एमाले र एकीकृत समाजवादीको तिक्तता : एकअर्काको दशौं महाधिवेशन अस्वीकार

डिसी नेपाल
१६ असार २०८१ २०:४०

काठमाडौं। नेकपा(एमाले)बाट विभाजित भएर बनेको नेकपा(एकीकृत समाजवादी)को महाधिवेशनमा पूर्वपार्टी एमाले अनुपस्थित भएको छ।

एमालेकाे चितवनमा सम्पन्न दशौं महाधिवेशन अघिका सबैलाई आफ्नो पक्षको महाधिवेशनको रूपमा गणना गर्दै त्यसको स्वामित्व लिएको बताएको एकीकृत समाजवादीले आइतबारदेखि सुरु भएको महाधिवेशनलाई दशौं महाधिवेशनको संज्ञा दिएको छ।

पार्टीबाट माधव नेपाल-झलनाथ खनाल समूह विभाजित भएपछि एमालेले २०७८ मंसिर १०- १४ मा चितवनमा दशौं महाधिवेशन सम्पन्न गरेको थियो। उक्त महाधिवेशनबाट केपी शर्मा ओली एमालेको दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका थिए।त्यसअघिको नवौं महाधिवेशनमा ओलीले नेपाललाई पराजित गरेर पहिलो पटक पार्टीको नेतृत्वमा पुगेका थिए।

एमालेको दशौं महाधिवेशन भन्दा तीन महिना अघि २०७८ भदौ २ मा मात्रै एमाले विभाजित भएर नेपालको नेतृत्वमा नयाँ दल एकीकृत समाजवादी गठन गरिएको थियो। त्यस समयमा एमाले र माओवादी मिलेर बनेको नेकपा कालको तिक्तता र त्यसको विभाजन पछि पुनर्गठित एमाले समेत फुटाएका नेपालसँग ओली आक्रोशित भएर दशौं महाधिवेशनमा आमन्त्रण गर्न जरुरी समेत ठानेका थिएनन्।

तत्कालीन अवस्थामा पार्टी विभाजन भएको तीन महिनामै आयोजित एमालेको दशौं महाधिवेशनमा दुबै पक्षबीचको तिक्ततापूर्ण सम्बन्धकै कारण नेकपा एसले उपस्थिति जनाउने अवस्था थिएन। एमाले अध्यक्ष ओलीलाई अनेकौं तवरले आरोपित गर्दै अलग दल खोले पछि त्यस बखत दुबैको सम्बन्ध निकै कटुतापूर्ण रहेको थियो। सोही कारणले एमालेले नेकपा एसको राजनीतिक अस्तित्व अस्वीकार गरेर महाधिवेशनमा बोलाएको थिएन।

तर, पार्टी विभाजन भएको करिब तीन वर्षपछि एकीकृत समाजवादीले गरेको दशौं महाधिवेशनमा विगतको तुष यथावत राख्दै एमाले सहभागी नभए पछि दुबै दलको तिक्तता हालसम्मै कायमै रहको स्पष्ट हुन्छ। अझैंसम्म एकले अर्काको राजनीतिक हैसियत अस्वीकार गरेको समेत एमालेको अनुपस्थितिले दर्शाएको छ।

आइतबार महाधिवेशन स्थलमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द देखि रास्वपाका सभापति रवि लामिछाने उपस्थित हुँदा एमालेले अध्यक्षमात्रै होइन आफ्नाे दलबाट कुनै प्रतिनिधि समेत नपठाएपछि विभाजनको तिक्तता अझै यथावत रहँदै एमालेले नेकपा एसलाई दलका रुपमा स्वीकार्न तयार भएको देखिँदैन।

यद्यपि यस अघि राष्ट्रपति निर्वाचन ताका एमालेले एकीकृत समाजवादीलाई दलीय हैसियतमा सम्बोधन गर्दै आफ्ना उम्मेदवारको पक्षमा मत मागेको थियो। तर सो दलको महाधिवेशनमा उपस्थित भएर दलीय हैसियतका रुपमा स्वीकार्न भने असमर्थ भएको छ।

उसोत नेपाल नेतृत्वको एकीकृत समाजवादीले थ्रेस होल्ड कटाउन नसकेर संसदीयरुपमा दलीय हैसियत स्वतन्त्र कायम भएको छ । तथापि अन्य दलले महाधिवेशनमा उपस्थित जनाउँदा सत्ता साझेदार दलकै रुपमा रहेको एकीकृत समाजवादीको महाधिवेशनमा सहभागी नभएपछि दुबै दलले एक अर्कालाई अस्वीकार गरेको प्रष्टै हुन्छ।

एमालेको राजनीीतक स्वामित्व लिएर अध्यक्ष ओली निर्वाचित चितवनको दशौं महाधिवेशनलाई अस्वीकार गर्दै आफ्नो हालको महाधिवेशनलाई दशौं महाधिवेशनको संज्ञा दिएपछि राजनीतिक रुपमा एमालेको अस्तित्व नेकपा एसले अस्वीकार गरेको निष्कर्षमा एमाले पुगेको सहजै बुझ्न सकिन्छ।

महाधिवेशनको उद्घाटन सत्रमा नेपालले दश पटक फोन गर्दा पनि ओलीसँग सम्पर्क हुन नसकेको गुनासो गरेका थिए। उनले आमन्त्रण गर्ने प्रयत्न गरिएको औपचारिकता व्यक्त गरेपनि एमालेको दशौं महाधिवेशनलाई अवज्ञा गरेपछि एमाले उपस्थित नभएको स्रोत बताउँछ।

गत निर्वाचनमा एमाले हराउन प्रमुख भूमिका खेलेको र त्यस अघि अध्यक्ष ओली निर्वाचित एमालेको दशौं महाधिवेशनलाई अस्वीकृत गर्दै अहिले आफ्नो महाधिवेशनलाई दशौं महाधिवेशनको संज्ञा दिएपछि एमालेले यो महाधिवेशन अस्वीकार गर्ने अवस्थामा पुगेको हो।

दशौं महाधिवेशन अस्वीकार गरेर त्यसको  स्वामित्व आफूले लिँदै गरिएको नेकपा एसकाे महाधिवेशनमा एमालेले सहभागिता जनाउनु भनेको राजनीतिक रुपमा आफ्नो अस्तित्व गुमाएको स्वीकार्दै आफूबाट विभाजित घटकलाई वैधानिकता दिनु सरह भएकाले एमाले उपस्थित नभएको बताइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *