संस्मरण : अयोध्या यात्रा
सनातनीहरुको पवित्र धार्मिक तीर्थस्थ अयोध्याधाममा राम मन्दिर बनेपछि दर्शन गर्ने तीव्र इच्छालाई भगवान रामका कृपाले २०८० चैत्रमा प्राप्त भयो। पहिलो पटक २०७० साल चैत्र महिनामा घर परिवारसहितले दर्शन गर्ने औवसर मिलेको थियो। दश वर्षपछि चैत्र महिनामा नै अयोध्याधाम जाने साइत जुरेको रहेछ।
पहिला देखेको अयोध्याधममा राममन्दिर बनेपछि पलाएको कुतहलता मेटन मन्दिर उदघाटनमा जाने इच्छा थियो, तर त्यस बेला समय जुर्न सकेन। त्यही इच्छालाई पूरा गर्न केही दिन पर्खर्नु पर्यो।
चैत्र महिनामा समय जुरेको रहेछ। चैत्र १७ गते तुलसीपुरवाट हायस गाडी चढेर म र मेरी श्रीमती रेखा गौतम अयोध्याधाम दर्शनको लागि नेपालगञ्ज गयौं। त्यस दिन साँझ नेपालगंज बाकेगाँउ अवस्थित रेखाको कान्छा मामा घरमा बसौं।
पहिलै कै सल्लाहअनुसार रेखाका कान्छा मामा धनेश्वर आचार्य, माइजू बिनिता आचर्य र हामी दुईजना गरि चार जना भोलिपल्ट १८ गते बिहानै नित्यकर्म सिध्याएर अटो चढेर भारतको रुपडिया तीर यात्रा आरम्भ गर्यौं। राम मन्दिर दर्शन गर्न तिव्र अभिलाषाले होला नेपाल भारतको सिमाना नखुल्दै सवैरै नाकामा पुगिसकेका रहेछाै।
एक घण्टाको सिमाना नाकाको बसाइमा अयोध्याधाम कै कुरा गर्दै बित्यो। नाका खुलेपछि आ-आफ्ना झोला झिम्टी बोकेर नेपाल र भारतको सिमाना जमुना नाकामा चेकजाँच गराएर पैदल रुपडिया पुग्यो। त्यहाँको बसपार्क हामी नपुग्दै पहिले नै अयोध्या हुँदै वनारस जाने गाडी छुटिसकेको रहेछ।
बसपार्कका कर्मचारीलाई अयोध्या जाने विकल्प के छ भनि सोध्दा उनीको सल्लाह अनुसार बहिराइच जाने त्यहाँबाट प्रशस्तमात्रामा अयोध्या जाने गाडी पाइन्छ भने। त्यही अनुसार हामी चार जना बहिराइचको गाडीमा चढौं। चैत्र महिनाको गर्मीमा असिनपसिन भएका हामीलाई त्यस एसी गाडीले धेरै राहत पुर्यायो।
अयोध्याधाममा राम मन्दिर उद्घाटन भएको धेरै समय भएको थिएन। त्यही कारणले होला जताततै राम अंकित झण्डा फहराएका थिए भने गाडीमा पनि राम कै भजन गुञ्जीएको थियो। जब बस भारतको भूभागमा गुड्न लागे मैले बाहिरतर्फ ध्यान दिन थालें।
भारतको भूभागका वजार क्षेत्र, शहरी क्षेत्र हेर्दै गयौंं। ठूला ठूला खेतका फाँटमा गहुँवाली झुलिरहेका थिए। भारत कृषिप्रधान देश र कृषिमा अगाडी नै हो भन्ने गहुँवाली देखेर विश्वास लाग्यो। गाडीको झ्यालबाट गहुँका वालाहरु झुलेका लटरम तरकारीहरु फलेका उर्वर भूमीलाई नियाल्दै भजन सुन्दै बिहानको नौ बजेतीर बहिराइच पुग्यौं।
बहिराइचमा चिया खाँदा खाँदै अयोध्याको लागि गाडी आइपुग्यो। चिया खाँदासम्म पर्खिदिने हाम्रो अनुरोधलाई गाडी स्टाफले स्विकार गरे। त्यहाँ पनि अचाकली गर्मी थियो। जब गाडी हुँइकियो शितल महशुस गर्दै अयोध्याधामका कुरा गर्दै गुण्डा, बस्तीपुर हुँदै दिँउसो एक बजेतिर सरयुनदिको किनारमा अबस्थित अयोध्याधामको बसपार्कमा पुग्यौं। बसपार्कमा नै दर्शनार्थीको मानव सागर देखियो।
ठूला ठूला गेट बनाएर अयोध्याधाम दुलही जस्तै सिंगारिएको रहेछ। हामीहरुले एक आपसमा छुटिऔंला कि भन्ने डर एक अर्काको हात समाउँदै मानव सागरमा मिसिऔंं। हामीले पहिला कोठा खोज्ने र झोलाझाम्टा राखेर मात्र भगवानको दर्शन गर्न जाने निधो गर्यौं।
त्यही अनुसार ट्याम्पो चढेर धर्मशाला खोज्न हिड्यौं। हामी सवै भन्दा राम्रोसँग हिन्दी बोल्न सक्ने भएकोले हाम्रो यात्राको प्रमुखमा बिनिता आचार्यलाई चुनेका थियौ। उहाँलाई अघि लगाएर धेरै धर्मशालाहरुमा कोठा खोज्न पुग्यौं। सवै धर्मशालाहरु अग्रीम बुक भैइसकेका रहेछन्।
एकाएक मानव सागर ओर्लिए पछि धर्मशालामा कोठा पाउन कठिन रहेछ। रेखालाई एक ठाउमा झोला हेर्न जिम्मा लगाई हामी तीन जनाले कोठा खोज्दै जाँदा स्वर्गद्वार भन्ने गल्लीमा एउटा गेस्ट हाउस रहेछ।
त्यही गेस्ट हाउसको दोश्रो तलाको दुई नम्वर कोठा एसी, एटेज बाथरुम भएको चार जना बस्न मिल्ने मूल्य तीन हजार पाँच सयको रहेछ। त्यही कोठालाई बुक गरि रेखालाई ल्याउन गयौं। एक घण्टा जति फ्रेस भएर दर्शन गर्न राममन्दिर तीर लाग्यौं।
हामी बसैकै लजदेखि करिब दुईदेखि तीन किलोमिटरको बाटोमा नै सूर्य नदीलगायत हनुमानगढ़ी, कनक भवन, दशरथ महल र अहिलेको विशाल राम मन्दिरको दर्शन गर्न मिल्ने रहेछ। यसै बाटोमा अयोध्याको कोसेली, प्रसाद आदि किनमेल गर्न सकिन्छ। हामी पनि दर्शनार्थीहरुको लस्करसँगै मिसिऔं।
उच्च सुरक्षाबीच ठूलो क्षेत्रमा रहेको अहिलेको चर्चित रामललाको राम मन्दिर परिसरमा प्रवेश गर्दा मनमा छुट्टै आनन्द आउने रहेछ। मोबाइल, घडीलगायत धातु, फूल-प्रसाद केही पनि लिएर जान नपाउने यस मन्दिर प्रवेश गर्दा निःशुल्क लकरको व्यवस्था गरिएको छ।
हजारौंको संख्यामा रहेको लकरमा सामान राख्दा बहुमुल्य सामानहरु देखाएर उल्लेख गरेर राखिने रहेछ। दुई पटक सुरक्षा जाँचपछि विशाल भवनमा प्रवेश पाइन्छ। चार लाइनमा प्रवेश गरिने मन्दिरभित्र कतै बस्न, उभिन पर्दैन र लाइन बिस्तारै बिस्तारै अगाडी बढिरहेको हुन्छ।
न फूल-प्रसाद चढाउनुपर्ने, नछोएर ढोग्नुपर्ने, ३-४ फिट दूरीबाट दर्शन मात्र गर्न पाइने भएकाले खासै समय लागेन। बृद्धबृद्धा र अशक्तलाई सजिलैसँग दर्शन गर्ने ब्यबस्था मिलाएको रहेछ। बाहिर निस्केपछि बाहिरबार भब्य मन्दिरलाई अवलोकन गर्याैं।
लकरबाट मोवाइल पर्स सरसामान बुझे पछि चारैतिर हेर्दै फोटा खिचाउँदै भजन सुन्दै त्यस रामलला मन्दिरवाट नजिकै रहेको संकट मोचन भगवान हुनुमानको दर्शनकालागि हनुमानगढी गयौं। अयोध्या शहरको उच्चो ठाउँमा हनुमानको भव्य मन्दिर रहेछ।
हनुमानले रामजन्भूमि र रामकोटको रक्षा गर्दथे भन्ने मान्यता रहेछ। भगवान रामचन्द्रका दूत संकटमोचन भगवान हनुमानको दर्शन पूजा आजा गर्यौं। अग्लो स्थनमा सिँढी चढेर जानु पर्ने तिर्थालुको भिडले गर्दा उभिए पनि आफैं मन्दिर पुग्न सकिँदो रहेछ।
हनुमानगढीदेखि सरयुगंगा धेरै टाढा रहेनछ। तर हामी थाकेकोले टेम्पोमा चढेर सरयुगगा तटमा हुने सन्ध्या आरती दर्शन गर्न जाने निधो गर्यौं। रात्रिको समयमा झलमल देखिने शहर त्यसैमा गंगा आरतीको दृष्य देख्दा त्यो क्षणको वर्णन गर्न पनि सकिन्न। सरयुगंगाको कै नजिकै ठूलो बिणा पनि रहेछ।
गंगातटमा सन्त, महन्त, सन्यासी, भक्तालुहरु सवै गंगा आरती हेर्न जाँदा रहेछन्। त्यस क्षेत्रमा पुगेपछि मनमा शान्ति आन्नदको महशुस हुँदो रहेछ। त्यो मनोरम्म दृष्यलाई जति हेरे पनि हेरी रहौं जस्तो लाग्ने तर समयले नेटो काटन लागेको र दिनभरको थकानले गर्दा नौ बजेतिर होटलमा गयौं।
लजमा खाना खाने ब्यबस्था नभएकोले हामीले बाहिरै खाना खाएर लजमा गयौं। सरयुगंगा घाटमा श्रद्धा तर्पन गर्नाले पितृ मोक्ष हुने मान्यता छ भने हाम्रो पिताजी पढ्ने शिलसिलामा धेरै वर्ष अयोध्यामा बस्नु भएको उहाँले भनिरहनुहुन्थ्यो। त्यसैले भोलिपल्ट बिहान १८ गते सरयुगंगाको रामघाटमा श्राद्ध तर्पण गर्न गयौं। पवित्र नदीका रुपमा पुजिने यो नदी पछि गंगामा मिसिन्छ।
श्राद्धलाई चाहिने सवै सरसामान रेखाले घरबाट लगेकी थिइन् त्यसैले फूल र गाईको दुधमात्र किन्नु प¥यो। पुरोहितलाई पन्डा भन्दा रहेछन्। ।एउटा पण्डालाई वोलाएर दुवैले श्रद्धातर्पण गर्यौं। सरयु गंगामा स्टिमर ढुगांहरु चल्दो रहेछ।
हामीले पनि ढुगांमा चढेर पिण्ड पुष्प सेलाउने र त्यहाँ भएका सवै घाटहरुको दर्शन गर्न पाइने बिचारले स्टिमर चढेर जलयात्रा गर्यौं। सधैं स्थल यात्रा गरेका हाम्रो लागि जलयात्रा रोमाञ्चित यात्रा हो। एक घण्टा समय बितेको पतै भएन नाउले समय पूरा भयो भनेर घाटमा ल्याइदियो।
जल यात्रा एक घण्टाको एक जनाको दुई सय लग्दो रहेछ। जलयात्रा पछि सरयुगंगाको नजिकै रहेको नागेश्वर नाथ मन्दिरको दशैन पूजा अर्चना गर्यौं मन्दिरको गेटमा जलधारको लागि दुध पाइँदो रहेछ।
नागेश्वरनाथ मन्दिरलाई भगवान रामका पुत्र कुशले वनाएका हुन् भन्ने जनविश्वास रहेछ। शिवरात्रि पर्वमा यहाँ धुमधुमसँग मेला लाग्दो रहेछ। त्यही नजिकै प्रसाद पाइँदो रहेछ। महिलाले घरमा ल्याउने चुरा टुकिली प्रसाद किनमेल गरे भने मैले डमरु किने।
धार्मिक तथा ऐतिहासिक शहर अयोध्या सरयुनदीको किनारमा अवस्थित प्राचीन सूर्यवंशी राजाहरुको राजधानी थियो। अयोध्या समस्त हिन्दुमात्रको लागि नभई सम्पूर्ण सनातनी ૐकार परिवारको उच्चतम आस्थाको केन्द्र रही आएको छ।
सरयु हिन्दूहरुको लागि पवित्रतम नदी हो। अयोध्याका आठ नाम छन् हिरण्य, चिन्मया, जया, अयोध्या, नन्दिनी, सत्या, राजिता र अपराजिता। यो पवित्र प्राचीन सप्तपुरी मध्ये पर्दछ।
सनातनीको पवित्रधामलाई मुगल बादशाह बाबरको पालामा सन् १५२७ तिर अयोध्यास्थित रामजन्मभूमी मन्दिर तोडफोड गरी मस्जिद निर्माण गरिदियो। स्थानीय श्रद्धालुले संरक्षणको कोशिश त गरे, तर रामजन्मभूमिमा मस्जिद ठडियो।
अयोध्याको नाभीमास्थित रामजन्मभूमिमा मस्जिद खडा हुँदा समस्त हिन्दुमा अत्यन्त निराशा फैलियो। यो भौतिक संरचना त तयार भयो, तर जनतामा आस्थाको धरोहर ढलेन। हिन्दु धर्मावलम्वी विसम परिस्थितिमा झन्-झन् रामभक्त हुँदै गए। रामजन्मभूमि र बावरी मस्जिदका वीचमा विवाद अनवरत रुपमा चली रह्यो।
अंग्रेजको शासनकाल देखि नै विभिन्न मुद्दा पर्दै रहे। तर टुंगो लागेन। हिन्दूहरु कुनै पनि हालतमा बावरी मस्जिदको ठाउँमा राम मन्दिरको पुर्नस्थापनाको लागि अभियान चलाउँदै गए। अदालतले मुद्दाको किनारा लगाउन सकेन।
यस्तैमा आजभन्दा ३१ वर्ष अघि सन् १९९२ डिसेम्बर ६ तारिखका दिन हिन्दू युवाहरुको ठूलो जमातले बावरी मस्जिद तोडिदियो। त्यस भूमिको लागि अदालतमा मुद्दा पर्यो अन्तत त्यौ रामभूमि नै हो भन्ने अदालते फैसला गरिदिए पछि अहिले बिशाल रामलला भवन बनेको छ।
सन २०२० नोभेम्बर ९ तारिकका दिन सुप्रिम कोर्टले विवादित क्षेत्रको विषयमा राम जन्मभूमि मन्दिरको पक्षमा फैसला दिएको थियो । त्यसको केही महिनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अगस्त २०२० मा मन्दिरको शिलान्यास गरेका थिए ।
प्राचीन नागर शैलीमा बनेको राममन्दिर ७० एकडमा फैलिएको छ। मुख्य मन्दिर ५७ हजार ४ सय वर्गफिट क्षेत्रमा बनेको छ । यसको लम्बाइ ३ सय ८० फिट र चौडाइ २ सय ५० फिट छ । मन्दिरको शिखर १ सय ६१ फिट उचाइँको छ । मन्दिरमा ३ सय ९२ वटा पिलर छन् ।
४४ वटा ढोकाहरू छन्। पिलर र ढोकाहरूमा विभिन्न भगवान्का मूर्तिहरू कुँदिएका छन्।। सन् २०२४ जनवरी १७ देखि २२ तारिख सम्म वैदिक रीति रिवाज अनुसार विशेष पूजा गरि।
सन् २०२४ जनवरी २२ तारिकका दिन भारतीय प्रधानमन्त्री मोदीले बिधिवत प्राण प्रतिष्ठा गर्नु भएको थियो। प्राण प्रतिष्ठा समारोहमा नेपालाबाट उल्लेखनीय भक्तजन गएका थिए। सन् २०२० को १८ अप्रिलमा राज जन्मभूमि अयोध्यामा नित्य हवन तथा पूजन भएको थियो।
आस्था र श्रद्धामा कुनै कमी नभए पनि नयाँ रामललाको राम मन्दिर बनेपछि भक्तजनहरु घुइँचो लाग्ने गरेको छ। यहाँका मुख्य स्थानहरुमा रामजन्मभूमि, हनुमानगढी, नागेश्वरनाथ, सरयु नदी तट, छाउनी बाल्मिकी भवन, कनक भवन, छोटी देवकाली आदि पर्दछन्।
यहाँ असंख्य मन्दिर र अखडाहरु छन्, जहाँ सामान्यतया आवास र प्रसादको व्यवस्था हुन्छ। अयोध्यामा धेरै मठ मन्दिरमा दिनको एक छाक खाना निशुल्क दिने चलन रहेछ। खाना बाड्ने बेलामा जो कोही पनि लाइनमा बसेमा बिना भेदवाद खान पाइँदो रहेछ।
अयोध्यामा केही सुपथ मूल्यका धर्मशाला पनि छन्, तर ठूला होटेलहरु बन्दै रहेछन्। अयोध्या नगरभरि जताततै बाँदरको उत्पात देख्न पाइन्छ। सवै घरहरुमा बाँदर पस्न नसक्नेगरी जाली राखिएको हुन्छ। धोएका कपडा जालीभित्रै सुकाउनु पर्दछ। यात्रुहरुलाई झोला, फलफूल र सरसामान जोगाउन हम्मे-हम्मे पर्छ।
तर भावनात्मक कारणले गर्दा बाँदरलाई लौरो देखाएर लघार्ने बाहेक कुनै कारवाही गरिँदैन। बाँदरबाट आफ्नो सुरक्षा आफैं गर्नु पर्दछ। यहाँका मानिसहरु भक्तालु रहेछन्। भगवान रामका सेवक बाँदरहरु पनि प्रशस्त रहेछन्।
बाँदर र मानिसहरु मिलेर बसेको शहर अयोध्या दर्शन गर्ने अभिलाषा राख्दै त्यहाँ देखि दिउसो २ बजेतिर नेपाल आउने तयारी ग¥यौं। सरयु गंगाको तटमाा रहेको वसपार्क जाने सडकहोस् वा शहरका दायाँ बायाँ पर्खाल, पोल सबैमा भगवान रामसँग सम्वन्धित सुन्दर भब्य चित्रहरु बनाएका रहेछन्।
हामीहरु पनि ती चित्रहरु हेर्दै घामलाई घाम नमानी पैदल बसपार्क गयौं। त्यहाँ वनारसबाट रुपडिया जाने गाडी पाइयो। त्यही गाडीमा चढेर हाम्रो फिर्ति यात्रा सुरु भयो। झयालबाट उर्वर भूमि हेर्दै गोण्डा आइपुगेपछि एक छिन् त्यहाँ गाडी रोकिँदो रहेछ। मामा धनेश्वरले सुन्तला किन्न गयौं।
गर्मीले आकुल भएको बेला सुन्तलाले धेरै राहत दियो। बहिराइच आएपछि चिया नास्ता खायौं करिव छ बजेतिर रुपडिया आइपुगियो। चेकजाँच गरेपछि हामी नेपालगंज आयौं। घर आइपुग्दा साँझको आठ वजेको थियो। तीन दिन पारिवारिक तीर्थयात्रा अवस्मरणीय भयो।
यात्रा अवधिभर भगवान र पितृका कृपाले हामीहरु गन्तब्यमा सकुशल आइपुग्यौ। यसरी हेर्दा हरेक तीर्थयात्रा अन्य यात्रा वा भ्रमण भन्दा अत्यन्त महत्वपूर्ण हुँदो रहेछ।
यस्तो यात्रामा न कुनै मानसिक थकावट नभई स्वच्छता र स्फूर्ति प्राप्त हुँदो रहेछ। जीवन केवल ज्ञानका लागि हो भन्ने पवित्र भावना जार्गित हुँदो रहेछ। न कुनै स्वार्थ, लाभको चाहना नभई विछट्टै आनन्द र महत्वबोध हुँदो रहेछ।
Facebook Comment