६० किलो सुन तस्करी : दोस्रो चरणको अनुसन्धानमा १० जना हिरासतमा

डिसी नेपाल
३१ जेठ २०८१ १०:४५

काठमाडौं। तस्करी गरी ल्याएको ६० किलो ७ सय ग्राम सुनको दोस्रो चरणको अनुसन्धानमा प्रहरीले १० जनालाई थुनामा राखेको छ।

हङकङबाट तस्करी गरी ल्याएको सुन काठमाडौंमा बरामद भएपछि पहिलो चरणको अनुसन्धान सकाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरा(सिआइबी)ले दोस्रो चरणको अनुसन्धानमा १० जनालाई पक्राउ गरेको हो।

दोस्रो चरणको अनुसन्धानको क्रममा पछिल्लो पटक काभ्रेको तेमाल गाउँपालिका-४ घर भएका ४५ वर्षीय कान्छामान लामा ‘थर्कमान’ सहित १० जनालाई पक्राउ गरेको भएपनि अनुसन्धानमा खुलेका थप विवरणबारे प्रहरीले केही बताएको छैन।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-११ घर भएका ५२ वर्षीय सुरेन्द्रमान श्रेष्ठ, भारत घर भएर ललितपुर बस्ने २२ वर्षीय प्रशान्त गणेश बजवलकर, भारत महाराष्ट्र घर भएर न्यूरोड बस्ने सिद्धनाथ अशोक गायकवाड ‘सिद्धार्थ’ र भारत घर भएर न्यूरोड बस्ने धिरज निदेश बैटे ‘दिनेश’ छन्।

त्यसैगरी धादिङको सिद्धलेक गाउँपालिका घर भएका प्रेमनाथ सेडाईं, भक्तपुर सुर्यविनायक घर भएका राजु खत्री, काभ्रे तेमाल-४ का ४५ वर्षीय कान्छा लामा, तिब्बत घर भएर बौद्ध बस्ने गंगा टासी र उदयपुरको त्रियुगा घर भएकी उषा खत्री निरौला पनि छन्।

गोरखा बारपाक सुलिकोट गाउँपालिका-५ घर भएका १८ वर्षीय सायरी विकलाई पनि सीआईबीले पक्राउ गरेको छ। तस्करीमा संलग्नहरूलाई करिब १ महिनादेखि थुनामा राखेर अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न रहेका एक अधिकृतले बताए।

संगठित अपराध भएका कारण उनीहरुलाई त्यही अनुसार अनुसन्धान भैरहेको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए। ‘सुन तस्करीमा दोस्रो चरणमो अनुसन्धान शुरु भएको छ, तस्करीमा संलग्न रहेका, सहयोगी भएका केही व्यक्तिहरु पक्राउ परेका छन् उनीहरुलाई बयान लिने खुलेका केही तथ्यहरुलाई प्रमाणिकरण गर्ने काम हुँदैछ’, एसपी बोगटीले भने।

आरोपीहरुविरुद्ध प्रहरीले भन्सार चोरी पैठारी तथा संगठित अपराध मुद्दा चलाएको छ। पहिलो चरणमा चिनियाँ नागरिकहरू याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङ सहित २६ जना पक्राउ परेका थिए। टीयान मि र वेन तोङ ठमेल स्थित केटीबी रेस्टुरेन्टका सञ्चालक हुन्।

पहिलो चरणमा पक्राउ परेका तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङसँग र बेल्जियन नागरिक दावा छिरिङ सहितका अभियुक्तहरू पुर्पक्षका लागी थुनामा छन्। दावा छिरिङकी श्रीमती अमला रोका मगर अहिले पनि फरार रहेकी छिन्।

उनलाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको भएपनि शक्ति केन्द्रको दबाबमा छाडिएको समाचार बाहिर आएको थियो। सुन तस्करी जाँचबुझ आयोगको सिफारिसको आधारमा सीआईबीले ६० केजी र भेप प्रकरणमा पनि दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।

पहिलो चरणको अनुसन्धान सिध्याएको सिआइबीले सुन तस्करीमा संलग्न २९ जनाविरुद्ध अनुसन्धानका क्रममा बरामद भएको स्कुटरको ‘ब्रेक सु’ मार्फत पटक पटक भएको सुन तस्करीका आधारमा अरोपितविरुद्ध तीन अर्ब ५० करोड दुई लाख रुपैयाँ तथा स्कुटरको ‘ब्रेक सु’ को भन्सारसमेत गरी थप २८ लाख ७५ हजार रुपैयाँ गरी कुल बिगो तीन अर्ब ५० करोड ३० लाख रुपैयाँ माग दाबी गरेको थियो।

अनुसन्धानको क्रममा सिआइबीले बरामद भएको सुनबाहेक त्यही समूह र कम्पनीबाट आयात गरी सुन निकालेको अवस्थामा खाली ‘ब्रेक सु’ बरामद गरेको थियो। त्यतिबेला सिआइबीले प्रतिवादीविरुद्ध ३६२ किलो ७७८ ग्राम सुन तस्करी गरेको आधारमा मुद्दा दायर गरेको थियो।

प्रतिवादीलाई अवैध सुन चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अन्तर्गतको कसुरका साथै एक साथ यी अपराध गरेकाले एकीकृत कसुरतर्फ थप सजाय माग दाबी गरेको थियो।

हङकङबाट नेपाल आएको क्याथे प्यासेफिकको विमानबाट ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते विमानस्थलको ट्याक्सी पार्किङ क्षेत्रबाट बरामद गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *