सत्य कुरा जनता माझ लैजाँदा पद धरापमा पर्छ भने मेरो कुनै दुखेसो छैनः वडाअध्यक्ष शाह
दाङ। गत स्थानीय निर्वाचनमा घोराही उपमहानगरपालिका वडा नं ८मा नेकपा(एमाले)बाट निर्वाचित वडाअध्यक्ष जितेन्द्र शाहले दल परित्याग गरेका छन् । उनले दल परित्यागको घोषणा सार्वजनिक रुपमा गरेपछि एमालेले स्पष्टीकरण सोधेको छ । एमाले दाङ जिल्ला कमिटीले उनलाई स्पष्टीकरण सोधेको हो ।
एमालेबाट निर्वाचित भएका उनले दल त्याग गरेपछि उनको निर्वाचित पद धरापमा परेको आँकलन समेत गरिएको छ। उनै वडाध्यक्ष शाहसँग उनको आगामी राजनीतिक यात्रा, दुई वर्षे कार्यानुभव र८ नंं. वडाका गतिविधिका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंशः
आजभोली तपाइँको व्यस्तता के मा रहको छ ?
जनप्रतिनिधिमा निर्वाचित भईसकेपछि मेरो कार्य व्यस्तता वडावासीको सेवामा रहने गरेको छ । दैनिक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म म वडावासी माझ रहने गरेको छु । वडावासीका हरेक सुख, दुखमा सहभागि हुँदै ८ नं. वडालाई घोराही उपमहानगरपालिकाकै नमूना वडा कसरी बनाउने भन्ने विषयमा वडावासीहरुसँग सल्लाह सुझाव लिइरहेको छु ।
तपाई निर्वाचित भएको दुई वर्ष बितिसक्यो यो दुई वर्षको अवधिमा तपाइँले सम्झनलायक के काम गर्नुभयो र, आगामी दिनमा के काम गर्ने योजनामा हुनुहुन्छ ?
२०७९ सालमा भएको स्थानीय निकायको निर्वाचनमा घोराही उपमहानगरपालिका वडा नं. ८ बाट म निर्वाचित भए लगत्तै वडामा राम्रो काम गर्ने प्रयास गरिरहेको छु । वडावासीहरुको सल्लाह, सुझावलाई शिरोधार्य गर्दै अग्रजहरुको सल्लाह अनुसार वडावासीका लागि निःशुल्क ऐम्बुलेन्स सेवा सञ्चालनमा आएको छ ।
८ नं. वडाभित्र रहेका ४ वटा सामुदायक विद्यालयमा पठनपाठन गर्ने छात्रछात्राहरुका लागि कापी कलम निःशुल्क वितरण गरेको छु । ८ नंं. वडामा रहनु भएका जेष्ठ सदस्यहरु धार्मिक भ्रमणमा जानु भएको छ । स्यानी गाउँबाट बुधौरा जोड्ने एक दशक पुरानो विवादित सडक निर्माण भएको छ ।
८ नं. वडाभित्र रहेका पाँच वर्ष देखि १८ वर्षसम्मका छोरीहरुलाई जनही तीन सयका दरले प्रोत्साहन भत्ता प्रदान गरिएको छ। हालसम्म २ सय २२ जना छोराीहरुलाई सो प्रोत्साहन भत्ता वितरण गरिसकिएको छ, गर्नुपर्ने काम धेरै नै छन्। वडावासीको मन जितेर काम गर्नु नै महान्ता हो जस्तो मलाई लाग्छ।
आगामी दिनहरुमा घोराही उपमहानगरपालिका वडा नं. ८ बेलुवा स्थित दुई विगाह सरकारी जमिनमा ८ नं. वडाले धान खेती गर्ने सोच बनाएको छ। उक्त खेतीबाट प्राप्त हुने धान ८ नं. वडाका विपन्न वर्गलाई निःशुल्क वितरण गर्ने सोचमा म रहेको छु।
त्यसैगरी ढकलपुर स्थित बबई पुल नजिकै रहेको तीन विगाह सरकारी जमिनमा तरभुजा खेती गर्ने सोच पनि मेरो रहेको छ । सो तरभुजा खेतीबाट प्राप्त हुने रकम सामुदायिक विद्यालयमा अध्ययन् गर्ने छात्रछात्राहरुलाई जुत्ता, चप्पल, कापी, किताब, पेन्शिलका लागि खर्च गरिने सोच रहेको छ । जेष्ठ सदस्यहरुका लागि दिवा सेवा भवन निर्माणका साथै सामाजिक सुरक्षा भत्ता पनि वडा कार्यालयबाट वितरण गर्ने तयारीका साथ म लागेको छु ।
घोराही उपमहानगरपालिका वडा नं. ८ का जनताले जनप्रतिनिधिबाट चाहेका कुरा के हुन् ?
घोराही उपमहानगरपालिका वडा नं. ८ का जनताले जनप्रतिनिधिबाट धेरै कुराको अपेक्षा गरेका छन् । विशेषगरी जनताको चाहना विकास हो । ८ नं. वडा भित्र विकास गर्नुपर्ने ठाउँहरु धेरै छन् । वडावासीको सल्लाह सुझाव अनुसार विकासका कार्यक्रमहरु निरन्तर गरिने छन् ।
८ नं. वडावासिको माग र चाहाना वमोजिम हामीहरूले विकास निर्माणका कामहरू गर्ने प्रतिवद्धता समेत गरिसकेका छौं । ८ नं. वडाभित्र सडक, यातायात, गुणस्तरिय शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, सिँचाइ, विद्युत र सञ्चारको समस्या रहेका छन् । यी समस्या चाँडो भन्दा चाँडो समाधान होस् भन्ने वडावासीको चाहनालाई मैले बुझेको छु र मेरै कार्यकालमा वडावासीका यी चाहानालाई पुरा गर्ने प्रतिवद्धता जाहेर गर्दछु ।
८ नं. वडाका मुख्य समस्या के के हुन् ?
८ नं. वडामा अनगिन्ती समस्या छन्। प्रमुख समस्या भनेको खानेपानी र सिँचाइ हो। प्रत्येक वस्तीमा सडक सञ्जाल अझै पुगिसकेको छैन । सिँचाइ विना खेतीयोग्य जमिन गौचरणमा परिणत भएका छन्।
किसानको प्रमख आयस्रोत कृषि हो तर सिँचाइको समस्याले किसानहरू कृषि पेशाबाट विस्थापित हुन गईरहेका छन्, जो दुखद विषय हो । किसानको समस्या चाँडो समाधान हुनुपर्छ भन्ने मेरो बुझाई हो । किसानको समस्यालाई लिएर हामीले सम्बन्धित निकायसँग विभिन्न योजना माग गरिरहेका छौं । हामी आशावादी छौं ।
किसानको समस्या पक्कै पनि समाधान हुन्छ भन्नेमा । यस वडाभित्र रहेका अनेकन समस्या मध्ये शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, खानेपानीको समस्या ज्यूकात्यूँ रहेका छन् । यी सम्पूर्ण समस्याका समाधानका लागि हामी प्रयासरत छौं ।
वडावासीले हामीप्रती गरेको भरोसालाई मूलमन्त्र ठान्दै हामीले काम गरि देखाउने छौं । प्रत्येक गाउँ टोल वस्तीमा हामी जनप्रतिनिधिहरू पुगिरहेका छौं । वडावासीका गुनासो सुनीरहेका छौं । ती गुनासोहरुलाई यथाशिघ्र समाधान गर्ने कुरामा कुनै कसर बाँकी नछोड्ने प्रतिवद्धता जाहेर गर्दछु ।
अहिले खेतीपातीको समय सुरु भएको छ । किसानहरू रासायनीक मल नपाएर छटपटाइरहेका छन् । मल विक्री वितरणका लागि भन्दै खुलेका सहकारीले सहज रूपमा मल किसानलाई दिन सकेका छैनन् । यस्तो जटिल अवस्थामा तपाइँहरूको भूमिका के रहन्छ ?
रासायनीक मलको समस्या अहिले राष्ट्रिय समस्या बनेको छ । मल नपाई किसानहरू छटपटाई रहेको सत्य हो । यस्तो अवस्थामा सरकारले मलको सहज आपुर्ति गर्दै किसानलाई विक्री वितरण गर्नुपर्ने थियो तर सरकारले त्यो गर्न सकिरहेको छैन । सरकार किसानको समस्या भन्दा पनि सत्ता बाँडफाँडमा रमाएको देखिन्छ । जो दुखद छ । अहिले कोटा सिस्टमबाट मल आइरहेको छ।
किसानले चाहेजती मल पाइरहेका छैनन् । सहकारीले पनि किसानलाई मल पुगाउन नसकेको सत्य हो । यस्तो अवस्थामा हामी जनप्रतिनिधिको हैसियतले सहकारी सञ्चालकहरूसँग सहकार्य गर्दै प्रत्येक किसानलाई जे जती रासायनीक मल किसानको भागमा पर्छ त्यती मल दिनुहोस् भन्दै आइरहेका छौं ।
हामीले गर्नुपर्ने काममा कुनै कसर बाँकी छोडेका छैनौं । मल, बिउबिजन र किट्नाशक औषधिको सहज व्यवस्थापनका लागि सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराउँदै आएको व्यहोरा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।
८ नं. वडामा गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभाव तड्कारो रूपमा देखिएको छ । समस्या समाधानमा यहाँको भूमिका के रहन्छ ?
८ नं. वडामा गुणस्तरी शिक्षा र स्वास्थ्यको समस्या तड्कारो रूपमा देखिएको सत्य हो । वडाभित्र चार सामुदायिक विद्यालय रहेका छन् । अहिले हामीले विद्यार्थीले चाहे जस्तो र अभिभावकले खोजे जस्तो गुणस्तरीय शिक्षा दिन सकिरहेका छैनौं तरपनि समस्या समाधानमा हामी निरन्तर लागिरहेका छौं।
वडाभित्र रहेका चार सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै आएका छौं । यसका लागि सम्बन्धित निकायमा पुगिरहेका छौं । प्राथमिक स्वास्थ्य केन्द्रले सेवाग्राहीले चाहे जस्तो सेवा दिन सहिरहेको छैन तरपनि हामीले गुणस्तरीय सेवाका लागि पहल गरिरहेका छौं।
वडावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि विशेषज्ञ सहितको स्वास्थ्य केन्द्र निर्माणको परिकल्पनामा हामी लागेका छौं । संघीय, प्रदेश र स्थानीय सरकारसँग बजेटको माग गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सोंचमा हामी रहेका व्यहोरा अवगत गराउन चाहन्छु ।
घोराही उपमहानगरपालिका भित्र रहेका १९ वटा वडा अध्यक्ष मध्ये ८ नं. वडा अध्यक्ष नै विवादित रहन्छ, किन ?
८ नं. वडा अध्यक्षले विवादित हुने काम कहीँकतै गरेको छैन । जनताको लागि काम गर्छु भनेर निर्वाचित भईसकेपछि जनताकै लागि काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो तर, विडम्बना जनप्रतिनिधि भईसकेपछि जनताप्रति उत्तरदायि हुनुपर्नेमा हाम्रा जनप्रतिनिधिहरु आफ्नो पार्टी प्रति वफादार रहँदा जनताले जनप्रतिनिधिबाट पाउनु पर्ने सेवा पाउन सकेका छैनन् । गलतलाई गलत भन्ने मेरो मान्यता र गलतका विरुद्ध आवाज उठाउँदा मलाई नियोजित रुपमा विवादित बनाइएको हो ।
तपाइँले केहि दिन अघि पत्रकार सम्मेलन मार्फत पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ, यसले तपाईको वडाध्यक्षको पद धरापमा त पर्दैन ?
सत्यताको बाटोमा हिँड्दा आइपर्ने कठिनाईलाई चिर्नु असल मानवको धर्म हो । सत्य र यथार्त कुरा जनता माझ लैजादा मेरो वडाध्यक्षको पद धरापमा पर्छ भने यसमा मेरो कुनै दुखेसो छैन । जनताको माया, विश्वास जितेर नै म जनप्रतिनिधि भएको हुँ । जनताले गरेको विश्वासलाई मैले आत्मसाथ गर्दै सत्य कुरा जनतामाझ ल्याएको सर्वविदितै छ ।
तपाइँ वडाध्यक्ष मात्र नभई सामाजिक अभियान्ताको रुपमा पनि चिनिदै आउँनु भएको छ । विभिन्न क्षेत्रमा आर्थिक सहयोग गरिरहनु भएको छ, यो आर्थिक सहयोगको स्रोत के हो ?
म जनप्रतिनिधि मात्र नभई व्यवसायी पनि हुँ । त्रिपुर प्रा.लि.मेरो व्यवसायिक फर्म हो । त्रिपुर प्रा.लि. बाट सञ्चालित हुने टिप्परबाट हुने आम्दानीको केहि प्रतिशत आर्थिक सहयोगको लागि छुट्याउने गरेको छु ।
तपाइँ वडाध्यक्ष मात्र नभई सामाजिक अभियान्तको रुपमा पनि चिनिनु हुन्छ । समयको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
तँ सोच म पुगाउँछु भन्ने भनाईलाई आत्मसाथ गर्दै समयको व्यवस्थापन गरिरहेको छु । सामाजिक अभियान्ताको रुपमा विशेष गरी शनिबारको दिनलाई छुट्याएको छु । अरु दिनहरुमा अफिस समय अघि र पछि सामाजिक कामको लागि छुट्याएको व्यहोरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।
अध्यक्ष भईसकेपछि वडावासीको चाहाना वमोजिम काम गर्न सहज छ त ?
काम गर्ने सन्दर्भमा सहजता हुँदैन । सहजता आफै बनाउँदै जाने हो । हरेक क्षेत्रमा चूनौती रहेका हुन्छन् । ती चूतौनीलाई चिर्दै अघि बढ्ने हो भने गन्तव्यमा पुगिन्छ भन्ने मैले बुझेको छु।
वडावासीको चाहना वमोजिम विकास निर्माणका काम गर्न सकिन्छ भन्ने मेरो बुझाई हो। जनता जनार्दन हुन त्यसैले जनचाहना अनुसार काम गर्नुपर्छ । सहमति र सहकार्य गर्दै अघि बढ्ने हो भने जस्तो सुकै कठिन काम पनि सहज एवम् सरल तरिकाले सम्पन्न गर्न सकिन्छ भन्ने मेरो बुझाई हो।
जनताको कामलाई प्राथमिकतामा राखी कार्य सम्पन्न गर्नुपर्छ भन्ने सोचका साथ हामी अघि बढेका छौं। मैले निर्वाचनको समयमा वडावासी माझ गरेको प्रतिवद्धता अनुसार वडावासीको चाहाना वमोजिम काम गर्ने प्रतिवद्धता जाहेर गर्दछु । वडावासिले जे–जस्तो सल्लाह सुझाव दिनुहुनेछ, म सोही अनुरुप चल्ने विश्वास दिलाउन चाहन्छु।
तपाईंका शुभेच्छुक तथा वडावासीलाई केही भन्नु छ ?
समग्र वडाको विकासका लागि हातेमालो गर्दै अघि बढौं, सहमती र सहकार्यबाट नै वडाको मुहार फेर्न सकिन्छ भन्ने मान्यताका साथ एकतावद्ध होऔं । सहमति र सहकार्यमा नै वडाको विकास सम्भव छ । त्यसैले वडाको विकासका लागि सम्पूर्ण वडावासि एक ढिक्का होऔं । तपाइँहरूको सल्लाह, सुझावले नै यस वडाको मुहार फेर्न सकिन्छ भन्ने विश्वास मैले लिएको छु ।
Facebook Comment