका  हुन्। त्यसैको प्रतिक्रियास्वरुप उनले सामाजिक सञ्जालमा महराविरुद्ध असभ्य र अराजक तवरले लेखेका हुन्।

माओवादी उपाध्यक्ष महराले २०६४ को निर्वाचनमा दाङ २ बाट उम्मेदवारी दिएर विजयी भएका थिए। त्यसपछि २०७० को निर्वाचनमा महरा रोल्पा पुगेर उम्मेदवारी दिएर विजयी भए भने आचार्यले दाङ २ बाट उम्मेदवारी दिएर लज्जास्पद पराजय व्यहोरेका थिए। फेरि  २०७४ मा वाम गठबन्धन हुँदा महरा दाङ २ मै फर्किएर निर्वाचित भएका हुन्।

विगतमा दाङबाट जित्ने अवस्थामा उम्मेदवारी दिन आफूलाई पटक- पटक महराले बञ्देज लगाएर अवसर नपाएको गुनासो आचार्यले गर्दै आएका थिए। त्यसैको तुषस्वरुप उनले महराविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरेको ती नेता बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *