माल्दिभ्सका राष्ट्रपति मुइज्जुमाथि कालो जादू गर्ने प्रयास, राज्यमन्त्रीसहित ३ अभियुक्त पक्राउ
काठमाडौं । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुमाथि कालो जादू गरेको आरोपमा प्रहरीले देशको सरकारका एक मन्त्रीलाई पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार मुइज्जुसँग नजिक हुन बोक्सीविद्या गरेको आरोपमा प्रहरीले वातावरण राज्यमन्त्री फातिमा शमानाजसहित अन्य दुई जनालाई पक्राउ गरेको छ ।
तीनै जनालाई पक्राउ गरी अदालतमा पेस गरेपछि अदालतले सबैलाई सात दिनको प्रहरी हिरासतमा पठाएको प्रहरीले जनाएको छ । स्थानीय पत्रिकाका अनुसार मन्त्री शमनाजका भाइ र अर्का आरोपीलाई पक्राउ गरिएको छ । शमनाज राष्ट्रपति कार्यालयका मन्त्री एडम रमीजकी पूर्व पत्नी हुन्। शमनाजलाई पक्राउ गर्नुअघि प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । प्रहरीले घरबाट केही सामान समेत बरामद गरेको छ ।
प्रहरी प्रवक्ता अहमद शिफानले मन्त्री शमनाजसहित अन्य दुई जनालाई पक्राउ गरेको पुष्टि गरेका छन् । यसअघि प्रहरीले शमानाजको घरमा छापा मारेर कालो जादू गर्न प्रयोग भएको हुन सक्ने धेरै सामान बरामद गरेको थियो ।
अप्रिलमा वातावरण मन्त्रालयमा सरुवा हुनुअघि शमनाजले गत वर्ष सेप्टेम्बरमा निर्वाचित मुइज्जुका लागि राष्ट्रपति भवनमा राज्यमन्त्रीको रूपमा काम गरिन् । उनले पहिले मालेको नगर परिषदमा मुइज्जुसँग काम गरेकी थिइन् र मुइज्जु मेयर हुँदा शहर काउन्सिलरको रूपमा काम गरेकी थिइन्।
कालो जादूलाई स्थानीय रूपमा फन्डिता वा सिहुरु भनेर चिनिन्छ । माल्दिभ्समा इस्लामिक कानून अन्तर्गत यसलाई गम्भीर अपराध मानिन्छ तर यसप्रति व्यापक विश्वास पनि गरिन्छ । मे महिनामा संसदीय निर्वाचनमा उम्मेदवार रहेको सत्तारुढ दलका एक सदस्यमाथि कालो जादू गरेको आरोपमा प्रहरीले एक ६० वर्षीय वृद्धलाई पक्राउ गरेको थियो । डिसेम्बर २०१५ मा इस्लामिक मन्त्रालयले कालो जादू समाजमा धेरै सामान्य बन्दै गएको बताउँदै र त्यस्ता अभ्यासहरूबाट टाढा रहनु पर्ने चेतावनी दिएको थियो ।
Facebook Comment