विद्यालयको भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन एलडीओसहित ११ जनाविरुद्ध मुद्दा दायर

डिसी नेपाल
२३ साउन २०७६ २१:४९

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा सल्यानका तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल, लेखा अधिकृत रामकुमार पौड्याल, सब इन्जिनियर दोर्णप्रसाद रजौरेलागयत ११ जना विरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

सल्यान साविक काप्रेचौर गाविस वडा नम्बर ७ घुइयावारीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको भवन निर्माण गर्दा भ्रष्टाचार गरेको अख्तियारले आफ्नो अनुसन्धानमा पुष्टि भएको जनाएको छ ।

अख्तियारका अनुसार तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल, लेखा अधिकृत राम कुमार पौड्याल, इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सब–इन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डि. सी., काप्रेचौर गा.वि.स. का सचिव टेक बहादुर डाँगी (क्षेत्री), तथा नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर घर्ती, नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका निमित्त प्रधानाध्यापक खल बहादुर चलाउने क्षेत्री, उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मर बहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमा कुमारी बि.क.ले झटुा बिलभर्पाई बनाएर भ्रष्टाचार गरेका थिए ।

तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल र लेखा अधिकृत राम कुमार पौड्यालले ५ लाख २२ हजार ५ सय रुपैयाँको झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरी भुक्तानी गरेको अख्तियारले जनाएको छ ।

यस्तै साविक काप्रेचौर गा.वि.स. का तत्कालीन सचिव टेक बहादुर डाँगी (क्षेत्री) ले ४ लाख रुपैयाँको झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरी भुक्तानी गरेको अख्तियारले दावी गरेको छ।

तत्कालीन स्थानीय विकास अधिकारी पेशल कुमार पोखरेल र लेखा अधिकृत राम कुमार पौड्यालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टी हुन आएकोले निजहरुलाई जनही ४ लाख ६४ हजार १ सय ६१ रुपैयाँ २५ पैसाको बिगो कायम गरी मुद्दा दायर गर्रिको अख्तियारले जनाएको छ ।

इन्जिनियर गज्जुबाबु श्रेष्ठ, सब–इन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डि. सी.ले झुठ्ठा बिल भर्पाई एवं झुठ्ठा कागजात पेश गरेकोले भ्रष्टाचार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिम कसुर गरेको पुष्टि भएको भन्दै अख्तियारले सब–इन्जिनियर दोर्ण प्रसाद रजौरे, असिष्टेन्ट ओभरसियर फलेन्द्र डि. सी.लाई जनही ८ लाख ४७ हजार रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको छ । इन्जिनियर गज्जुबाबु श्रेष्ठको निधन भइसकेकोले निजको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (१) बमोजिम बिगो असुल हुन माग दावी गरिएको छ ।

काप्रेचौर गाविसका सचिव टेक बहादुर डाँगी (क्षेत्री), नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर घर्ती, नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका निमित्त प्रधानाध्यापक खल बहादुर चलाउने क्षेत्रीलाई जनही ३ लाख ५५ हजार ,३ सय ३८ रुपैयाँ ७५ पैसाको बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष कर्ण बहादुर रावत, उपभोक्ता समितिका सचिव डम्मर बहादुर पुन, उपभोक्ता समितिका कोषाध्यक्ष निमा कुमारी बिकलाई जनही ८ लाख ४७ हजार रुपैषँको बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *