मदिराको तालमा टिभीमा अन्तरवार्ता दिने सांसदको प्रस्ताव- संसद भवनमा मदिरा बार खोलौं

काठमाडौं। नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संसद बैठकमा निर्माणाधीन संसद भवनमा मदिरा पिउनका लागि मदिरा बार खोल्न प्रस्ताव गरेका छन्।
सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवनभित्र रक्सी पिउनका लागि बार खोल्नुपर्ने प्रस्ताव बजगाईंले आज(शुक्रबार) को संसद बैठकमा राख्दै सभामुखलाई ध्यान आकृष्ट गरेको बताएका छन्।
‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस र सिनेटको अफिस घुम्न जाँदा सिनेटमा आतिथ्यता गर्न जाने पाहुनाका लागि बार बनाइँदो रहेछ । डेमोक्रेट, रिपब्लिकन्सले आफ्नो बारमा सोसियलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स गर्न पाइन्छ । लन्डन स्कूल अफ इकोनोमिक्सको क्यान्टिनमा पनि बार रहेछ,’ सांसद् बजगाईंले शुक्रबारको संसद बैठकमा भने, ‘सम्माननीय सभामुख महोदय, बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा सोसियलाइजेसन गर्न बार निर्माण गर्ने हो कि ? यसमा ध्यानाकृष्ट गर्न चाहन्छु । यो पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण छ।’
यस अघि रक्सीको मातमै टेलिभिजन अन्तर्वार्ता दिएर विवादमा तानिएका गोरखा १ बाट निर्वाचित सांसद बजगाईं अनेकौ उपद्रोपूर्ण अभिव्यक्ति दिएर विवादमा आइरहन्छन्।
पत्रकार ऋषि धमलाको टेलिभिजन कार्यक्रममा रक्सीको तालमै अन्तरवार्ता दिन पु्गेका उनले उल्टो क्याप लगाएर अन्तरवार्ता दिएका थिए। उनले रक्सी पिएको थाहा पाएपछि पत्रकार धमलाले कार्यक्रम नै छोट्याएर चाँडो सकाएको बताएका थिए।
उक्त घटना बाहिरिएर चौतर्फी आलोचना पछि सांसद बजगाईंले विदेशमा रक्सी पिएर अन्तरवार्ता दिने चलन रहेको भन्दै आफ्नो बचाउमा उत्रिएका थिए। विदेशमा यस्तो अभ्यास रहेको बताउँदै सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गरेका थिए।
सदनमा समेत बारम्बार विवादित अभिव्यक्ति सांसद बजगाईंले दिँदै आएका छन्। उनले केही दिन अघि विश्वकीीर्तमानी नेपाली आरोही निर्मल पुर्जालाई नेपाल प्रवेशमा रोक लगाउनुपर्ने अभिव्यक्ति दिएका थिए।
उनको सो अभिव्यक्ति चौतर्फी आलोचित भएको थियो। अहिले फेरि सिंहदरबारमा निर्माणाधीन संसद भवनमा मदिरा पिउन बार खोल्नुपर्ने प्रस्ताव गरेर अर्को विवाददित अभिव्यक्ति प्रकट गरेका छन्।
सांसदको पदीय मर्यादा विपरित रक्सीलाई प्रोत्साहित गर्ने उनको अभिव्यक्तलाई लिएर पदीय मर्यादा कायम गर्न नसकेको भन्दै उनकै दलका नेताहरुले समेत आलोचना गरिरहेका छन्।
Facebook Comment