प्रतिनिधिसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

डिसी नेपाल
११ असार २०८१ १७:३९

काठमाडौं। आर्थिक विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले राखेको भएको उक्त प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो। त्यसअघि बैठकमा आर्थिक विधेयक, २०८१ माथि सामान्य छलफल भएको थियो। छलफलमा उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री पुनले कर प्रणालीलाई व्यवस्थित बनाउन सरकार प्रयत्नशील रहेको बताए।

त्यस्तै उनले नयाँ चरणको आर्थिक सुधारको योजनासहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिइने सरकारको योजना रहेको जानकारी दिए। अर्थमन्त्री पुनले मुलुकमा आर्थिक क्रियाकलाप बढाउने, राजस्वको दायरा विस्तार गर्ने तथा व्यवस्थित कर प्रणाली लागू गर्ने विधेयक ल्याएको जानकारी दिए।

उनले कर हेरेफेरमा विद्युतीय सवारी साधनलाई निरुत्साहित गरिएको भन्ने कुरा सहि नभएको धारणा राखे।

यसैगरि आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पनि स्वीकृत भएको छ।विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बहुमतले स्वीकृत भएको हो।

बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *