वर्तमानमा आफैंलाई गिज्याउने नेताहरुका विगतका अभिव्यक्ति

शरद रिजाल
२ साउन २०८१ १२:२२

काठमाडौं। भनिन्छ, राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन। यही उक्ति नेपालका सत्ता साझेदार र प्रमुख प्रतिपक्षी दल दुबैले आफूमा चरितार्थ गरेका छन्। उनीहरुले आआफ्नो स्वार्थसिद्ध गर्न सहकार्यमा प्रशंसा र प्रतिस्पर्धामा शत्रुताको नीति तय गर्ने गरेको देखिँदै आएको छ।

सहयात्री बनेको समयमा एक अर्कालाई देवत्वकरण गर्न पछि नपर्ने दलका नेताहरु राजनीतिक उतारचढावले अलगै कित्तामा पुगेपछि दानवीकरण गर्ने प्रचलन व्याप्त छ।

आफ्ना स्वाथपूर्तिका लागि राजनीतिक सौदाबाजीमा व्यस्त दल र तिनका नेताहरुले एक समयमा कटाक्ष गर्दै गम्भीर तवरले आरोपित गरेका नेताहरुको समयक्रममै रक्षा कवच बन्ने गरेको दृष्यले अहिले सामाजिक सञ्जाल रंगिएको छ।

एक अर्काका विरुद्ध कटुता प्रदर्शन गर्दै आक्रामक ढंगले प्रस्तुत भएका नेताहरुका सत्ता स्वार्थले राजनीतिक समीकरणको बदलाव पछि विगतमा आफूले लगाएको आरोपको आफैंले प्रतिवाद गर्नुपर्ने र उक्त आरोपले लज्जाबोध तुल्याउने अवस्थामा पुर्याएको छ।

कतिपय सन्दर्भमा नेताहरुद्वारा लगाइएका आरोपहरु राजनीतिक समीकरण बदलिए पछिका सहयात्री विरुद्ध पूर्ववत आरोपप्रति दृढ रहन नसकिने र प्रतिरक्षात्मक बन्दा विगतको आफ्नै अभिव्यक्तिको खिलाप उत्रनुपर्ने भएकाले नेताहरु मौनतापूर्वक प्रतिक्रियाविहीन हुनुपर्ने बाध्यात्मक अवस्थासमेत निम्तिएको छ।

गत २०७९ को निर्वाचनको परिणाम लगत्तै एमाले नेता एवं सांसद सूर्य थापाले आफ्नो पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाए आफूलाई अस्वीकार्य हु्ने र त्यस्तो निर्णय गरिएमा पार्टीमा नोट अफ डिसेन्ट लेख्ने बताएका थिए।

उनको यस प्रकारको सार्वजनिक अभिव्यक्तिको केही दिनमै प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए। सांसद थापाले त्यसपछि कुनै प्रतिक्रिया जनाएनन्। एमालेले प्रधानमन्त्री बनाउने निर्णय नगरेको र प्रचण्ड आफैं प्रधानमन्त्री पदका लागि बालकोट पुगेको भन्दै आफ्नो बचाउ गरेका थिए।

यही असार १७ गते समीकरण बदलिएपछि सदनमा केही समय अघि एकअर्कालाई भ्रष्टाचारको आरोप लगाएका प्रमुख दलहरु अहिले सत्ताका सहयात्री बनेका छन्। सोही दुबै दलका नेताहरुद्वारा लगाइएका गम्भीर आरोपहरु अहिले सामाजिक सञ्जालमा छरपष्ट भएका छन्।

निवर्तमान गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री गगन थापामाथि गम्भीर आरोप लगाएका थिए। उनले मुलुकको सूचना बेच्ने जस्तो राष्ट्रद्रोही आरोप थापामाथि लगाएका थिए।

यद्यपि उनले आफू शक्तिशाली गृहमन्त्री भएर पनि उक्त आरोप प्रमाणित गरेर दण्डित गर्ने कुनै प्रयत्न गरेनन्। फगत आरोपका लागि आरोप मात्रै लगाए। भविष्यमा यी दुबै नेताहरुबीच सहकार्य गर्ने अवसर आएमा यी आरोप आफ्नै लागि गलपासो बन्ने निश्चित छ।

तथापि उक्त आरोप लाग्ने र लगाउने दुबैले यसलाई गम्भीरतापूर्वक नलिएर सहज रुपमा लिँदै कुनै दिन सहयात्रा गरे अनौठो मान्नु पर्दैन। किनभने नेपाली राजनीतिमा यस्तो आरोप लगाउने प्रवृत्तिलाई सामान्य मानिँदै आइएको छ।

यस्तै केही समय अघि एमाले नेता महेश बस्नेतले कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी नवनियुक्त मन्त्री आरजू राणा देउवामाथि गम्भीर आरोप लगाएका थिए। उनले भ्रष्ट लेडी भन्दै आरोपित गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

बस्नेतले आरोप लगाए जस्तै राणा भ्रष्ट नै हुन् भने आफ्नै अध्यक्ष ओलीको रोजाइमा किन परिन्? र, उनलाई अन्तर्राष्टिय कूटनीतिक सम्बन्ध स्थापित गर्ने देशको महत्वपूर्ण मन्त्रालय दिएर सरकारमा सहभागिता गराइपछि त्यसको जिम्मेवारी एमाले स्वयम्ले पनि लिनुपर्छ।

अहिले आफ्नै पार्टी अध्यक्षको क्याबिनेटमा राणा परराष्ट्र जस्तो महत्वपूर्ण र संवेदनशील मन्त्रालयको बागडोर सम्हालेकी छिन्। ओलीको सत्ता सारथीका रुपमा उनी मन्त्रिमण्डलमा छिन्। अब विगतको आफ्नो आरोप बस्नेतलाई गलपासो सावित भएको छ।

नवनियुक्त  स्वास्थ्यमन्त्री रहेका प्रदीप पौडेलले पनि केही समय अघि गिरीबन्धु टिस्टेटको प्रसंग निकालेर एमालेलाई आरोपित गरेका थिए। उनले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गर्दै एमाले अध्यक्ष लक्षित गिरीबन्धु टिस्टेट प्रकरण छानबिन गरेमा सरकार नरहने चेतावनी दिएका थिए।

अहिले पौडेल आफैं एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका छन्। ओली सरकारमा सहभागी भएसँगै उनले अब गिरीबन्धुको विषयमा प्रश्न उठाउने नैतिक बल गुमाइसकेका छन्।

उनी अहिले त्यस विषयमा मौन देखिन्छन्। हिजो प्रतिपक्षमा हुँदा सुशासन पक्षधर देखाउन गिरीबन्धुको विषयमा उठाएर ओलीमाथि प्रहार गरेका पौडेल अहिले उनकै मन्त्रिमण्डलको सदस्य भएका छन्।

बिडम्बना आरोप लगाएर प्रमाणित गर्नु नपर्ने प्रवृत्तिबाट नेपाली राजनीति आक्रान्त छ। जतिसुकै गम्भीर आरोप लगाए पनि पुष्टि गर्न जरुररत नपर्ने हालसम्मैका घटनाक्रमले दर्शाएको छ।

प्रतिपक्षमा हुँदा सत्ता पक्षमाथि विविध प्रश्न उठाउने नेताहरु आफू सत्तापक्षमा पुग्दा ती ज्वलन्त विषयमा मौनता साँध्ने र आफ्नो बचाउका लागि रक्षात्मक अभिव्यक्ति दिँदै आएको स्थिति विगतदेखि देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *