मिडिया सञ्चालकको दायित्व र श्रमजीवि पत्रकारको पीडा

बंशीकुमार शर्मा
२९ जेठ २०८१ १२:५३

आमसञ्चार भन्नाले  दुई वा दुई भन्दा बढी व्यक्तिहरुका विचमा सूचना सम्प्रेशन गर्ने माध्यम पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाईन लगायतकालाई बुझिन्छ।

यी माध्यम सञ्चालन गर्नेलाई मिडिया सञ्चालक भनिन्छ। सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो। उन्नत समाजको मूल्यांकनको आधार   सञ्चार माध्यम हो।

मिडिया सञ्चालकले सेवाको भावना लिँदै नाफालाई केन्द्रबिन्दुमा राखेर व्यवसाय सञ्चालन गरेको हुन्छ। पत्रकारले  सही सूचना सम्प्रेशन गरे  वाफत मिडिया सञ्चालकबाट सेवा सुबिधा पाउने गर्दछ। विश्वका हरेक कुनाका व्यक्तिहरु विश्वभरको गतिबिधि र मानिसको बारेमा जान्ने बुझ्न इच्छुक हुन्छन्।

ती सबै काम  आमसञ्चारका माध्यमबाट सम्भव भएको छ। मानिसको  जीवनको पर्याबाचीको रुपमा रहेको आमसञ्चारलाई   मिडिया सञ्चालकले निहीत स्वार्थमा प्रयोग गर्नु हुँदैन। अहिले आमसञ्चारमाध्यमको प्रभाव असीमित छ।

मिडियाको प्रभाव समाजमा प्रत्यक्ष र अप्रत्यक्ष पर्छ तसर्थ सही सूचना सम्प्रेशण गर्नु सबैको कर्तव्य हो। मिडिया सञ्चालक मिडियाकर्मी र पत्रकार सबै समाजका सदस्य हुन्।

सबै मिडियाकर्मी पत्रकार होइनन् तर सबै पत्रकार मिडियाकर्मी हुन्। समाजमा आमसञ्चारको शक्ति अतुलनीय छ। समाज रुपान्तरमा आमसञ्चार सञ्चालन गर्ने सञ्चालकको पनि महत्वपूर्ण भूमिका हुन्छ।

त्यही सञ्चालक माथि प्रश्न उठेपछि समाज दिगभ्रंमित हुनु स्वभाविकै हो। तसर्थ नीति निर्माणको तहमा रहनेले मिडिया सञ्चालक, मिडियाकर्र्मी र पत्रकारले सम्प्रेषण गरेका  अन्तर्वस्तुलाई केलाउनु पर्दछ।

मिडियाले विभिन्न पक्षबीच सेतुको काम गर्ने गर्दछ। विश्वसनीय, जनमुखी, पूर्वाग्रहरहित र उत्तरदायी पत्रकारिताले मात्र मानिसलाई कुनै विषयमा सोच्न प्रेरित गर्न सक्छ भने बिभिन्न पक्ष प्रतिपक्ष बीच सेतुको काम गर्न सक्छ।

मिडियाको कार्यसूची निर्क्याेल गर्ने भूमिका सार्वजनिक कार्यसूची र नीतिगत कार्यसूचीसँग समाहित हुन सकेको खण्डमा मात्र समाज परिवर्तन संभव हुन्छ।समाजले सही सूचना पाउन सक्छ। समाचार प्रकाशनसँग सम्बन्धित जस-अपजस सबै उसको सम्पादकमा निहीत रहन्छ भने उत्तरदायित्व सञ्चारगृह सञ्चालन गर्ने सञ्चालकमा रहन्छ।

राजधानीबाट सञ्चालन भएका ठूला सञ्चार गृह सञ्चालकका बारेमा  पटक पटक समाचार आउने गरेका छन्। उनका गतिबिधी र उनका दिनचर्याको बारेमा  छताछुल्ल समाचार आएका छन्। स्वरोजगार तथा साना लगानीबाट सञ्चालन भएका सञ्चारमाध्यम तथा श्रमजीवि पत्रकारहरुको अवस्था दयनीय देखिएको छ।

सबै सञ्चारमाध्यमहरु तथा श्रमजीवि पत्रकारहरु पनि सोचे जतिकै आर्थिक रुपले बलियो हुन सकेका छैनन्। राज्यले साना लगानी तथा स्वरोजगारका लागि सञ्चालनमा आएका सञ्चारमाध्यमहरुलाई भन्दा ठूला सञ्चार गृहले सम्प्रेशनको  समाचारलाई प्राथमिकतामा राख्ने गरेको छ। यर्थातमा मिडिया ठूला साना हुँदैन उसले प्रस्तुत गर्ने सूचनाको विश्वसनियतामा भर पर्दछ।

स्वरोजगारमूलक सञ्चार माध्यमले पनि राजनीतिक अधिकारसँगै  राष्ट्र, राष्ट्रियता, सार्वभौम अखण्डताको रक्षाका लागि महत्वपूर्ण भूमिका खेलेका हुन र खेल्दै आएका छन्। मिडिया सञ्चालक, मिडियाकर्मी र पत्रकार  यही समाजका सदस्य हुन र यही समाजका उपज हुन्।

उनले समाज राष्ट्रकोलागी सही सूचना संम्प्रशेन गर्नु उनको पनि कर्तब्य हो। ती सूचनालाई राष्ट्रले प्रथामिकतामा राख्नु पर्दछ। अहिले समाजमा पत्रकार र मिडिया सञ्चालकको व्यक्तिगत  चरित्रका कारण पत्रकारहरु बद्नाम भैइरहेका छन्।

समाजले मिडिया सञ्चालकलाई पनि पत्रकारको दर्जा  दिइ दिन्छ र उनले पनि आफू समाजमा पत्रकार भनेर चिनाउने प्रयास गर्छन्। आफूलाई प्रबुद्ध भन्ने ब्यक्तिहरुले त सञ्चारगृह सञ्चालक र पत्रकारहरुको कार्यक्षेत्रलाई छुट्टयाउन सक्दैनन् भने सोझा साझा नेपालीले कसरी छुट्टयाउलान्।

केही सञ्चारकर्मी र सञ्चालकका बदनीयतका कारणले गर्दा अहिले नेपालमा पत्रकारिता जगत बदनाम भैइरहेको छ। समाजले  सवैलाई एउटै नजरले हेर्नु हुँदैनथ्यो तर  हेरिदिन्छ। सञ्चारमाध्यम र श्रमजीवि पत्रकारहरु माथि हुने सांघातिक आक्रमण हुने कारण यही हुन सक्छ।

त्यसको लागि पत्रकारहरु पनि सच्चिनु जरुरी छ। पत्रकारहरुको साझा संगठन पत्रकार महासंघले समाजलाई बुझाउन सकिरहेको छैन। अहिले सञ्चारमाध्यमहरुको संख्यात्मकरुपले बृद्धि भएपनि  गुणात्मक बृद्धि हुन सकेन।

त्यसकारण राज्यले नेपाली सञ्चारमाध्यमहरुले हालसम्म पुर्‍याएको योगदानको मूल्यांकन गरी श्रमजीवि पत्रकार र नेपाली सञ्चारमाध्यमको वर्तमान अवस्थाका बारेमा बुझ्न जरुरी छ।

सञ्चारमाध्यमहरुले प्रकाशन गरेका सामाग्रीहरुको आधारमा बर्गीकरण गरी समानुपातिक दरले विज्ञापन वितरण गर्दै आर्थिक पाटोमा बलियो बनाउनुु पर्दछ। त्यसका लागि ठोस योजनाहरु अघि सार्नु राज्यको मुख्य कदम हुनेछ।

यसैगरी राजनीतिक दलहरुले सञ्चारमाध्यमहरुलाई आफ्नो मुखपत्रको रुपमा प्रयोग गर्ने प्रयास गर्दछन्। केही सञ्चालक र सञ्चारकर्मीहरु प्रयोगमा आइदिन्छन जसको कारण समाचार पूर्वाग्रही हुन सक्छ।

यो प्रबृतिका कारण नेपाली सञ्चारमाध्यम सोचेअनुरुप फड्को मार्न नसकिरहेको अवस्था छ।त्यस्तै पत्रकारितामा एउटा युवा पंक्तिहरुको ठूलो आकर्षण छ। यो लहरलाई सही तरिकाले व्यवस्थापन गर्न पनि उक्तिकै अहिले आवश्यक्ता देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *