सञ्चार मन्त्रालयको बजेटमाथि संसदमा उठेका प्रश्नको मन्त्रीद्वारा जवाफ (पूर्णपाठ)

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुशासन र विद्युतीय शासन प्रवर्द्धन एवम् सदाचारको परिपालनामा प्रतिबद्ध रहेको बताएकी छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सञ्चार मन्त्रालयमाथि विनियोजित बजेटका सन्दर्भमा आएका जिज्ञासाको जवाफ दिदै मन्त्री शर्माले सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका मन्त्रालयसम्बद्ध विषयहरूको कार्यान्वयन र तोकिएका सूचकहरूको लक्ष्य प्राप्तिको लागि एकीकृत कार्ययोजना तयार कार्यान्वयनमा ल्याउने समेत बताइन्।
उनले प्रेस काउन्सिल नेपालको पुनर्संरचना गर्ने गरी मिडिया काउन्सिल विधयेक र सार्वजनिक सेवा प्रसारण विधेयक सम्मानित संसदमा छलफलको क्रममा रहेको र राष्ट्रिय आम सञ्चार विधेयक तर्जुमाको अन्तिम चरणमा रहेको जानकारी दिइन्। त्यस्तै सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्दै लैजान विधेयक तर्जुमाको अन्तिम चरणमा रहेको उनले बताइन्। मन्त्री शर्माले नेपाललाई सूचना प्रविधिको हबको रूपमा विकास गर्ने र आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाउन आगामी आ.व.लाई प्रारम्भ वर्षको रूपमा लिई आवश्यक तयारी थालनी गर्ने जिकिर गरिन्।
सुचना प्रविधि क्षेत्रमा आगामी दश वर्षमा ३० खर्बको निर्यात र १० लाखको रोजगारी सिर्जना हुनेमा विश्वस्त रहेको उनले बताइन्। उनले सार्वजनिक सेवा प्रवाहलाई छिटो, सरल, सहज र पारदर्शी बनाई प्रभावकारी सेवा प्रवाहको लागि एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा सबै संघीय मन्त्रालय र लुम्बिनी प्रदेशका सबै मन्त्रालयहरू आबद्ध भएको उल्लेख गरिन्।
साइबर आक्रमणको पहिचान, रोकथाम र प्रतिकार्य गर्दै उत्थानशील साइबर स्पेश तयार गर्ने उद्देश्यका साथ राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना गरिएको उनले बताइन्। त्यस्तै उनले साइबर सुरक्षा सम्बन्धी विधेयक तर्जुमा भैरहेको जानकारी दिइन्।
Facebook Comment