नयाँ गठवन्धन निर्माणले गणतन्त्रको असफलतालाई फेरि प्रमाणित गर्योः कमल थापा
काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले ठूलो तामझाम, आश्वासन र प्रतिवद्धता व्यक्त गर्दै(नेकपा) एमाले र नेकपा (माओवादी केन्द्र) ले गठन गरेको सत्ता गठवन्धनलाई चार महिनामा नै विस्थापित गर्दै नेपाली काँग्रेस र नेकपा (एमाले)ले नयाँ गठवन्धन निर्माण गर्नुले संघीय धर्मनिरपेक्ष गणतन्त्रको असफलतालाई फेरी एकपटक प्रमाणित भएको बताएका छन् ।
आज राप्रपा नेपाल काठमाडौं जिल्ला समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले नेपाली राजनीतिमा विद्यमान सत्ताकेन्द्रित फोहरी प्रतिस्पर्धा, भ्रष्ट प्रवृत्ति र अस्थिरता पुनः उजागर भएको समेत टिप्पणी गरेका छन् ।
नयाँ सत्ता गठवन्धन कुनै सिद्धान्त, नीति र जनादेशको आधारमा नबनेको भन्दै थापाले यो नितान्त सत्तास्वार्थ र भ्रष्टाचारको कार्वाहिबाट जोगिने रणनीतिको परिणाम मात्र भएको बताएका छन् । संसदका दुई ठूला दल मिलेर सरकार बनाउनु आफैमा विडम्वनापूर्ण भएको भन्दै थापाले यो संसदीय मुल्य र मान्यता विपरितको कार्य भएको समेत बताए ।
संविधान संशोधनको निम्ति नयाँ गठवन्धन बनाउनु परेको अमुर्त तर्क केवल सत्ता आरोहणलाई पुष्टि गर्ने निर्रथक वहाना मात्र भएको भन्दै थापाले नेपाली काँग्रेस वा एमाले दुवैले आजसम्म आफ्नो पार्टी निकायमा संविधान संशोधन वा पुनरावलोकनको बारेमा कुनै छलफल वा निर्णय नगरेको हुँदा यो नक्कली कुरा भएको समेत उनले बताए ।
केवल सतही सुधारले देशले भोग्नुपरेको संकटको समाधान हुन नसक्ने भन्दै थापाले देशलाई संकटबाट मुक्त तुल्याउने हो भने संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुर्नेमा जोड दिए ।
अहिलेको अवस्थामा सतही संविधान संशोधन होइन धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता वारे पुनरावलोकन गरि सवै नेपाली अटाउने हिन्दुराष्ट्र सहितको राजनीतिक प्रणाली निर्माण गर्न सर्वपक्षीय सम्मेलन वा ति बिषयमा जनमत संग्रहको आबश्यकता रहेको उनको कथन थियो ।
संविधान संशोधन चर्चाको निशानामा समावेशी र समानुपातिक मान्यता परेको भन्दै धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र यो संविधानको विकृति हो भने समावेशीता र समानुपातिक प्रणाली संविधानको सबैभन्दा सकारात्मक पक्ष भएको समेत थापाले बताए ।
चार महिनामा नै हठात र अप्रत्यासितरुपमा गठवन्धन र सत्ता परिवर्तन भएपछि भ्रष्टाचारले फेरी टाउको उठाउने मौका पाउने भन्दै थापाले नक्कली भूटानी शरणार्थी काण्ड, सुन तस्करी, गिरिबन्धु टि स्टेटको ब्रम्हलुट, ललिता निवास जग्गा कब्जा, टेरामेक्स काण्ड लगायतका भ्रष्टाचारका फाईलहरु अब दवाईने र भ्रष्टाचारीहरूलाई उन्मुक्ति दिईने आशंका बढेकोमा चिन्ता समेत ब्यक्त गरे ।
प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले सैद्धान्तिक बैचारिक पक्षको बारेमा ,डाक्टर बिष्णु भण्डारीले हिन्दुत्वको बारेमा तथा राजाराम बर्तौला ूचुनेलीूले नेतृत्व बिकासको बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा काठमाडौं जिल्लाका पार्टीका विभिन्न तहका १५० जनाको सहभागीता रहेको पार्टीले जनाएको छ ।
Facebook Comment