देशका लागि सयौं मुकुलहरु जन्माऔं
हो, यस्तै मुकुल ढकाल जस्तै मानिसहरु सबै पार्टीमा र नेतृत्व दिन बसी टोपलेका स्वघोषित वरिष्ठलाई औंला देखाउँदै पार्टी र पार्टीमार्फत देश र जनाताप्रति घात हुँदैछ भन्न सक्ने इमान्दार नेता हुने हो भने देश र जनता निराश हुनुपर्दैन।
उनीमा अत्यास छ, पीडा छ वा सत्ताको स्वाद चाख्न नपाएको झोंक, उनै जानुन्। तर उनीद्वारा हस्ताक्षरित समीक्षा प्रतिबेदन पत्रको अन्तिम अनुच्छेद निकै गम्भीर छ। ढकाल उनका सभापति रवि लामिछानेले जस्तो ‘स्टण्ट’ गरेर राजनीति गर्दैनन् भन्ने उनको पत्रले देखाउँछ।
उनले लेखेका छन्, ‘मैले गर्दै नगरेको कामहरुलाई पनि मेरो नाममा थुपारिदिएर पार्टी भित्र घृणित राजनीति भयो। मेरा कुरा के–के हुन्, जनतालाई मैले कहिले भन्न पाइनँ।’ पार्टीको महामन्त्रीको यो दुःख सबै पार्टीमा छन् तर मुकुलले बोल्ने हिम्मत गरे।
पार्टी भित्र सबै बदमास, ठग, झुट, भ्रष्ट अनैतिक हुनै सक्दैनन्। त्यो कांग्रेस, एमाले, स्वतन्त्र वा समाजवादी पार्टी नै किन नहोस्। तर सबका आवाज दमित छन्। कसैको टिकट नपाउने डर, कसैको मन्त्री नहुने भय, कतिलाई यसअघिका भ्रष्टाचारका पर्दा उघारिने डर आदि इत्यादीले गर्दा बोल्न सकेका छैनन्।
केही चाकरहरु उनको ‘पार्टी कामको बोझ’ भनेर नुनको सोझो गरेको समेत सुनियो। विवेकशीलको बाटोमा जाँदैछ भन्ने धरातलीय दृष्टिमा चाकरीको चस्माले जूम गर्दै बस्नेहरु रवि लामिछानेको पुच्छर समात्दै हिँड्न सक्छन्।
अरु सबै पार्टीमा मुकुलहरु हुर्किए भने एमालेभित्र बिष्णु पौडेल, ईश्वर पोख्रेलहरु मौलाउँदा इमान्दार एमालेहरु झुक्न पर्ने थिएन। गिरिबन्धु टि स्टेटदेखि यति होल्डिङसम्मका काला टिका लगाएर सज्जन एमालेहरु झुक्न पर्ने थिएन।
मुकुल एक पात्र देखिए। गणतन्त्रका दागहरुले यो ब्यबस्थाको स्वरुपलाई कुरुप बनाई रहँदा मुकुलहरु प्रबृत्ति बनेर ब्यूँतिए भने स्व. गिरिजा प्रसाद कोइरालाको शिशु प्रजातन्त्रमा लागेका खुम्ले किराहरुले माओवादी ध्वंशमा देश दशकौं पछि पर्ने थिएन।
व्यवस्था बदलेर वा संविधानमा राम्रा शब्द लेखेर बदलाव आउने थियो र अहिलेको ‘ग्लोबल वर्ल्ड’मा हामी प्रतिस्पर्धी हुने थियौ भने स्थायी सरकारको मुखिया मुख्य सचिब भ्रष्टाचारको आहालमा डुबेको देख्दा देख्दै सत्ता नै ‘लाईफ गार्ड’ बनेर चोख्याउने साझेदार हुने थिएन।
बलिया मुकुलहरु कांग्रेस भित्र भएका भए बालकृष्ण खाँडहरुका कारण इमान्दार कांग्रेस घोसे मुन्टो लगाएर हिड्नु पर्ने थिएन। प्रचण्डको उन्मादले देशले अर्बौका भौतिक क्षति बेहोरेको देख्नेहरु जीवित छन्।
सो कार्यमा आँखा चिम्लेर ज्यानको बाजी थापेर लडेका, घाइते भएका, अंगभंग भएर शरीरमा छर्रा बोकेर बाँचिरहेकाहरुको नाममा राज्यकोषबाट रकम लगेर डकारेका किर्नाहरुका बारे बोल्ने मुकुलहरु भएका भए लडाईमा परेर घाइते भएकाहरुले नगरेको भ्रष्टाचारको कालो बोकेर हिँडीरहने थिएनन्।
हो, बिना वर्क परमिट नेपाल छिरेर नेपाली जनतामा देश खत्तम भएको, अहिले काखमा राखेर मन्त्री बनाएकाहरुले देश लुटेको भ्रमात्मक र नकारात्मक सन्देशको बिष घोलेर अघि देखिएका रवि लामिछाने, जसको नगरिकतै थिएन उनले चुनाब लडे जिते।
उनको झुटले राज्यले उपचुनाबको खर्च बोक्नु परेको अवस्थामा मुकुलहरु त्यसको कालो टीका लगाउन तयार नहुनु सही हो। जो उनले गरेनन् त्यसको दोष अरुले किन लिने?
सदनमा राष्ट्रको सूचना गोपनीयता बेचेको आधारहीन भाषण गरेका चटके रवि लामिछानेले राज्यले खोजी गरिरहेको उनको पूर्व मालिक जिबी राईको बारेमा अग्रीम भाषण गरेर उनलाई भाग्न बाटो खुलाउँदै ‘नुनको सोझो’ गरेको कुरा देशको सूचना बेचेको शीर्षकमा पर्छ कि पर्दैन?
पर्छ भने मुकुलहरु त्यसको भागिदार किन हुनु पर्ने? महिनावारी भएका महिला प्रहरीलाई ४ दिन छुट्टी दिने कुरा गरी रहँदा १ सय ३४ देखि १ सय ८७ रुपैयाँको दैनिक रासन खाएर जागिरमा खटिने र जनताको सुरक्षा दिने प्रहरीबारे अज्ञात रहने मानिस मन्त्री बनेर सहकारी जस्ता कर्तुतको छानबिनमा बाधा सृजना गर्ने गृहमन्त्रीको बदनियतको खियाले भुत्ते बनेको पार्टीको दोष मुकुलहरुले किन बोक्ने? गृह मन्त्रालयमै बार्गेनिङ गरेर पुनः आएका रविलाई नेपाल प्रहरीसँग १०-१२ वर्ष अघि एक्सपाएर भएका ग्यास सेल छन्।
त्यो बदल्न चीन र भारत सँग हारगुहार गरेको कुरा अबगत छ कि छैन? कि सहकारी टाल्दैमा मन्त्रालय तलब लिने दुहुनो गाई मात्रै बन्दैछ? पदमा बसेर स्टण्ट बाहेक नगरी राज्यको समय बर्बाद गरेको मूल्य र आरोप मुकुल वा अन्य पार्टीका मुकुल हरुले किन सहनु पर्ने? नेपाल प्रहरी (जनपद) मा करिब ३० हजार पद थप्न पर्ने देखिन्छ।
देशैभरी रहेका अस्थायी पोस्टहरुमा दरबन्दीका कर्मचारी तानेर काम चलाएको देखिन्छ। पद ओगटेर काम नगर्ने गृहमन्त्रीको अक्षमताको कालो टिको मुकुलहरुले किन लगाउने? अनि मुकुलले भनेझैं जनता माझ बोल्ने कहिले?
देशले खोजिरहेको फरार ब्यक्ति खोज्ने टप पोजिसनमा आसिन ब्यक्तिले अभियुक्त भगाउने नियतले दिएको सार्वजनिक भाषण, सहकारीमा डुबेका हजारौ नागरिकले दिने नसिहतको भागिदार मुकुल वा पार्टी हुने कि नहुने? बोल्न पाउने कि न पाउने?
हुन त हाम्रो संविधान निर्माताहरु निकै स्मार्ट छन्। सदनमा जसले जे बोल्दा पनि हुने तर आम मनिसले बोल्न नहुने, बोले कानुन लाग्ने? संविधनमा विशेषाधिकार शीर्षकमा (१) यस संविधानको अधिनमा रही संघीय संसदको दुबै सदनमा पूर्ण वाक स्वतन्त्रता रहने छ र सदनमा ब्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गरिने, थुनामा राखिने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन भनिएको छ। त्यसैले यो संविधान रवि लामिछने जस्ताका लागि अनुकूल छ र आम मनिसको लागि प्रतिकूल।
आफैं अनुसन्धानको घेरामा भएको ब्यक्ती अनुसन्धान गर्ने मन्त्रालयको मुखिया हुँदा अनुसन्धानमा पर्ने प्रभाब र त्यसले सो पार्टी र त्यसमा रहेका मुकुलहरु उकुसमुकुस भएर यसरी छटपटिदा सो पार्टी र त्यसको भविष्य खोज्नै पर्छ।
एमालेका गोकुल बास्कोटा, शेरबहादुर तामाङहरुसँग नैतिकताको शिक्षा लिन रविहरु पुड्को हुँदै गर्दा मुकुलहरु को अट्टाहस अनुभूत गर्नु नवौ आश्चर्य हुँदै होइन। सबै पार्टीमा मुकुलहरु जन्मिए भने हिजो घरबार र परिवार बिहीन बनाउने माओवादीलाई मतदान गर्दैनौं भन्ने कांग्रेसहरु जन्मिन्थे।
अनि कांग्र्रेसको मतले जितेका प्रचण्ड जादुयी अंकको रटान गर्दैनथे। शेरबहादुर तमाङ, गोकुल बास्कोटाहरु झै छाती चौडा गरेर हिँड्ने हरेक एमाले हुने थिए। बिष्णु पौडेल, ईश्वर पोख्रेलहरुको कालो टीका एमालेहरुले लगाउने थिएनन्। लोकदर्शन रेग्मीहरु भन्दा सक्षम ब्यक्ति कांग्रेस वा एमालेबाट राजदूत हुने थिए।
तर सबैमा मुकुलहरु जन्मेनन्। अब सहकारी छनबिन सत्य र तथ्यमा हिँड्यो भने रास्वपाले रविहरुकै कारण थप क्षति भोग्ने नै छ र त्यसको दोष मुकुलहरुले लिने अवस्था आउन दिनु हुन्न। यो ब्यबस्था सुधार गर्दै जोगाउन र फैलाउन सयौ मुकुलहरु जन्मिउन्।
Facebook Comment