कांग्रेस पदाधिकारी बैठक बस्दै, एमालेसँग सहकार्यका विषयमा छलफल हुने
काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बस्नेछ।
सभापति देउवाले पछिल्लो राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधि लगायत समसामयिक विषयहरूमा छलफल गर्न पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।
सभापति देउवाले गत शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि राजनीतिक वृत्त तरङ्गित भएको समयमा कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो। उक्त छलफल कुनै राजनीतिक फेरबदलका लागि हो कि भन्ने आशंका गरिएको छ।
त्यस्तै, एमाले र माओवादीको सत्तासहयात्रामा केही चिसोपन आइरहेका आइतबार अध्यक्ष ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच समेत सिंहदरबारमा छलफल भएको थियो।
संविधान संशोधन र सत्ता सहकार्यको प्रस्तावसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि सत्ता राजनीति फेरि तरंगित भएको छ।
राष्ट्रियसभा निर्वाचनपछि माओवादीसँग सहकार्य टुटाएको कांग्रेस चार महिनादेखि प्रमुख प्रतिपक्षको भूमिकामा छ। माओवादी नेतृत्वको सरकारलाई समर्थन गर्दै चार महिनादेखि एमाले सरकारमा सहभागी छ।
कांग्रेस सभापति देउवा शनिबार दिउँसो एमाले अध्यक्ष ओलीको बाल्कोटस्थित निवास पुगेका थिए। दुवै नेताबीच तीन घण्टाभन्दा बढी समय ‘वान टु वान’ वार्ता भएको थियो।
शनिबार कुनै सार्वजनिक समारोहमा सहभागी नरहे पनि देउवासँग वार्ता गरेका ओली आइतबार एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन सत्रमा पनि सहभागी भएनन्।
बरु प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसँग केहीबेर छलफलमा सहभागी थिए। राजनीतिक मञ्चमा यतिबेला सत्यनिरूपण विधेयक केन्द्रमा छ।
सो विधेयक पारित गराउनेबारे प्रधानमन्त्री प्रचण्डले केही दिनअघि देउवा र ओलीसँग छलफलसमेत गरेका थिए। सो विधेयेकका केही विषयमा कांग्रेस-एमालेका साझा सरोकार छन्।
यही कारण देउवा-ओली भेटले नयाँ राजनीतिक समीकरणको सम्भावना उजागर गरेको अर्थमा विश्लेषण गरिएको छ। पदाधिकारी बैठकमा यही विषयमा पनि छलफल हुने बताइएकाे छ।
वैकल्पिक समीकरण निर्माणबारे पार्टीभित्र संस्थागत छलफल नभए पनि सभापति देउवा उपयुक्त मौकाको पखाईमै थिए। बजेट पारित भइसकेको, सत्यनिरूपण विधेयक सदनबाट पारित गराउनुपर्ने अवस्था रहेको तथा संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नेबारे सार्वजनिक बहस सुरु भएको मौका पारेर देउवाले ओलीलाई सहकार्य प्रस्ताव गरेका हुन्।
वर्तमान सरकारले पाँच वर्षे कार्यकालमध्ये १८ महिना पूरा गरिसकेको छ। बाँकी ४२ महिना आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने, शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने तथा साना दलको अप्रत्यााशित ‘दबदबा’ अन्त्य गर्ने प्रस्ताव देउवाले ओलीसमक्ष गरेका थिए। यी विषयमा एमाले अध्यक्ष ओलीले के जवाफ दिए भन्ने विषयमा केही पनि खुलेकाे छैन। पदाधिकारी बैठकमा छलफल हुने बताइएकाे छ।
Facebook Comment