हमास र इजरायलबीच मध्यस्थता गर्न एन्टोनी ब्लिन्केन कतार पुगे
काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कतार पुगेका छन् । गाजामा युद्धविराम र बन्धकहरूको रिहाइको नयाँ प्रस्तावलाई सफल बनाउन उनी कतार पुगेका हुन् ।
योसँगै अमेरिकाले अमेरिका समर्थित युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रियाको मूल्याङ्कन गरिरहेको बताएको छ । हमासले मंगलबार राति यस प्रस्तावको जवाफ दिएको थियो।
हमासले यस प्रस्तावमा आफ्नो प्रतिक्रिया सकारात्मक रहेको र इजरायलसँग सम्झौतामा पुग्ने बाटो खुला गरेको बताएको छ ।
तर यो प्रस्तावमा अझै अन्योल छ । किनभने प्यालेस्टिनी समूह र इजरायलले यो प्रस्ताव सार्वजनिक रूपमा स्वीकार गरेका छैनन्।
इजरायली सरकारले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। तर एक इजरायली अधिकारीले भनेअनुसार हमासको प्रतिक्रिया प्रस्ताव अस्वीकार गर्नु बराबर थियो।
अमेरिका र इजिप्टसँगै कतारले पनि हमास र इजरायलबीच मध्यस्थता गर्दै आएको छ । गाजामा विगत आठ महिनादेखि जारी युद्धमा ठूलो संख्यामा मानिस मारिएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार गाजाका अधिकांश जनसंख्या भोकमरीको जोखिममा छन्।
हमासले अक्टोबर ७ मा उत्तरी इजरायलमा आक्रमण गरेपछि इजरायलले गाजामा हमासलाई ध्वस्त पार्ने उद्देश्यले सैन्य कारबाही सुरु गरेको थियो, जुन अझै जारी छ।
यो युद्ध अन्त्य गर्न कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा दुई पक्षबीच पटकपटक वार्ता भइसकेको छ ।
Facebook Comment