मधेश र केन्द्र : दुईतर्फी चेपुवामा उपेन्द्र
काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार विस्थपित गर्दै कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बन्दा सबैभन्दा पहिला स्वागत गर्ने दल थियो, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)। प्रचण्ड सरकारबाट पेलानमा परेका उपेन्द्र प्रचण्डको बर्हिगमन हुँदा उत्साहित बनेका थिए।
र, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेका यादव यतिबेला भने प्रदेशदेखि केन्द्रसम्म नै चेपुवामा परेका छन्।
प्रधानमन्त्री ओलीले सोमबार शपथ लिएर सरकारलाई पूर्णतासमेत दिइसकेका छन्। तर त्यो सरकारमा उपेन्द्र यादवको जसपा नेपाल सहभागी गराइएन। मधेस प्रदेशमा पनि उपेन्द्रको दल सरकार बाहिर छ। तैपनि जसपा नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बताएको छ।
त्यसो त उपेन्द्र यादवले आफूहरुले सरकारमा सहभागी हुनलाई विश्वासको मत नदिएको दाबी गर्छन्।
‘हामीले सरकारमा सहभागी हुने सरकारलाई विस्वासको मत दिएका होइनौं,’ अध्यक्ष यादवले डिसी नेपालसँग भने, ‘हामीले वर्षौंदेखि उठाउँदै आएको संविधान संशोधनको मुद्दामा उहाँहरु सहमत हुनुलाई हामीले सकारात्मक रुपमा लिएका छौं, संविधान संशोधनको एजेण्डामा हाम्रो सहमति हो।’
आफ्नो पार्टी विभाजनमा दक्षिणी छिमेकी भारतको हात रहेको जान्दा जान्दै र भारतकै सक्रियतामा बनेको वर्तमान गठबन्धन सरकारलाई भोट हाल्नुपर्ने बाध्यता उपेन्द्रलाई आइलागेको छ, त्यो पनि विना उपलब्धि। त्यही भएरै होला उनी प्रधानमन्त्री ओलीको शपथ ग्रहण चल्दै गर्दा बीचमै उठेर हिँडेका थिए।
त्यसो त उपेन्द्रलाई सरकारमा जानबाट रोक्न विभिन्न शक्ति सक्रिय रहेको स्रोतहरु बताउँछन्। जस्तो, मधेश प्रदेशमा उपेन्द्र यादवको प्रतिश्पर्धी मानिएको जनमत पार्टी प्रदेशदेखि केन्द्रसम्म उपेन्द्र यादवलाई रोक्न चाहन्छ।
त्यसैको प्रयास स्वरुप जनमतले केन्द्र सरकारमा आफूलाई मन्त्रालय नचाहिने तर आफ्नो नेतृत्वको मधेश प्रदेश सरकार बलियो बनाउनु पर्ने शर्त राखेको छ। जसप्रति प्रधानमन्त्री ओली सकारात्मक छन्।
ओली सरकारलाई जनमत पार्टीले पनि समर्थन गरेको छ, तर उसले केन्द्र सरकारमा भाग खोजेको छैन। केन्द्र सरकारमा उसको ध्येय जसपा नेपाललाई सरकारमा सहभागी हुनबाट रोक्ने हो। जससमा जनमत सफल पनि भएको छ।
दोस्रो, उपेन्द्रलाई चेपुवामा पार्ने उनकै पूर्वसहकर्मी अशोक राई हुन्। केही महिना अगाडि मात्रै संघीय परिषद अध्यक्ष रहेका अशोक राईले बहुमत सांसदसहित जसपा नेपाल विभाजित गराएर जसपा गठन गरेका छन्। जसलाई निर्वाचन आयोगले मान्यता दिएको छ तर, सर्वोच्च अदालतले निर्णय यथास्थितिमा राख्न आदेश दिएको छ। सो मुद्दा अहिले पनि सर्वोच्चमा विचाराधीन छ।
अशोक राई संघीय सरकारमा जसरी पनि उपेन्द्र यादवलाई रोक्न चाहन्छन्। राईको दलबाट वर्तमान सरकारमा दुई जना मन्त्री सहभागी भइसकेका छन्।
यसरी केन्द्रदेखि प्रदेशसम्म चेपुवामा परेका उपेन्द्रलाई वर्तमान सरकार ‘दिनभरीको सिकार…’ जस्तो भएको छ।
आफ्नो पार्टी विभाजनमा दक्षिणी छिमेकी भारतको हात रहेको जान्दा जान्दै र भारतकै सक्रियतामा बनेको वर्तमान गठबन्धन सरकारलाई भोट हाल्नुपर्ने बाध्यता उपेन्द्रलाई आइलागेको छ, त्यो पनि विना उपलब्धि। त्यही भएरै होला उनी प्रधानमन्त्री ओलीको शपथ ग्रहण चल्दै गर्दा बीचमै उठेर हिँडेका थिए।
संविधान संशोधनको एजेण्डामा समर्थन गर्न सकिन्छ भनेर वर्तमान सरकारलाई समर्थन गरेका उपेन्द्रलाई पनि संविधान संशोधन हुन्छ हुँदैन थाहा छैन। यदि भइहाल्यो भने उनले भनेको जस्तो संविधान संशोधन हुने अवस्था झन् के होला र!
‘संविधान संशोधनको आवश्यकता उहाँहरुलाई महशुस हुनु नै सकारात्मक विषय हो,’ उपेन्द्र भन्छन्, ‘जुन मुद्दा हामीले वर्षौंसम्म उठान गर्दै आयौं, त्यो एजेण्डामा कांग्रेस-एमाले आइपुग्नु पनि ठूलो कुरा हो।’
वर्तमान सरकारलाई समर्थन गर्नुको अर्को कारण पनि उपेन्द्रले खुलाएका छन्। ‘प्रचण्ड सरकारले जुन प्रकारको ताण्डव गरेको थियो, राज्य आतंक मच्याएको थियो, प्रधानमन्त्रीको कुर्सीमा बसेर म बाँचुञ्जेल उथलपुथल भइराख्छ भनेर अभिव्यक्ति दिएका थिए, उनको बहिर्गमन निश्चित थियो,’ उनी भन्छन्।
Facebook Comment