कथाः यो पनि घर हो ?

खेमराज पोखरेल
१ असार २०८१ ७:१२

मैले आफ्नो चारतले घरको चारैमुखबाट फोटो खिचेँ। हामी सबै परिवारले कम्प्युटरमा हेर्यौँ। जुम गरेरै हेर्‍याैं।

मेरो मुटु पनि जुम भएछ र ऊ जुममै मसँग कराउँदै थियोः “वाइह्यात भइस् तँ, मलाई पनि खाने भइस्। तँ पनि जाने भइस्”

तर पनि घरका अरु रमाउँदै थिए। आहा ! घर त क्या खासा बनेछ। काठमाडौँमा चारतले नभइ त घाम नै नदेखिने।

परिवार जम्मा म, मेरी बुढी र हाम्री एउटी छोरी। जम्मा जम्मी तीन।

अहिले म घर बनाउने बेलाको रगडा सम्झँदै छु।

छोरीले भनेकी थिइन्ः “बाबा, मलाई ‘सेपरेट रुम विथ अट्याच्ड बाथरुम एन्ड बरन्डा। आइ डोन्ट वान्ट टु सेयर एनिथिङ्”

श्रीमतीको मिठो सल्लाह थियोः “हजुर फेरि फेरि बनाइरहने कुरो होइन यो घर। बेलैमा बुद्धि पुर्‍याउनु पर्छ। अहिले चित्त सानो पार्न हुन्न। एउटा ठूलो बैठक दस बीस साथीभाइ अटाउन सक्ने।

एउटा सानो बैठक, यसो गोप्य कुरा गर्नु पर्‍याे भने चाहिन्छ। किचेन राम्रो र ठूलो चाहिन्छ। ठूलो पूजा कोठा पनि जरुरी हुन्छ, रुद्री पूजा कोठाभित्रै गर्न पुग्ने। मान्छेका घरमा भर्‍याङको टाउकामा उभिन पनि नहुने चेपलाई पूजा कोठा बनाएका हुन्छन्। त्यस्तो कोर्काली पारा गर्न हुन्न। अनि गेस्ट रुम पनि राम्रो बनाउनु पर्छ। रेस्ट रुम अट्याच्ड हुनै पर्छ”

घर बन्दै गर्दा साथीभाइ आए। दाजुभाइ आए। ससुराली आए। छिमेकी आए। आफन्त आए। कोही इन्जिनियर आए। वकिल आए। जग्गा व्यापारी आए। घर खरिदबिक्रिकर्ता आए। शुभकामना दिन आए।

आफूले जानेको थपेरै गए। बढाएरै गए। मेरो शुभेच्छुक मेरै मुटु आयो र मलाई मात्र सुटुक्क भन्योः “वाइह्यात मान्छे, घर बनाएँ भन्दोहोस्। यो त जेल हो। कङ्क्रिटको जेल। जंगल भएको भए त स्वतन्त्र हुन्थिस्”

तर अरुले भनेको जँचिहाल्ने बानी छ मेरी श्रीमतीको। खालि मैले भनेको मात्रै जँच्दैन। उनले एउटा कुरा मानेकै हो मेरो। भागेर आऊ भने। तुरुन्त आइन्। भन्न त मैले ख्यालख्याल नै भनेको थिएँ त्यतिबेला।

अरुको घरको साजसज्जा टिपिहाल्ने जिज्ञाशु स्वभाव छ छोरीको। मलाई पनि एउटा पढ्ने कोठा चाहिएकै थियो। पढ्न त कोठा नभएकै समयमा पढियो। जति पढियो कोठैबिना पढियो। गाई हेर्दाहेर्दै पढियो। भैँसी हेर्दाहेर्दै पढियो। लोकसेवा पनि सुत्ने खाटमै पुस्तक राखेर पढियो र पास गरियो। सिरान नै पुस्तकको दराज थियो। पढियो। पढे पनि पढियो। नपढे पनि पढिएन।

अब पढ्ने त होइन। देखाउनु थियो। सायद एउटा कुन्ठा थियो ‘स्टडी रुम’ को। स्टडीबिनाको स्टडी रुमको। अचेल पनि मान्छे भन्छन् नि स्टडी रुमले पढ्ने भए सबै सेक्सन अफिसर हुन्थे। जे भएपनि सबैका सल्लाह थपेर बनाउँदा बनाउँदा घर भीमकाय त भयो। तर सुन्दर भयो।

केही दिनसम्म त घरमा भोज भयो। कहिले श्रीमतीका, कहिले आफ्ना, कहिले छोरीका साथीभाइ आफन्त। श्रीमती भन्थिन्ः “एकपल्ट घर त मान्छेलाई देखाउनै पर्छ। सधैँ हामी मात्र कति भाडामा ए”।

हामी सायद कुन्ठामा थियौँ सबै परिवार। भाडा बस्दा बस्दाको कुन्ठा। कुरा सुन्दा सुन्दाको कुन्ठा। कुन्ठै कुन्ठा। आखिर कुन्ठा पनि त रोग नै त रहेछ। कसैले केही भनोस् वा नभनोस्। कल्प्यो। मनभित्र गढायो। पाल्यो। झोक्रायो। उफ कुन्ठा।

मेरी श्रीमती राणकालीन जर्नेलकी पुरेतकी जनातिनी अरे। उनका जिजुबाजेका पिताले कुश विर्ता पाएका रे। कुश जस्तै सुकेर कहाँ पुग्यो कुन्नि त्यो कुशविर्ता। तर पनि उनी घरिघरि विर्तावालकी सन्तान भन्न कसर बाँकी राख्दिनथिन्। सँगसँगै आउँथ्यो मधेस, मधेसे र म।

अँ त घरवास दह्रो सम्पन्न भयो। उनले, कतिसम्म भने, पहिले आपूm भाडामा बसेका घरबेटी सम्मलाई बोलाउन पछि परेकी थिइनन्। मान्छे आएपछि सबैलाई कोठा चोटा पुर्याउाथिन् र भन्थिन्ः “यो चानचुने टायल होइन हजुर, कजरियाको हो। यो यस्तो, यो ढिस्कानाको, यो सक्कली, यो अब्बल कोटीको। यो सोझै दिल्लीबाट मगाएको”
कति त उनी साँच्चै भन्थिन्। कति त गफ पनि दिन्थिन्।

म उनलाई भन्थेँः “होइन सानू, भएकै मात्र भने हुँदैन ? गफ दिनु पर्छ ?”

अनि उनी मलाई भन्थिन्ः “हजुर पो तराइ कि मधेसको। हजुरलाई के थाहा ? यहाँ काठमाडौँमा त सही सलामत बाँच्न गफ पनि दिनु पर्छ। नत्र त काठमाडौँले खाइदिन्छ”
म चुप लाग्थेँ। किनकि मलाई थाहा थियो कि यो मैले जित्ने विषय होइन।

उनले दिदी बहिनी, आफन्त बोलाउँदै घर देखाउँदै गरिन्। आउने मान्छेले घरको तारिफ गरे। उनको तारिफ गरे। अलिकति त मेरै पनि तारिफ गरे। जति तारिफ गर्थे मलाई लाग्थ्यो म वेवकुफ छु, अनि तारिफ गर्छन।

तर मेरी श्रीमती मैलाई भन्थिन्ः “देखिस्यो, मेरो चलनचाँजोको कस्तो तारिफ गर्छन् मान्छे। एउटा हजुर हो कहिल्यै मेरो तारिफ गर्ने होइन। घोसे। हजुरलाई मधेसबाट आएर काठमाडौँमा यस्तो घर बनाएकोमा कुन्ठा छ कि क्या हो ?”

म हाँसेको थिएँ। उनैले थपिन्ः “म हजुरसँग भागेर आउँदा हजुरसँग के थियो र ? डल्लुमा एउटा सानो कोठा भाडाको र हजुरको सेक्सन अफिसरको जागिर न हो ?”

०००००

मेरी श्रीमतीको रवाफिलो बानी बेहोरा देखेर मेरो साथी रवीन्द्रे आइरहन्छ। सायद उसलाई लाग्दो हो मेरी श्रीमती काइदाकी फरासिली छे। धन्य छु म। उसकी श्रीमती सायद कर्कसा हुँदी हो। प्वाक्कै बोल्दी हो। जे देख्यो त्यही बोल्दी हो। रुद्रघन्टी छैन होला। ऊ मेरी श्रीमती देखेर मजा मान्छ होला बेबकुफ।

रवीन्द्रे मेरो घर चारदिन आएन। मलाई आनन्द लागेको थियो। मनमनै भन्थेँः “साले, गधा सहरको कुरै बुझ्दैन। अहिले बुझ्यो कि ?”

चारदिनपछि टुप्लुक्क आइपुग्यो मोरो रवीन्द्रे। मेरी श्रीमतीले देख्ने बित्तिकै भनिन्ः “ओ हो रवीन्द्र बाबु, कता बेपत्ता ? यत्रो दिनसम्म ?, न खोज न खवर, एउटा फोन त हुन्छ नि। यहाँ तपाईँको साथी तपाईँलाई नभेट्दा फत्र्याक फत्र्याक”

मोरो रवीन्द्रे मुसुमुसु हाँस्छ र भन्छः “योसँग त अन्त पनि भेट हुन्छ, भाउजूले पकाएको चियाको स्वाद अन्त कहाँ ?, हजुरको हातको लेमन टी त अन्त पाउन दुर्लभ छ”

तर मलाई एउटा कुरामा पक्कापक्की विश्वास छ कि मोरो रवीन्दे्र सल्किने मान्छे होइन। पल्किने पनि होइन। चिया खानै आइरहने लोभी पनि होइन। मलाई विश्वास छ। नत्र त मलाई कस्तो आपद पथ्र्याे होला।

रवीन्दे्रलाई चोकमा पुर्याएर घर आएको थिएँ। मेरी श्रीमतीले मलाई भनिन्ः “परै पुर्याउनु भो तपाईँको साथीलाई ?”
मैले छोटो उत्तर दिएँथेँः “हो, पुर्‍याएँ”

उनले आज त प्रस्टै भनिन्ः “तपाईको त्यो साथी कस्तो सोमत नभएको ? त्यस्का घरमा चिया पाक्दैन ? त्यसकी बुढीले चिया पकाउन जान्दिन ?, जहिले पनि चिया खाजा खाने बेला भो टुप्लुक्क। एकदिन होइन, दुईदिन होइन। म त दिक्क भै सकेँ”

मैले उनलाई भनेथेँः “अनि ऊ आयो भने चाहिँ तिमी नै चेब्रे पार्छौ किन ? हुँदो न खाँदो चिप्लित्त तिमी नै पार्छौ। अनि ऊ के थाहा पाओस् त बिचरा तिम्रा पाल्सी कुरा ?”

उनी त झन झर्किन थालिन्ः “यी मधिसेहरु, पढेका भन्न पनि पर्दो रहेनछ। अर्काको घरमा नबोलाई टुप्लुक्क जान हुन्न भन्ने थाहा छैन त्यत्रो अधिकृत भएको मान्छेलाई ?”

मधिसे भनेर उनले मलाईसमेत होच्याउन पाउँथिन्। अब जबजब रवीन्दे्र मेरो घर आउन खोज्थ्यो, म उसलाई भन्थेँः “आज नजाने यार, तेरी भाउजूलाई सन्चो छैन”

फेरि अर्को दिन अर्को अर्को बहाना बनाउँथे ताकि ऊ मेरो घर नआओस्। एकदिन उसले मेरो घर आउन निकै बल गर्यो। मैले उसलाई भनेँः “आज तेरी भाउजू माइत गएकी छिन् बस्तै”

उसले पत्याएको थियो। हामी सबै कुरा सक्कली मात्र गथ्र्यौ। त्यसैदिन म श्रीमतीलाई लिएर मखन गल्ली गएको थिएँ। गधा रवीन्द्रे टुप्लुक्क भेट भयो। ऊ भेट हुने बित्तिकै मेरी श्रीमतीले भनिहालिन्ः “के हो रवीन्द्र बाबु ? हामीसँग रिसाउनु भयो कि क्या हो ? आउनै छोड्नु भयो”

रवीन्द्रले भनिहाल्योः “भाउजू आजै आउन खोज्याथेँ। यही सालेले भाउजू माइत गएकी छन् बस्तै भनेर भन्यो। यो साले पनि ढाँट्दो रहेछ”

उनको जवाफ थियोः “तपाईँको साथी त यस्तै हो। घोसे बानी। फरासिलो हुन त जानेकै छैन”

हेर्दा हेर्दै म ढाँट भएँ। घोसे भएँ। मधिसे भएँ। बेसोमति भएँ।

र मजस्तो घोसेले पनि श्रीमतीको फरासिलो कुरो रवीन्दे्रलाई सुनाउनु पर्यो। बुझाउनु पर्यो। फेरि कहिले पनि रवीन्द्र मेरो घर आएन। उसले पनि सहर बुझ्यो। उसले त बिहे उतै तराईमै गरेको हो नि।

ऊ आएन। त्यसै त काठमाडौँ। कसलाई फुर्सद ?।

०००००

चारतले घरको छतमा बसेर सोचिरहेको छु। यत्रो बडेम्माको घर छ। तल्लो तलामा भाडामा बस्ने मान्छे पनि कति शान्त हुन कुन्नि केही चालचोल सुनिन्न। आफ्नै घरमा पनि छोरी आफ्नै कोठामा छे। कोठा परिपूर्ण छ। केवल खाना खान किचेनमा जाने चलन छ। नत्र कोठामा प्याक। कम्प्युटरमा प्याक। मोबाइलमा प्याक।
श्रीमती घरको छतमै आइपुगिन।

उनले भनिन्ः “एक्लै, धुम्मधाम्म, के गर्नु भएको ?”

मैले उत्तर दिएँः “घर छ नि”

मलाई टेन्सन भइरहेको थियो। मैले सानूलाई भन्नु नै थियो। नभनेमा म फेरि सेकेन्ड हुन्थेँ। हुनत उनको जवाफको शब्द नै मलाई थाहा थियो। तै पनि सोधेँः “सानू, मामाको नातिले एस.एल.सी.मा गाउँकै स्कुलबाट नै भए पनि डिस्टिङ्सन् ल्याएछ।

काठमाडौँकै राम्रो बोर्डिङ् कलेजमा पढाउने भन्नुहुन्थ्यो। दुई वर्ष राखिदिनु न भान्जा भन्नु भएको थियो। आखिर खर्च पानी हाम्रो लाग्दैन क्यारे। घर पनि ड्वाङ्ड्वाङ्ती खाली नै छ”

उनले मेरो कल्पनाझैँ उत्तर दिएकी थिइन्ः “भो भो बाबै म सक्दिनँ। बल्ल बल्ल बनाएको घर धर्मशाला हुन दिन्नँ। होस्टल खुलेका छन्। म आफ्नी छोरीको ता टेन्सन् खप्न सक्दिनँ भने अरुको”

म मामालाई यति बेला सम्झिरहेको छु। म आइ.ए. पढ्न सहरमा अर्काको घरमा बसेको बेला मामा कहिलेकाहिँ आउनु हुन्थ्यो। केही रुपियाँ दिनु हुन्थ्यो र भन्नु हुन्थ्योः

“भान्जा हाम्रा आफन्तमा यति धेरै पढ्ने तिमी पहिला हौ। खलकमा एकजना मात्र पनि सप्य्रो भने आड भरोस् हुन्छ अरुलाई। बाटो लाग्न मद्दत हुन्छ। दह्रो रुख हुनु ताकि आफन्त लहराहरु बेरिन सकून। मेहनत गर्नु। पछि ठूलो मान्छे भएपछि यो मामालाई नबिर्सनु नि”

म सम्झिएर तुरुक्क रोएको छु। तर यो आँशुको के मूल्य ? खोई मेरो घर कहाँ छ ?

०००००

केटाकेटी हुँदा खहरे खोलाको चिसो बालुवाभित्र खुट्टा हालेर बनाएको लस्करै घरहरु सम्झन्छु। श्यामेका। रामेका। जेठीका। सुन्तलीका। हरियाका। मङगलाका। र मेरा।

सबै घरहरु एकनासका। एक रुपका। समान। हामी त्यही घरमा बिहे खेल्थ्यौँ। म बेहुला हुन्थेँ। सुन्तली बेहुली हुन्थी। श्यामे, रामे, जेठी, हरिया, मङ्गला कोही जन्ती हुन्थे कोही घर गाउँले। सबैले केही न केही पकाउँथे।

चिउँडो मुन्तिर लगेर खाएजस्तो गथ्र्यौँ। तर सबै समान थियौँ। उच्छवास् थियो। रमाइलो थियो। भोलि आउँदा खोलाको बाढीले बगाइ सक्थ्यो ती घरहरु। हामी फेरि बनाउथ्यौँ। चिसो बालुवाले खुट्टा छोप्थ्यौँ। थिच्थ्यौँ। र विस्तारे खुट्टो निकाल्थ्यौँ। घर तयार। न ऋण थियो। न मुटु चोइटिन्थ्यो।

लाग्दथ्यो जीवन यसै बित्ने छ। यसै उच्छवासमै बित्ने छ। जङ्गल आफ्नो थियो। लाग्दथ्यो। यो आफ्नो राज्य हो। भुसुनादेखि सिंह सम्म रमाएका थिए। हाम्रो राज्यमा।
तर अहिले नेपाल राज्यको राजधानी सहर काठमाडौँमा ढुङ्गा माटोको घर बनाएको छु।

सिमेन्ट। फलाम हाँसेका छन् मेरो घरमा। घरकै छतमा बसेर आकास हेरेर हिजोको जङ्गल सम्झेको छु। रमाउन खोजेको छु। तर अनायाश मेरो मोबाइलको घन्टी बजेको छ। सुन्दर कोकिल महिला स्वर छ। भाषा एकदम सभ्य छ। सुललीत छ। सुरम्य छ। त्यो स्वरले भन्दैछः “हजुर, कृष्ण सर होइसिन्छ ?”

“हजुर हुँ”

“हजुर आरामै होइसिन्छ नि”

“हजुर म आरामै छु”

“म बैँकबाट सबिना हजुर। सबिना रायमाझी। हजुरको हाउसलोनको किस्ता तिर्ने म्याद नाघे छ हजुर, हाकिम सा’बले भनेर सम्झाएकी हजुर”
“हस्, हस्” भन्दै मैले फोन काटेँ।

मेरो मुटुबाट एउटा टुक्रा खत्रक्क मलखानीतिर खस्यो। तुरतुरे लाग्यो। दिसा बसूँ बसूँ लाग्यो।

मलाई मेरो मुटु भन्दै थियोः “ए वाइह्यात मान्छे, मेरो एउटा टुक्रा खस्यो। तँलाई ख्याल छ ?”

म एकतमासको भएँछु। मेरी श्रीमती मेरै नजिक आइन्। आकाशतिर हेरेर भनिन्ः

“हेरिस्योस् त हजुर, यो हाम्रो घरबाट कुम्भकर्ण हिमाल छ्याङ्ङै देखिन्छ”

मैले भनेँ छुः “यो पनि घर हो र सानू ?”

उनले तुरुन्त उत्तर फर्काइन्ः “हुन त हो नि, सेठ दयारामका पाँचवटा पाँचतले घर छन्, हाम्रो त उसका हेरी जाबो”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *