राष्ट्रपति जेलेन्स्कीको कार्यकाल पूरा भइसक्दा पनि चुनाव हुन नसकेपछि युक्रेनको भविष्य संकटमा

डिसी नेपाल
३० जेठ २०८१ १६:०२

काठमाडौं । भोलोडिमिर जेलेन्स्कीले युक्रेनको राष्ट्रपतिको रूपमा पाँच वर्ष पूरा गरेका छन्। दुई वर्षभन्दा बढी समयको युद्धपछि पनि रुससँग शान्ति सम्झौता हुने सम्भावना छैन । हास्य कलाकारबाट राजनीतिज्ञ बनेका जेलेन्स्कीले मे २०, २०१९ मा देशको संसदमा सपथ लिएका थिए ।

झन्डै ७३ प्रतिशत मतले विजयी भएपछि जेलेन्स्कीले भनेका थिए – हामी सबै राष्ट्रपति हौं । यो भाषण धेरै मन पराइएको थियो । पाँच वर्षपछि उनको औपचारिक कार्यकाल सकियो । यति हुँदाहुँदै पनि उनी राष्ट्रपति नै छन् ।

देशको प्रतिपक्ष चुनाव चाहन्छ किनभने लडाइँ कति लामो समयसम्म चलिरहन्छ भन्ने निश्चित छैन । यस्तो अवस्थामा द्वन्द्वको माहोलमा देशको भविष्य अनिश्चिततामा डुबेको देखिन्छ । रूसले २४ फेब्रुअरी, २०२२ मा ठूलो आक्रमण सुरु गरेदेखि जेलेन्स्की अन्तर्राष्ट्रिय मञ्चमा एक प्रसिद्ध व्यक्ति बनेका छन् जसले युद्धमा आफ्नो देशको रक्षा गर्न समर्थन र थप हतियारहरूको लागि आह्वान गरेका छन् ।

रोयटर्ससँग कुरा गर्दै उनले मार्शल लका कारण आफू पदमा बस्नुपर्ने बताए । उनले आफैंले यो मार्शल ल लागू गरेका हुन् । यो कानून नबनाएको भए युक्रेनमा मार्च २०२४ मा चुनाव हुने थियो र नयाँ राष्ट्रपतिले मे २० मा सपथ लिनुपर्ने थियो। मार्शल ल ऐन एक कानून हो जुन युद्ध वा गम्भीर परिस्थितिहरूमा लागू गरिन्छ, जब देशमा गम्भीर अस्थिरता वा अन्य देशहरूको कारणले खतरा हुन्छ। मार्शल लमा राष्ट्रपति, संसदीय वा स्थानीय निर्वाचन हुन सक्दैन ।

यसमा अलिकति विरोधाभास देखिन्छ । दफा १०३ अनुसार देशको राष्ट्रपति पाँच वर्षका लागि निर्वाचित हुने व्यवस्था छ । धारा १०८ मा नयाँ उम्मेदवार नियुक्त नभएसम्म राष्ट्रपति सत्तामा रहन्छ भनी लेखिएको छ। कीभमा राष्ट्रपतिको बारेमा अन्योल छ। यसबारे स्पष्ट हुनको लागि कीभ इन्टरनेशनल इन्स्टिच्युट अफ सोसियोलोजीले एक सर्वेक्षण गरेको थियो।

यस अनुसार युक्रेनी जनताको ६९ प्रतिशतले मार्शल लको अन्त्य नभएसम्म जेलेन्स्की राष्ट्रपति रहुन् भन्ने चाहन्छन् भने १५ प्रतिशतले नयाँ निर्वाचन चाहन्छन् । वर्तमान संसद्को सभामुखलाई राष्ट्रपति बनाउन चाहने १० प्रतिशत जनता छन् । लगभग ५३ प्रतिशत जनता जेलेन्स्कीलाई दोस्रो कार्यकालका लागि राष्ट्रपति बनाउन चाहन्छन्, तर यो प्रतिशत दिन प्रतिदिन घट्दै गइरहेको छ।

वर्तमान राष्ट्रपतिसँग असन्तुष्ट जनताले नयाँ राष्ट्रपति चयन नगरे युद्ध चर्किने बताएका छन् । जेलेन्स्कीले युक्रेनले रुसको कब्जामा रहेको सबै भूभाग फिर्ता नगरेसम्म लडाइँ जारी रहने कुरामा जोड दिएका थिए। यसको मतलब जबसम्म लडाइँ रहन्छ, मार्सल ल कायम रहन्छ र पदमा नयाँ अनुहार आउने सम्भावना निकै कम हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *