भीषण वर्षाका कारण दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छत भत्कियो

डिसी नेपाल
१४ असार २०८१ १०:४९

काठमाडौं । दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छाना शुक्रबार बिहानै परेको भीषण वर्षाका कारण खसेको छ ।

समाचार एजेन्सी पीटीआई र एएनआईका अनुसार छत भत्किँदा ६ जना घाइते भएका छन् । यो छाना सवारीसाधन र ट्याक्सीमा खसेको थियो जसमा केही मानिस पुरिएका थिए ।

घटनाको बारेमा दिल्ली फायर डिपार्टमेन्टलाई जानकारी दिइएको थियो र फायर डिपार्टमेन्टका चारवटा गाडी उद्धारका लागि घटनास्थलमा पुगेका थिए। भवनको छाना बाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका छन् ।

नागरिक उड्डयन मन्त्री के राममोहन नायडूले सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा भनेअनुसार उनी व्यक्तिगत रूपमा स्थितिको अनुगमन गरिरहेका छन् र घाइतेहरूलाई अस्पताल पठाइएको छ।

दिल्ली इन्टरनेशनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले भने, “बिहानैदेखि परेको भारी वर्षाका कारण टर्मिनल १ को पुरानो डिपार्चर्स विंगको क्यानोपीको केही भाग बिहान ५ बजे भत्किएको थियो। केही घाइते भएको रिपोर्ट गरिएको छ, र सबै घाइतेहरूलाई आकस्मिक उपचारका लागि पठाइएको छ। आवश्यक सहयोग र चिकित्सा सेवाहरू उपलब्ध गराइँदैछ।”

“यस घटनाका कारण, टर्मिनल १ बाट सबै उडानहरू अस्थायी रूपमा रोकिएका छन् र सुरक्षा कारणहरूका लागि चेक इन काउन्टरहरू बन्द गरिएको छ।”

दिल्लीमा भारी वर्षापछि दिल्ली-एनसीआर क्षेत्रमा अझै केही समय हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने र २० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने मौसम विभागले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *