भेटघाट एवं पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न

डिसी नेपाल
१९ असार २०८१ १०:०१

अल्बर्टा, क्यानाडा। क्यानाडाको अल्बर्टा राज्यको एडमन्टन शहरमा एक साहित्यिक कार्यक्रम हालै सम्पन्न भएको छ। त्यस कार्यक्रममा साहित्यकार विश्वराज अधिकारीसँग स्थानीय साहित्यकारहरूको साक्षात्कार भएको थियो।

उक्त कार्यक्रममा डा कुसुमाकर शर्मा गौतमले लेख्नु भएको लघुकथासङ्ग्रह ‘हिउँको राप’ माथि परिचर्चा पनि गरिएको थियो। लघुकथासङ्ग्रह हिउँको रापमाथि परिचर्चाकारहरू मोदनाथ खनाल, सुरेन उप्रेति, शर्मिला पोखरेलले आआफ्नो धारणा राखेका थिए।

विशेष परिस्थितिले गर्दा भौतिक रुपमा उपस्थित हुन नसकेका  परिचर्चाकार डा. नारायण पोखरेलले हिँउकोको रापमाथि गरेकाे  समीक्षा साहित्यकार शर्मिला पोखरेलले सो कार्यक्रमा वाचन गरेर सुनाएकी थिइन्।

साहित्यकार मोदनाथ खनालले हिउँको रापमा भएका लघुकथाहरूमा भाव एवं विचारको सम्प्रेषण विशेष किसिमले व्यक्त गरिएको उल्लेख गरेका थिए।

साहित्यकार सुरेन उप्रेतीले हिउँको रापमा भएका लघुकथाहरूले कुन कुन विषयहरू समेटेको छ भन्ने सन्दर्भमा ती लघुकथाहरूले राजनीतिक अस्थिरता, नारी अधिकार, सामाजिक विसंगति, अज्ञानता, अन्धविश्वास एवं भ्रष्टाचारका मुद्दा सशक्त किसिमले उठाएको बताएका थिए।

यसैगरी आफ्नो लिखित समीक्षामा डा नारायण पोखरेलले डा गौतमका लघुकथाहरूले राष्ट्रियताका विभिन्न आयामहरू बारे गम्भीरतापूर्वक विवेचना गरेको उल्लेख गरे।

साथै साहित्यकार शर्मिला पोखरेलले हिउँका राप भित्र रहेका लघुकथाहरू मध्ये आफूलाई मन परेको ‘माटोको सुवास’ लघुकथा वाचन गरेर सुनाएकी थिइन्। उनले हिउँको राप भित्र रहेका अन्य लघुकथाकथाहरूले पनि आफ्नो मन छोएको उल्लेख गरिन्।

सो भेटघाट एवं परिचर्चा कार्यक्रमको सहजीकरण एडमन्टन निवासी डा रेमन्त केसीले गरेका थिए। अर्चित शर्माले उक्त कार्यक्रममा प्राविधिक सहयोग पुर्‍याएका थिए । कार्यक्रम एममन्टनको नेपाली संस्था ‘नेपालिज क्यानेडिएन सोसाइटी अफ एडमन्टन’ को हलमा आयोजना गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *