कोरोनालाई पराजित गर्दा : आफ्नै कथा, उस्तै ब्यथा !
कोभिड-१९ विश्वव्यापी महामारीको पहिलो भेरियण्टको प्रभाव पूर्ण रूपमा सेलाउन नपाउँदै पुनः दोश्रो भेरियण्टको प्रभाव पनि तीव्र गतिमा विश्वव्यापी रूपमा फैलिइरहेको थियो।
दिन-प्रतिदिन संक्रमित बिरामीको संख्या र मृत्युदर बढ्दै गएपछि २०७८ बैशाख १६ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यका र देशैभरी पुनःदोश्रोचरण लकडाउनको घोषणा भइसकेको थियो।
आंशिक र पूर्ण रूपमा महिनौंसम्मको लकडाउन र चरणबद्ध रूपका निशेधाज्ञाले थिलोथिलो वनेको अर्थतन्त्र र सामाजिक जनजीवन सहज र सामान्य लयमा फर्कन नपाउँदै,मुलुक पुनः दोश्रो चरणको लकडाउन र निशेधाज्ञाको सन्त्रासमा छटपटाइरहेको थियो।
अत्यावश्यक श्रोत, साधन, भौतिक पूर्वाधार,आधुनिक उपकरणहरू र प्रर्याप्त औषधि उपचारको बन्दोबस्त गरी संक्रमितको उपचार प्रकृयालाई सहज बनाउँदै, संक्रमण रोक्न र संक्रमित बिरामीहरुको मानवीय क्षतिलाई न्युनीकरण गरिनुपर्ने मुल बिषयमा जुट्नुपर्ने राष्ट्रको जिम्मेवार निकाय, आधुनिक बिज्ञानले विकास गरेको उच्चतम प्रविधिलाई चुनौती दिँदै, एक्काइसौं शताब्दीको नयाँ वैद्यको रूपमा बेसार-पानीको ‘ओखती बुटी’ बाँड्दै, सामाजिक संजाल र आम संचारका माध्याममार्फत जगत हँसाउँदै थियो।
अनगिन्ती काण्ड र काण्डै काण्डको अभियोग जनस्तरबाटै लाग्दै आइरहेको,करिब दुईतिहाइ बहुमतको नजिकरहेको मेरै पार्टी नेतृत्वको ‘आफ्नै बारीको’ सरकारले त्यही मौकामा तत्कालीन कोरोना स्वास्थ्य सामाग्री खरिद प्रकृयामा ओम्नी काण्डपनि थप गर्नपुग्यो।
जसबाट नेपाली जनता थप आहत भए। कोभिड उपचारको क्रममा जि टु जि खरिद प्रकृयामार्फत आयात गरिने भनिएको करौडौंको औषधि उपचार र बन्दोबस्तीका स्वास्थसामाग्रीको खरिद प्रक्रियामा पनि करोडौं घोटला भएको कुरा जनताको नजरमा कहीँ कतैपनि छिप्न सकेन।
लकडाउन र निशेधाज्ञाको अन्य थुप्रै प्रभावकारी र वैज्ञानिक विकल्प हुँदाहुदै पनि, जननिर्बाचित संसद बिघटन पश्चात् गणतन्त्र, संघीयता र संबिधानको रक्षार्थ सडकमा उत्रँदै गरेको गणतन्त्रप्रेमी हजारौं जनता,मजदुर र आमश्रमजीवी नेपाली जनताको भोका पेटलाई कोठा र घरको कम्पाउण्ड भित्रै बन्द गरेर, फगत आफ्नो कुर्सी र पदको रक्षा गर्ने अभियानमा केन्द्रीत भएको सरकारको प्रतिगामी कदम अनि पुरातनबादी सोचाइ र प्रवृतिको विरूद्धमा सडकमा उर्लिँदै गरेको जनसागर र सडकभरी छताछुल्ल पोखिन लागेको जनआक्रोशलाई, कोरोनाको हाउगुजी देखाएर गेटको कम्पाउण्ड भित्रै बन्द गर्नु उसको निम्ति एकमात्र सहज विकल्प थियो लकडाउन र निशेधाज्ञा!
लकडाउनको घोषणा भएतापनि अफिसमा केही जरूरी महत्वपूर्ण काम सम्पन्न गर्नुपर्ने निर्देशन अनुसार बैशाख १६ गते विहान भिमसेनगोलाबाट लैनचौरसम्म यो ज्यान घिसार्दै हिँडेरै अफिस पुगेँ। शरीरमा अलिक बढी असहजता चाहिँ बढिरहेको थियो। अफिस पुगेपछि झन् गाह्राे भयो।
आफ्नो शरीर आफैंलाई भारी भयो। जसो तसो दिन कटाएर बेलुकापख सहकर्मी मित्र विक्रमले कोठासम्म पुर्याइदिनुभयो। केहीपनि खानमन लागेन र खान पनि सकिन। बरु रातभर सहिनसक्नु ज्वरो आयो। बेसरी टाउको दुख्यो।
डुगडुग काम छुट्यो र कामज्वरो आयो। बैशाखको दिनमा दुईवटा सिरक खापेर ओढ्दापनि जाडोले शरीर काँपी रह्यो। हस्पिटल पुग्न सक्ने तागत पनि बाँकी थिएन। टोल–छिमेक र बाटोभरी मानवीय उपस्थिति शून्य थियो। थियो त केबल जताततै कोरोनाको हाउगुजी मात्रै। जसोतसो उज्यालो भयो।
बिहान सबेरै यो ज्यानलाई घिसार्दै-घिसार्दै, सिनामंगल भत्केको पुलस्थित एक निजी क्लिनिकसम्म पुर्याएर बिसाइयो। खैके खैके भने झैं डाक्टर साहेवलाई समस्याको बेली विस्तार लगाएँ। डाक्टर सावले आवश्यक चेकजाँच गरेर थप चेकअपको निम्ति रगत निकाल्दै रिपोर्टको निम्ति १२ बजे आउनु भन्दै विदा दिनु भयो।
मुस्किलले कोठासम्म पुगेर पुनःबेडमा लम्पसार परियो। पछि रिपोर्टमा रक्त अल्पता र टाइफाइट भएको जानकारी भयो र सोही मुताविक औषधि पनि खान सुरु गरियो।
५-६ दिनसम्मको नियमित औषधि सेवन पश्चात पनि समस्या समाधान हुनुको सट्टा झन् जटिल बन्दै गयो।
शरीरका प्राय भागमा सहिनसक्नु पीडा हुनुको साथै, श्वास–प्रश्वासमासमेत गम्भिर समस्या हुँदै गएपछि फेरि उही डाक्टरलाई भेट्न जाँदा हामीले गर्ने उपचार यत्ति हो, बरू तपाईं सुविधा सम्पन्न हस्पिटल गएर तुरून्त पीसीआर गराइ हाल्नु भन्ने सुझाव आयो। सवारी साधनहरु बन्द थिए।
एम्बुलेन्सलाई खवर गरियो। तै पनि एम्बुलेन्स पनि आउन मानेनन्। घण्टौंसम्मको प्रयास असफल भए पश्चात डि.बी.बस्नेत दाइलाई जानकारी गराइयो। दाइ तत्काल आइपुग्नु भयो। नानीहरुलाई कोठाभित्रै थुनेर,दाइले मलाई थेग्दैथेग्दै गाडीमा हालेर सिभिल हस्पिटल मिनभवनतर्फ गाडी हुइक्याउनु भयो।
कोभिड महामारी र त्यसले आमरुपमा जनमानसमा पारेको नकारात्मक असर, संक्रमित विरामीको भीड, बिरामी र संक्रमित बिरामीका आफन्तको पीडा, वेदना, चौतर्फी सन्त्रास र कोलाहाल, अर्कोपट्टी मृत शरीरको प्याक अनि उसका आफन्तहरुको कारुणिक र हृदयविदारक चित्कार, रुवाबासी तथा हस्पिटलको कम्पाउण्ड भित्र यत्रतत्र छरिएर जीवनको अन्तिम अवस्थामा छटपटाई रहेका विरामीको छटपटी र चित्कार सहितको दृष्यहरु देख्दा,अनि ति कारुणिक र हृदयबिदारक मानवीय चीत्कारहरु सुन्दा त्यो कुनै एउटा सिभिल अस्पतालको मात्र समस्या नभई, सिंगो राज्य व्यवस्थाकै अस्तव्यस्तता हो भन्ने कुरा हस्पिटलको गेटबाटै जो कसैले पनि प्रष्ट देख्न,पढ्न र बुझ्न सक्दथ्यो। मलाइ पनि त्यही अनुभूति भइरहेको थियो।
टिकट काउण्टरको सुझावअनुसार रूम नं.२ सय १५ रगत विशेषज्ञ डाक्टर विशेष पौडेलको कोठाको वाहिरपट्टी फलामे कुर्सीमा शरीरलाई जवरजस्ती लामो समयसम्म अड्याई रहें। घण्टौंपछि मेरो पालो आयो। क्लिनिकको रिपोर्ट र काउण्टरले दिएको टिकट डाक्टर साबको हातमा थमाउँदै समस्याको बारेमा पुनः सबैकुरा बताए।
जटिल बनिसकेको मेरो अवस्थालाई गहिरोगरी नियाल्दै डाक्टरले तपाईंलाई रक्तअल्पता र टाइफाइट मात्र हैन कोभिड संक्रमणपनि भइसकेको छ, बरू कति पइण्टभोल्युम मात्राको हो त्यो मात्र पत्ता लगाउन तत्काल पीसीआर गराउन गैहाल्नुस्, रिपोर्ट आएपछि थप प्रक्रिया अघि बढाउला भन्दै ल्याबको चिट र औषधिको लिष्टलाई मेरो हातमा थमाउँदै डक्टर पौडेलले पनि बिदा दिनुभयो।
स्वाव संकलनको निम्ति घण्टौंसम्म लाइनमा वस्नुपर्यो। लाइनमा बसेका अन्य विरामी र संक्रमितहरूको अनुभूति, लक्षण,दुखाइ र भोगाइका पीडा र अनुभबहरु सुनेपछि म आफूपनि संक्रमति भइसके भन्ने कुरामा मलाई पनि कुनै शंका रहेन।
किनकी अरुहरु र आफ्ना भोगाई, बुझाइ र शारीरिक दुखाइका अनुभुतिहरु समान थिए। त्यो कुरा मैले डिवी दाइ र मेनुकालाई सेयर गरें। जे भएपनि नआत्तिन ढाडस दिँदै मलाइ सम्झाउने प्रयास मात्र भयो।
त्यति वेलासम्म मेरोअवस्था झनजटिल र नाजुक बनिसकेको अनुभूति हुँदै थियो। आफूलाई पनि अब हस्पिटल भर्ना चाहिँ हुनु नै पर्छ होलाजस्तो लागेको थियो। दिनभरीको भोको पेट, तनाव र छटपटीको बीचबाट हस्पिटल वेडको निम्ति डिबी दाइले चिनेजानेका साथी भाइ र आफन्तसँग सम्पर्क गर्नुभयो। मैलेपनि हात लर्बराउँदै भएपनि सकिनसकी थुप्रै कलहरु गरे तर कहिकतै वेडपाउन सकिएन।
वीर हस्पिटलको डाक्टर, मेरो प्यारो भाइ महेश गिरीलाई कल गरे तर सम्पर्क हुनसकेन वीर हस्पिटलकै डक्टर आत्मीय मित्र एकनाथ तिमिल्सिनालाई कल गरें। उहाँ आफैं संक्रमित भएर घरमै उपचार प्रकृयामा रहनु भएको जानकारी पाए। उहाँको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना भने मैले पनि।
वीर हस्पिटलमा खाली वेड पाउन चाहिँ मुस्किलनै छ, भुईंमा बसेर उपचार गर्ने हो भने म भनिदिन्छु भन्नुभयो। वीर हस्पिटल त्यसमा पनि भुईँमा लम्पसार परेर उपचार गर्नुपर्ने अबस्था? हैट! अँह त्यो त झन् उचित लागेन मलाइ।
बरू त्यही सिभिल हस्पिटलको कमाउण्ड भित्र म्याटिसमाथि पल्टिएर ह्याप्याक-ह्याप्याक गर्दै, जिन्दगीको अन्तिमक्षणमा मृत्युसँग संघर्षगर्दै छटपटाइ रहेका विरामीकै लाइनमा आँफूपनि लम्पसार परौ जस्तो भइसकेको थियो मेरोपनि बास्तबिक अबस्था चाहिँ!
सामान्य नागरिकहरुको निम्ति सस्तो
र सहज हुने भनिएका सरकारी हस्पिटलहरु पनि त्योबेला उच्चपदस्थ अनि राज्यसंयन्त्रमा पहुँच पुर्याउने र हालिमुहाली गर्नसक्ने हुनेखाने र टाठा–बाठा व्यक्तिहरुकै नियन्त्रण भित्र थिए र उनिहरुकै सोर्सफोर्स र हालीमुहाली चल्दथ्यो, ती सरकारी स्वास्थ संस्थामा पनि। मेरो जिन्दगीमा थुप्रै पटक हस्पिटल आउ–जाउ,र बसाई सम्बन्धी लामो अनुभवले पनि त्यही तितो यथार्थतालाई बताउँथ्यो।
करिब ४ दशक लामो राजनैतिक-सामाजिक जीवन अनि त्यसभित्रको पनि अढाइ दशक सम्मको उथल–पुथलकारी सकृय राजनैतिक जीवन यात्राको प्रकृयामा पनि जीवनको अन्तिम अबस्थामा राज्यद्वारा संचालित सरकारी हस्पिटलको एउटा बेड पाउने पहुँच सम्मपनि बनाउन नसकेको आफ्नो राजनैतिक र सामाजिक जिन्दगीप्रति नमिठोगरी टिठलाग्यो मलाइ। धिक्कार छ,यो जिन्दगीलाई!
अनि खेद ब्यक्तगर्न मन लाग्यो हाम्रो मुलुकको प्रकृया र पद्धतिप्रति पनि! दलाली, चाकरी, चाप्लुसी, घुर्की, धम्की र बार्गेनिङको गलत बिधि र प्रकृयाबाट समाज र देश चलिरहेको अत्यन्तै अस्वाभाबिक अबस्थामा सामान्य नागरिकहरूले त त्यो वेला हस्पिटलकोवेड केबल मनले सम्झिने मात्र त हो नि।
केही समयको पर्खाइपछि साथीले दैनिक २४-२५ हजार पर्ने प्राइभेट हस्पिटलको एक दुईवटासम्म वेड खाली भएको र छिट्टो नगएमा त्यही पनि उम्किने जानकारी गराउनुभयो। त्यो सूचना पाएपछि मैलेपनि एकछिन सोचें, मनमनै हिसाब गरें। कति दिन हस्पिटल बस्नुपर्ने हो? थाहा छैन।
त्यो उपचार प्रकृयाले ज्यान तरलाग्ने हो कि हैन? त्यो पनि थाहा छैन। ज्यान अस्पतालमा भर्ना भएपनि कति दिनसम्म जीवित रहनसक्ने हो ? त्योपनि अन्दाज छैन। समग्र उपचार प्रकृयाको त्यो अनुमानित खर्चको हिसाब त मेरो आफ्नो प्राणभन्दा पनि महँगो लाग्यो मलाइ। बाच्न त के बाचिएला र? आखिर मर्नै पर्ने भएपछि बरु अब कोठा तिरै मर्दापनि त होलानि !?; मेरो अन्तरहृदयले त्यसै भन्दै थियो।
निर्दोष र निहत्था नेपाली जनताको प्राँणसँग आफ्नो दीर्घ जीवन साट्नेलाई, राज्य कोषमाथि ब्रम्हालुट गरेर आँफू मस्त जिन्दगी बाँच्नेलाई, अनि श्रमजिबी जनताको पसिनाका थोपा–थोपामाथि अट्टाहाँसो हाँस्नहरुलाई, जनताको समवेदनाले कहाँ छुन्थ्यो र? संक्रमित विरामीहरुको चिसो भुईँ माथिको अन्तिम छटपटीले पनि किन दुख्थ्यो र? सिभिल अस्पतालको छतमा चढेर छात्ती थिचेर मुट्टु मिच्दै-मिच्दै चिच्याएर, त्यही कुरा भन्न मनलाग्यो मलाइ। तर अफसोच….. !
बल्ल तल्ल स्वावसंकलनको पालोआयो। मुश्किलले स्वाव दिइयो। हस्पिटलको काम सकिएपछि वेलुकातिर कोठा फर्कियांै। थप सल्लाह गर्यौं। सबै अवस्थालाई विचार गर्दा होम आइसोलेसन नै मेरो निम्ति उपयुक्त लाग्यो। नानीहरु कृष्ट्रिना र कृतिकालाई मामाले आफूसँगै च्यापेर मामाघर लैजाने र म त्यही रुममा नै बस्ने निर्णय भयो।
भोलिपल्ट रिपोर्ट आयो। रिपोर्टमा रक्त अल्पता, टाइफाइट अनि पीसीआर रिपोर्ट अनुसार, १६ प्वाइन्ट भोल्यूमको कोभिड पोजेटिभ देखियो। मेरो रिपोर्ट हेरिसकेपछि डाक्टरहरुको टिम पनि आत्तियो। अर्को बिरामीको मृत्यु भइसकेपछि बेडपनि खाली भएछ र मलाइ पुन हस्पिटलमै भर्ना गरेर राख्न खोजियो।
तर बेड भर्ना भएर हस्पिटल बस्न अब चाहिँ मेरो पनि मन मानेन! किनकि हस्पिटलको बसाइ मेरो अनुकुल पनि थिएन। तर घरमापनि निरन्तर डाक्टरको निगरानीमा चाहिँ रहनु पर्ने सहमति गरेर ज्युँदो लास जस्तै जिन्दगीलाई जबर्जस्ती रोमतिरै हुत्याइयो।
हुन त म हमेसा शारीरिक रूपले अस्वस्थ मान्छे नै हो। करिव आधा दर्जन शारीरिक समस्याको संयुक्त कुम्लो बोकेर वर्षौंदेखि जीवन मरणको संघर्ष गरिरहेको अनुभूति ताजै छ।
जेहोस ती सारा समस्यासँग जुध्दै, दश वर्षे जनयुद्धको आँधिमय यात्राको क्रममा राति कटुन्जेको भिरबाट लडेर झण्डै मर्दा होस वा गणतन्त्र प्राप्तिको निम्ति पूर्वीपहाडहरुमा हरक्षण आगोसँग खेल्दा, जिन्दगीले थुप्रै दुख, कष्ट र हैरानीहरु सहदै, थुप्रै पटक मृत्युलाई नजिकबाट सुम्सुम्याइ सकेको थियो।
काललाई पनि धेरैपटक जितिसकेको थियो। कैयौं पटक त मृत्युसँग अकंमाल गरेर मुस्किलले फुत्किएर आएको नाफाको जिन्दगी पनि हो यो। त्यति मात्र हैन वर्ग संर्घष र त्यस भित्रका थुप्रै अन्तर संघर्षहरुमा सयौं हण्डर र ठक्करलाई वेर्होदै, सहदै, सयौं चोट र पीँडालाई पचाई सकेको जिन्दगी पनि हो यो।
त्यसैले पनि मसँग हदैसम्मको सहन सक्ने ताकत अनि धर्यतापनि रहेछ अनि अझैपनि छ र रहिरहने छ। चाहे छात्तीभित्र अझैथुप्रै गहिरा चोटहरु लागुन् वा अझ बढी भाबनात्मक रुपमा मुट्टु निचरिने खालका पीडाको सामना गर्नुपरोस्।
या त आफ्नो शरीर पूरै आगोमा जल्दै गरोस् ! मैले साहस र धैर्यतालाई गुम्न दिइन। मनोविज्ञानलाई कतिपनि खुम्च्याइन्। अनि पल–पल लडिरहे,त्यो असह्य पीडा, ह्रीदयभित्रको असैह्य बेदना अनि जीवनको
त्यो अन्तिम क्षणसँग, उच्चसाहस र मनोविज्ञानका साथ!
समय बित्दै गयो। आफूले ओढेको पातलो ब्ल्याङकेटले पनि शरीरलाई नमिठो गरी दुखाइरह्यो। श्वास प्रश्वासमा गम्भीर समस्या देखिँदै गयो। निरन्तर डाएरिया, ज्वरो, छाती फुटिहाल्ला अनि प्राणपखेरु नै उम्किहाल्लाकि जस्तो खोकी र दुखाई लगायतका समस्याले खपिनसक्नु पीडा हुन्थ्यो। मानौ म आफू सुतीरहेको वेड, आगोको भुङ्ग्रो हो। अनि म सुतिरहेको बेडआफैं जलिरहेको चिता पनि हो र म आफू आगोको भुङग्रोमा जलीरहेको छु!
त्यो बेला मैले प्रत्येक सेकेन्ड,सेकेन्डको समय नाप्न÷सम्झिन थाले ताकी यो सेकेन्ड सम्म त जीवितै रहेछु, तर अब अर्को सेकेन्ड र अर्को मिनेटसम्म चाहिँ बाँच्न सकिने भइएन भन्ने आफैंलाई लागिरह्यो।
सायद सापेक्षताको सिद्धान्त भनेकोपनि यही हुनुपर्छ। महान बैज्ञानिक अल्बर्ड आइन्स्टाइनले प्रतिपादन गर्नुभएको, ‘थ्यौरी अफ रेलेटिभिटी’ अर्थात् सापेक्षताको सिद्धान्त र त्यसको परिभाषा,व्याख्यालाई पुनःएकपटक सम्झन मनलाग्यो मलाइ!
फोक्सोले अक्सिजन लिन र आवश्यकता अनुरूप फिल्टर पम्पिङ गर्न नसकेपछि स्वास फेर्न नसकेर हिरिक–हिरिक हुनेगरी खोकी लाग्ने र स्वास फेर्नपनि नसकिने रहेछ। अब चाहिँ झन् बाँचिएला जस्तो हुन छाड्यो। ए बा !
यतिसम्मकि पातलो दाल र गेडागुडीको रसपनि निल्न नसकेर हिरिक्क हिरिक्क भएर प्राणनै जानेगरी खोकी आउँदा, मलाइ स्याहार गर्ने जीवनसाथी मेनुकापनि कचौरालाई टेबलमै छाडेर दौडिएर पल्लो कोठाको कुनामा गएर घोप्टिएर डाको छोडेर रुने गर्थिन्।
उनलाई सम्झाउने मेरो तागत र आँटपनि पुगेन। बरु उनलाइ धित मरुन्जेल रुन र रुने अभ्यास गर्न दिन मन लाग्यो, किनकी निकट भबिष्यमै उनले सधैंको लागि रुनुनै पर्ने भइसकेको थियो मेरो अबस्था पनि।
म त जीवनको अन्तिम अबस्थामा केबल धुकधुकीको रक्षाको निम्ति अनवरत रुपमा कालसँग पौठेजोरी खेलिरहेको थिएँ। अक्सिजन सिलिण्डरको खोजी गरियो। त्यो बेला अक्सिजन सिलिण्डरहरु पनि र डन माफियाकै पहुँच र नियन्त्रण भित्र हुन्थे। बजारमा चाहिँ अक्सिजन सिलिण्डरको अभाव र हाहाकार थियो।
तैपनि डिवी दाइले ठूलो मेहेनेत र लामो प्रयास गरेर एउटा ठूलो सिलिण्डर अक्सिजन लिएर रामलखनजी र दाइ आइ पुग्नुभयो। राम लखन ख्यातिप्राप्त मिस्त्री पनि हो। धेरै मेहनत गरेर लखनले सिलिण्डरमा पाइप र माक्स फिट गर्नुभयो।
नाकमा अक्सिजन माक्स लगाएपछि स्वास फेर्न धेरै सजिलो र सहज भयो। ताकि नयाँ जीवन प्राप्त गरेको अनुभूतसमेत भयो। वाव! अब त क्रमशः आफ्नै जिन्दगीको धुमिल आकृति आफ्नै आँखा अगाडि नाच्न थाल्यो।
त्यो बेला सामाजिक सञ्जाल र आमसञ्चारका माध्यममा भाइरल भइरहेका कारुणिक र हृदय विदारक दृष्य र चित्कार, जस्तै आधा लिटर अक्सिजन देउ सरकार, मेरो बिरामी ‘प्यासेन्ट’ कोल्याप्स हुन लागिसक्यो! भन्ने स्वास्थ्यकर्मीको चित्कारले जो कसैकोपनि अन्तर हृदय चर्किन्थ्यो।
आफ्न्तको अन्तिम अबस्था भइसकेपछि उसलाई बचाउने प्रयास स्वरुप संक्रमित विरामीको मुखमा आफ्नो मुख जोडेर अन्तिम स्वास दिएर उसलाई बचाउन खोजीरहेको दृश्यहरु, दुई चारसय रुपैयाँ मूल्य पर्ने औषधि खरिद गर्न नसक्दा अथवा हस्पिटलले मागे जति पैसा दिन नसक्दा आफ्नो प्यारो मान्छेको जीवन बचाउन नसकिएको विरामीका आफन्तको गुनासा, अनि बेड नपाएर, खुल्ला आकासमुनि हस्पिटलको कम्पाउण्ड भित्र चिसो भुईंमा विरामीको अन्तिम छटपटी र दर्दनाक चित्कारलाई देख्दा, सुन्दा र अनुभूति गर्दा मलाई आफ्नो दुखाइले भन्दापनि ती विभत्स र हृदयविदारक अभिब्याक्ति र दृश्यहरुले झन् बढी पोल्यो र दुखाइरहयो निरान्तर! अनि मेरो हृदयलाई पनि छिया-छिया बनाइरहयो। जे जस्तो अवस्थामा भएपनि म आफू त आफ्नै वेडमा मृत्युसँग जुध्दै थिए।
ती दर्दानक रुपले अन्तिम अबस्थामा छटपटाइरहेका बिरामीलाई गम्लङ्ग अँगालोमा हालौं र उनीहरुको अँगालोमै बेरिएर जीवनको अन्तिम अबस्थाको उही पीडा, उस्तै छटपटी अनि ती समान भोगइलाई अन्तिम पटक एकापसमा साटासाट गरौं जस्तो लाग्यो मलाइ। तर अफसोच ! मलाई त्यो छुट थिएन र अवस्था पनि थिएन।
त्यत्रिमात्र हैन, एउटै शव वाहनमा दर्जनौ संक्रमितको मृत शरीर ‘शव’ रु दाउराको खलियो जस्तै खात लगाएर दाहसंस्कारको निम्ति घाटतर्फ लैजादै गरेको दृश्यहरु, आफन्तको शव जलाउन नसकेर उखुका बोक्राहरु दाउराको रुपमा खोसाखोस गरीरहेको दृश्यहरु, जलिन पनि नपाएर लाइनमा रहेका दर्जनौं शव अनि दर्जनौं शवलाई एउटै चिहानमा थुप्रोलगाएर जलाउँदै गरेको दृश्यहरुले मानवीय मनोविज्ञान र भावनामा नमिठो चोट र नकारात्मक असर पारिरहेको थियो।
र मेरो पनि हृदयलाई छिया छिया बनाइरहेको थियो। यस्ता हृदयविदारक दृश्य र परिघटना देख्दा पनि कैयन् संक्रमति तथा विरामी मनोवैज्ञानिक रुपमा आधाभन्दा बढी त उसै आफैं मरिसकेका हुन्थे। तर मैले ती कारुणिक एवं हृदयविदारक दृश्यहरुलाई जवरजस्त सहिरहेँ अनि पचाइरहेँ।
रिफ्रेस हुन गीत संगीत र विशेष गरी उर्जाशिल जनवादी गीतहरु सुनिरहेँ, जुन गीत संगीतले मलाई हर क्षण उर्जा दिइरहन्थ्यो। मन भुलाइ रहन्थ्यो। अक्सिजन पाएपछि फोक्सोले पनि राहात पाएछ क्यारे, स्वास प्रस्वासमा अलि सहज भयो र क्रमिक रूपमा मृत्युलाई जित्दै नयाँ जीवनको धुमिल आकृति आँखा अगाडि सल्वलाउन थाल्यो। यद्यपि शारीरिक पीडा, दुखाइ, डाइरिया र अन्य समस्याहरु चाहिँ लामो समय सम्म रहीरह्यो।
समग्रमा मैले अनुभूति गरेको कोभिड वास्तवमा औषधिले भन्दा पनि मनोवैज्ञानिक उपचार तथा संक्रमितहरुको उच्च आत्मबल र आफ्नै घरको तातो, रसिलो, झोलिलो, पोसिलो खाध्य पदार्थको सेवन नै महत्वपूर्ण खुराक र औषधि रहेछ भन्ने अनुभूत भयो। ताकी आफ्नो डक्टर आफैंहुन सक्ने थुप्रै संक्रमित बिरामी बाच्न सफल भए भने थुप्रै बिरामीहरु आत्तिएरपनि बढी मानबिय क्षति भएको हो कि भन्ने मेरो अनुमान रहयो।
विभिन्न संघसंस्था तथा सरकारी निकायको हेराइ र बुझाइ हरुलाई मध्यनजर गर्ने हो भने उच्च पद प्रतिष्ठा र सुविधा सम्पन्न महलहरुको माथिल्लो उचाइबाट हेर्दा देखिने, बुझ्ने र अनुभूति गर्ने कोभिड-१९ तथा दूरदराजका बस्तीहरु, अनि गाँउबस्ती,सडक र सडक छेउका निरीह झुपडीले अनुभूत गर्ने कोरोनाको वीचमा आकाश जमिनको फरक थियो।
यदि म आफूपनि आत्तिएर हस्पिटल भर्ना भएको भए सम्भवत म पनि सिलप्याक भएर उतै पुग्न सक्थे होला,जहाँ ती विभत्स दृश्यहरु आखाँ अगाडि देखिरहन्थे। मेरो अन्तर्मनले त्यही भनिरहेको थियो। तर जेहोस क्रमिक रूपमा करिव ५०÷५५ दिन पछि तुलनात्मक रुपमा ठिक भयो। तर लामो समयसम्म त्यसको असर चाहिँ बाँकी रहिरहयो।
अन्तमा मृत्युको प्रवाह नगरी त्यो बेला मलाई चपक्क च्यापेर हस्पिटलसम्म पुर्याउने र अहोरात्र खोजेर २ वटा ठूला-ठूला अक्सिजन सिलिण्डरहरु उपलब्ध गराउनेदेखि अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने डिवी बस्नेत दाइ, हरेक जोखिम मोलेर प्रत्येक क्षण हेरविचार गरीरहने जीवनसाथी मेनुका लगायत विभिन्न तह र तरिकाबाट उपचारमा संलग्न फ्रन्टलाइनका डक्टरहरू, नर्स दिदी बहिनीहरुलगायत महत्वपूर्ण सुझाव, सल्लाह र सुवेक्षा सहित बाँच्नको निम्ति निरन्तर आँट र हौसला दिएर मलाइ नयाँ जीवन प्रदान गर्न निरन्तर प्रेरणा दिइरहनु हुने साथीभाइ र आफन्तजनलगायत सबै-सबैलाई हृदयदेखि नै धन्यबाद दिँदै हार्दिक नमन गर्न चाहन्छु!
Facebook Comment