श्रीलंकाका राष्ट्रपति र सार्क महासचिवबीच भेटवार्ता
काठमाडौं। परिचयात्मक परामर्श भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव गुलाम सरवारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेसँग बुधबार कोलम्बोमा शिष्टाचार भेट गरेका छन्।
त्यस अवसरमा महासचिव सरवारले स्थापनाकालदेखि नै सार्क प्रक्रियालाई श्रीलंकाबाट निरन्तर सहयोग भएकामा त्यसको सराहना गर्दै संगठनलाई थप सुदृढ बनाउन श्रीलंकाबाट सहयोग र मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरेकाे सार्क सचिवालयले जनाएको छ।
महासचिवले श्रीलंकाका राष्ट्रपतिलाई सार्कका वर्तमान गतिविधि र यसका चुनौतीहरूबारे अवगत गराउँदै सार्क प्रक्रियालाई पुनः सशक्त बनाउन श्रीलंकाको सहयोगको अपेक्षा गरेका छन्।
सार्क अध्यक्ष नेपालसँगको परामर्शमा शिखर सम्मेलनलगायत अन्य उच्चस्तरीय बैठक यथाशीघ्र हुनेमा आफू विश्वस्त रहेको महासचिवले बताए।
सार्क क्षेत्रका जनताको आशा र आकांक्षालाई मूर्तरूप दिनुपर्नेमा जोड दिँदै राष्ट्रपति विक्रमासिंघेले सार्क प्रक्रियालाई पुनरुत्थानका निम्ति थप कदम चाल्न आवश्यक भएको बताएका थिए।
उनले कोलम्बोमा सार्क सांस्कृतिक केन्द्र स्थापनाका लागि स्थायी स्थान उपलव्ध गराउन सहमति जनाएको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
राष्ट्रपति विक्रमासिंघेले सार्कप्रति श्रीलंकाको प्रतिबद्धता दोहोर्याउँदै सार्क क्षेत्रमा दिगो र एकीकृत विकास हासिल गर्न तथा सङ्गठनका लक्ष्य पूरा गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका थिए।
Facebook Comment