इमान्दारिताका साथ काम गर्न प्रहरी संगठनलाई गृहमन्त्रीको आग्रह
काठमाडाैं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले कानुनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमान्दारीताका साथ काम गर्न प्रहरी संगठनलाई आग्रह गरेका छन्।
पतञ्जलि योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा बुधबार काठमाडौंमा आयोजित एक दिवसीय योग विज्ञान शिविरका बोल्दै लामिछानेले संगठनको प्रत्येक व्यक्तिको निर्णय महत्वपूर्ण हुने भन्दै कानुनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारीसाथ काम गरेमा समाज परिवर्तन हुने बताए।
गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने बताए। त्यसका लागि लागि शरीरिक र मानसिक हर हिसाबले चुस्त दुरूस्त हुन जरूरी रहेको उनले बताए। उनले आफूमाथि आएका गाली गलौजहरुलाई सहज ढंगले लिने गर्दा आफूलाई त्यसकै कारण तनाव नभएको जनाए।
लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम् व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिबद्धताको आवश्यकता रहेको जिकिर गरे।
त्यस्तै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सचेतना अभिवृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको जनाए। निश्चित आसन, विधि र पद्धतिको अवलम्बनद्वारा गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोंचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्न मद्दत पुग्ने उनले बताए।
त्यस्तै पतञ्जलि योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक पूर्व प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रविक्रम महतले योग शिक्षाको महत्वका साथै व्यवहारिक रुपमा लागू गर्न सके कार्यक्षमतामा बृद्धि हुने बताए। सुखी, स्वस्थ र सदाचारयुक्त जीवनको मावनबाट मात्रै विकासको सम्भव भएको भन्दै यसका लागि योग निकै महत्वपूर्ण रहेको उल्लेख गरे।
कार्यक्रममा पतञ्जलियोग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी वरिष्ठ योग गुरू लभदेव मिश्रले योगाभ्यास गराउनुभएको थियो । त्यस्तै कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो।
Facebook Comment