सुदूरपश्चिममा एमाले र माओवादी सरकारमा जाने तयारीमा

डिसी नेपाल
२८ जेठ २०८१ १२:०७

धनगढी। सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने तयारीमा रहेका छन्।

नेकपा एमाले र माओवादी केन्द्र सरकारमा जाने भएपछि उनीहरुलाइ ३-३ मन्त्रालय दिने तयारी गरिएको छ। सुदुरपश्चिममा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय रहेकोमा अब भागबन्डा पुर्‍याउन मन्त्रालय फुटाएर १० पुर्याउन लागिएको छ।

संविधानमा रहेको प्रदेश सभा सदस्य संख्याको २० प्रतिशतसम्म मन्त्रालय बनाउन पाउने प्रावधानलाई आधार बनाएर १० मन्त्रालय बनाउन लागिएको स्रोतले बताएको छ। सुदूरपश्चिम प्रदेश सभामा ५३ सांसद रहेका छन्।

बैशाख ६ गते मुख्यमन्त्री बनेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले गठबन्धनमा विवाद भएपछि अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन्। केन्द्रको गठबन्धनमा खटपट भएपछि एमाले र माओवादी केन्द्रले तत्काल सरकारमा नजाने अडान लिँदै आएका थिए।

तर एकीकृत समाजवादीले सुदूरपश्चिममा सरकारलाई पूर्णता दिन सहयोग नगरे मधेश प्रदेशमा गठबन्धनमा नआउने अडान लिए पछि एमाले र माओवादी सुदूरपश्चिममा सरकारमा सहभागी हुन तयार भएका हुन्।

स्रोतका अनुसार मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय विभाजन गरेर एमाले माओवादीलाई भागबन्डा पुर्याउने तयारी गरेका छन्।

अहिले सुदूरपश्चिममा मुख्यमन्त्री सोडारीसहित तीन जनाको मन्त्रिपरिषद रहेको छ। जसमा दुई जना नाउपाको रन्जिता पक्षका छन्। अहिले कैलाश चौधरी भौतिक पूर्वाधार मन्त्री छन् भने टीका थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *