काजकिरिया सकेर १३ औं दिनको तयारी भइरहेका बेला मरेका भनिएका छोरा घर फर्किएपछि…

डिसी नेपाल
२९ जेठ २०८१ १२:४०

काठमाडौं । मध्य प्रदेशको श्योपुरमा एउटा अनौठो र अचम्मको घटना बाहिर आएको छ । जिल्लाको एउटा गाउँमा परिवारले अन्तिम संस्कार गरेका युवक तेह्रौँ दिनको तयारी भइरहेका बेला अचानक घर फर्किएका छन् ।

आफ्नो छोरो अगाडि जिउँदै उभिएको देखेर परिवारले भगवानप्रति अपार कृतज्ञता व्यक्त गरेका छन् । तर प्रश्न उठिरहेको छ कि दीनदयाल शर्माको परिवारले अन्तिम संस्कार गरेका युवक को थिए ?

हालै सामाजिक सञ्जालमा दुर्घटनाको तस्बिर सार्वजनिक भएको थियो । जसमा राजस्थानको सवाई माधोपुर नजिकै सुरवलमा भएको दुर्घटनामा एक युवक गम्भीर घाइते भएको भन्दै सहयोगको याचना गरिएको थियो ।

श्योपुर जिल्लाको लाहचौडा गाउँका दीनदयाल शर्माका परिवारले सामाजिक सञ्जालमार्फत उक्त तस्बिर पाएपछि उनीहरुले दुर्घटनामा घाइते भएका युवकलाई आफ्नो छोरा सुरेन्द्र शर्मा ठानेर हतार हतार सवाई माधोपुरबाट जयपुर लगेका थिए ।

परिवार जयपुर पुगेपछि चिकित्सकले सुरेन्द्रको उपचारकै क्रममा मृत्यु भएको बताए । पोस्टमार्टमअघि पहिचानसहित आवश्यक सबै औपचारिकता पूरा गरी अस्पताल व्यवस्थापन र प्रहरीले शव परिवारलाई बुझाएको थियो ।

मृतकको लाहचोडामा मे २८ मा अन्तिम संस्कार पनि गरिएको थियो । यसपछि जब उनको तेह्रौं दिनको तयारी चलिरहेको थियो, सुरेन्द्र घर आए । यो देखेर सारा गाउँ कौतुहलताले भरियो । परिवारका सदस्यहरूको आँखाबाट खुशीको गंगा बग्यो।

लाहचौडा गाउँमा रहेको सुरेन्द्रको घरमा तेह्रौँ दिनको तयारी भइरहेको थियो । सुरेन्द्रको मृत्युले परिवारका सबै सदस्य शोकमा परेका थिए । तेह्रौँ दिनअघि सुरेन्द्रका भाइलाई सुरेन्द्रको फोन आयो । सुरुमा भाइले यसलाई मजाक ठाने र पछि भिडियो कल गर्न भने।

सुरेन्द्रले भिडियो कल गरेपछि परिवारका सदस्यले उनीसँग कुरा गरेर घर फर्कन आग्रह गरेका थिए । यसपछि भोलिपल्टै सुरेन्द्र घर फर्किए र तेह्रौँको सबै तयारी स्थगित भयो ।

राजस्थानको सुरवलमा दुर्घटनामा परी मृत्यु भएका एक युवकको खल्तीमा ‘कुशवाह ढाबा श्योपुर’ नामको खानाको बिल भेटिएको थियो । सोही आधारमा सुरवल प्रहरीले मृतकको सनाखत गर्न श्योपुर पुगेर सामाजिक कार्यकर्ता बिहारीसिंह सोलंकीलगायत केहीलाई फोटो देखाएको थियो ।

उक्त तस्बिर बिहारी सिंह सोलंकीले सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् । दीनदयाल शर्माको परिवारले उनी सुरेन्द्र भएको पहिचान गरेको र उनको शवलाई पनि जयपुरबाट ल्याएर दाहसंस्कार गरिएको थियो ।

आफूले जयपुर सहरको एउटा कपडा कारखानामा सुपरभाइजरको काम गर्ने युवा सुरेन्द्र शर्मा बताउँछन् । गत महिना घरमा बिदा बिताएपछि उनी कामको लागि जयपुर गएका थिए । यही क्रममा उनको मोबाइल बिग्रियो र २ महिनासम्म परिवारसँग सम्पर्क हुन सकेन ।

सुरेन्द्रकी आमा कृष्णादेवी भन्छिन्, ‘हालसालै खबर पाएपछि हाम्रो घरका मानिसहरूले नाम नखुलेको शव सुरेन्द्रकै रूपमा पहिचान गरे । त्यसपछि अन्तिम संस्कार गरियो र सबै अनुष्ठानहरू गरियो। तर हिजो सुरेन्द्रको फोन आउँदा पत्याउनै सकेनौं । भिडियो कल गर्दा सुरेन्द्र देखा परे । हामीले उनलाई घर आउन आग्रह गर्यौं। उनी आइपुगेका छन् । अब हामी सबै धेरै खुसी छौं।

सुरवल प्रहरी चौकीका इन्चार्ज लालबहादुर मीणाले आजतकलाई फोनमा भने, ‘मृतक सुरेन्द्र शर्मा रहेको भनेर पहिचान गरिएपछि शव पोष्टमार्टमपछि परिवारलाई बुझाइएको हो । अहिले सुरेन्द्र जिवितै रहेको खुलासा भएको छ । यस विषयमा परिवारका सदस्यलाई बोलाइएको छ । पुन: जाँच हुने भएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *