पाटन हत्या घटना : थप एकजना पक्राउ

डिसी नेपाल
५ असार २०८१ १४:०६

बैतडी। बैतडीको पाटन नगरपालिका-६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले आज थप एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाटन-६ का २६ वर्षीय आशिष पहरी रहेका छन्।

प्रहरी टोलीले भागिरहेको अवस्थामा पाटन-५ कुवापानी जंगलबाट पहरीलाई पक्राउ गरेको प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिए। मृतक विरभानका आफन्तले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। उनीहरु सबै पक्राउ परेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

पहरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि पाटन–६ की ३६ वर्षीया भागरथी विष्ट, पाटन–१ का राजेन्द्र भट्टराई र किशोर भट्टराई तथा पाटन–६ कै भरतमोहन विष्टलाई पक्राउ गरिसकेको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यही असार १ गते शनिबारदेखि बेपत्ता विरभान विष्टको शव सोमबार दिउँसो पाटन-६ घाङल खोलामा फेला परेको थियो। भागरथीले विष्टको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरिसकेकी छिन् ।

काठको चिरपटले हानेर विरभानको हत्या गरेको उनले प्रहरी समक्ष बयान दिएकी छिन्। भागरथी स्थानीय सहस्त्रलिंग आधारभूत विद्यालयकी शिक्षिका हुन् भने मृतक विष्ट ट्रक चालक हुन् । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *