अमेरिकी राष्ट्रपतिका छोरामाथि लागुऔषध र कर छलीको आरोप, बाइडेनले भने – ‘माफ गर्दिन’
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेन बन्दुक मुद्दामा दोषी ठहर भएमा आफूले कहिल्यै माफ नगर्ने बताएका छन् । फ्रान्स भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिले एक टिभी अन्तर्वार्तामा यस्तो बताएका हुन् । बाइडेनका छोरा हन्टरले लागूऔषध सेवन गर्ने, गलत सूचना दिएर बन्दुक किन्ने र नक्कली कर दाखिला गर्ने जस्ता मुद्दाहरू सामना गरिरहेका छन्।
एबीसी न्यूजका पत्रकारले बाइडेनलाई एक विशेष अन्तर्वार्तामा सोधेका थिए – उनी डेलावेयर राज्यमा आफ्नो छोरा विरुद्ध चलिरहेको मुद्दाको फैसला स्वीकार गर्न तयार छन् कि छैनन्? यसमा उनले ‘तयार छु’ भने । जब उनलाई सोधियो – उनले आफ्नो छोरा हन्टरलाई माफ गर्छन् ? त्यसमा उनले आफ्नो छोरा दोषी प्रमाणित भए माफ नगर्ने बताए ।
हन्टर बाइडेनलाई अक्टोबर २०१८ मा कोल्ट कोब्रा ह्यान्डगन खरिद गर्दा जानकारी लुकाएको आरोप लगाइएको छ। त्यसबेला उनी लागुऔषध दुर्व्यसनमा फसेका र नियमित रुपमा लागुऔषध सेवन गर्ने गरेको आरोप छ । अमेरिकी कानून अनुसार लागूपदार्थ सेवन गर्ने व्यक्तिसँग बन्दुक वा कुनै घातक हतियार हुन सक्दैन।
यदि दोषी ठहरिए भने हन्टरलाई बन्दुक खरिद गरेर अमेरिकी कानून तोडेको आरोपमा २५ वर्ष जेल सजाय हुनेछ। यद्यपि हन्टरको अघिल्लो आपराधिक रेकर्ड नभएकाले उनलाई कति सजाय हुन्छ भन्ने स्पष्ट छैन। केही समयअघि जो बाइडेनले एक विज्ञप्तिमा आफू राष्ट्रपति भए पनि पिता पनि भएको र छोरालाई माया गर्ने बताएका थिए । लागुऔषध दुर्व्यसनबाट मुक्त भएर छोराले देखाएको शक्ति निकै प्रेरणादायी रहेको उनले बताए ।
उनले राष्ट्रपतिको हैसियतमा अदालतको मुद्दामा आफूले टिप्पणी नगर्ने तर बाबुको हैसियतमा छोराप्रति असाध्यै माया रहेको बताए । यसअघि मंगलबार डेलावेयर अदालतमा हन्टर बाइडेनले बन्दुक किनेको मुद्दामा कानुनी पक्षले आफ्नो पक्ष प्रस्तुत गरेको थियो। उनले हन्टर बाइडेन लागुऔषध दुव्र्यसनी भएको र बन्दुक किन्न कागजातमा गलत जानकारी दिएको आरोप लगाए ।
Facebook Comment