चियाले सुल्झायो थाइल्याण्डको होटलमा ६ जनाको मृत्यु भएको घटनाको रहस्य
काठमाडौं । थाइल्यान्डका प्रहरी अधिकारीहरुले बैंककको एक लक्जरी होटलको कोठामा साइनाइड मिसिएको पेय पदार्थ सेवन गर्दा ६ जनाको मृत्यु भएको बताएका छन् ।
मृतक मध्ये एकले चियाको कपमा विष मिसाएको हुनसक्ने प्रहरीको आशंका छ । विष मिसाउने व्यक्ति ऋणका कारण तनावमा भएको प्रहरीले जनाएको छ ।
थाइल्याण्डको राजधानी बैंककमा रहेको ग्राण्ड हयात इरावान होटलका कर्मचारीले मंगलबार राति ६ जनाको शव फेला पारेका हुन् । अनुसन्धानकर्ताहरूले उनीहरूको मृत्यु २४ घण्टाअघि भएको अनुमान गरेका छन्।
मृतक ६ मध्ये दुई जनाले अर्का मृतकलाई लगानीका लागि लाखौं डलर ऋण दिएको प्रहरीले जनाएको छ ।
मंगलबार शव फेला परेपछि मानिसहरुले अनुमान लगाउन थालेका छन् । धेरै रिपोर्टहरूमा, मृत्युको कारण फायरिंग भनिएको थियो। तर, पछि प्रहरीले यी समाचारलाई अस्वीकार गरेको थियो ।
थाई प्रधानमन्त्री श्रीता थाविसिनले मंगलबार होटलको भ्रमण गरी तत्काल छानबिन गर्न आदेश दिएका छन् । उनले यी मृत्युहरू ‘व्यक्तिगत मामिला’ भएको र राष्ट्रिय सुरक्षासँग कुनै सरोकार नभएको बताए।
तर मंगलबार हयात होटलमा के भएको हुन सक्छ भन्ने प्रष्ट तस्बिर अब देखिन थालेको छ।
बुधवार एक पत्रकार सम्मेलनमा शीर्ष बैंकक प्रहरी अधिकारी नोपासिन पुनसवतले भने – “छ जना व्यक्तिहरूले सप्ताहन्तमा विभिन्न समयमा होटलमा चेक इन गरेका थिए। उनीहरुलाई होटलको विभिन्न तल्लामा कोठा दिइएको थियो ।”
“यी सबै सोमबार होटल छोड्न गइरहेका थिए। मृत्यु हुनेमा चार भियतनामी र दुई अमेरिकी नागरिक रहेका छन् । भियतनामी नागरिकको नाम – न्गुएन फुङ (४६ वर्ष), हङ फाम थान (४९ वर्ष), थि न्गुएन फुओङ ल्यान (४७ वर्ष), दिन्ह ट्रान फु (उमेर ३७) हुन्।”
मृत्यु हुनेमा अमेरिकी नागरिक शेरिन चोङ (५६ वर्ष) र देङ हङ वेन (५५ वर्ष) थिए । अमेरिकी विदेश मन्त्रालयले यी मृत्युप्रति दुःख व्यक्त गर्दै अवस्थाको निगरानी गरिरहेको बताएको छ ।
यसैबीच, थाई प्रधानमन्त्री श्रीथा थाविसिनले अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले थाई अधिकारीहरूलाई अनुसन्धानमा सहयोग गरिरहेको बताए।
सोमबार दिउँसो सबै ६ जना पीडित होटलको पाँचौं तल्लाको कोठामा भेला भएको प्रहरीले जनाएको छ ।
यी मानिसहरूले खाना र चिया अर्डर गरे। दिउँसो २ बजे कोठामा खाना पुर्याइयो । त्यसबेला कोठामा अमेरिकी नागरिक शेरिन चोङ मात्रै थिए । उनले नै अर्डर रिसिभ गरे।
प्रहरीका अनुसार एक वेटरले पाहुनालाई चिया सर्भ गरिदिने प्रस्ताव गरे तर शेरिन चोङले अस्वीकार गरे । वेटरले अफिसरहरूलाई भनेअनुसार शेरिन चोंग “धेरै कम बोल्दै थिए र स्पष्ट रूपमा तनावमा थिए।”
खाना र चिया दिएपछि वेटर कोठाबाट निस्किए ।
त्यसपछि बाँकी समूह २ बजेदेखि २ः१५ बजेतिर कोठामा आयो। कोठामा उपस्थित ६ जना बाहेक त्यहाँ अरु कोही नपुगेको अनुमान गरिएको छ । कोठाको ढोका भित्रबाट ताला लगाएको प्रहरीले जनाएको छ ।
कोठामा जबरजस्ती प्रवेश गरेको वा लुटपाट गरेको कुनै संकेत नभेटिएको प्रहरीले जनाएको छ । प्रहरीले पछि छानबिन गर्दा पाहुनाले चिया लिएको कपमा साइनाइडको अंश रहेको पत्ता लगाएको थियो ।
प्रहरीले सार्वजनिक गरेको तस्विरमा कोठाको टेबुलमा खानाका प्लेटहरू देखिन्छन् । तीमध्ये कतिपय त खोलिएका पनि छैनन् ।
छ जना मृतकको होटल बुकिङमा सातौंको नाम पनि थियो । प्रहरीले उनी पीडितमध्ये एककी कान्छी बहिनी भएको बताएको छ ।
यी महिला गत हप्ता थाइल्याण्डबाट भियतनाम गएकी र यस घटनासँग उनको कुनै सम्बन्ध नरहेको प्रहरीले जनाएको छ ।
थि न्गुएन फुङ र होङ फाम थान्ह श्रीमान्–श्रीमती रहेको र सडक निर्माण व्यवसायमा संलग्न रहेको आफन्तले प्रहरीलाई बताए । दम्पतीले शेरिन चोङलाई जापानमा अस्पताल निर्माण परियोजनामा लगानी गर्न पैसा दिए।
भियतनामी सहर डा नाङमा बस्ने मेकअप आर्टिस्ट ट्रानले पनि सोही निर्माण परियोजनामा लगानी गरेको प्रहरीको आशंका छ।
ट्रानकी आमा टुयले बीबीसी भियतनामीलाई बताएअनुसार उनले शुक्रबार थाइल्याण्डको यात्रा गरे र आइतबार घरमा फोन गरेर उनी सोमबार त्यहाँ आउने बताए।
यो अन्तिम पटक उनले परिवारसँग सम्पर्क गरे। आमाले सोमबार फेरि फोन गरिन् तर कुनै प्रतिक्रिया आएन ।
ट्रानको एक विद्यार्थीले बीबीसी भियतनामी सेवालाई शेरिन चोङले थाइल्याण्डको यात्रामा ट्रानलाई आफ्नो व्यक्तिगत मेकअप आर्टिस्टको रूपमा लिएको बताए।
ट्रानको बुबा फुले भियतनामी मिडियालाई बताएअनुसार उनको छोरालाई एक भियतनामी महिलाले गत हप्ता थाइल्याण्ड जानका लागि काममा लिएको थियो।
थाइल्याण्डले ९३ देशका नागरिकलाई भिसा मुक्त प्रवेशको घोषणा गरेको केही समयपछि बैंककको एक होटलमा यी ६ जनाको शव भेटिएको हो । भिसा फ्री प्रवेशको उद्देश्य देशमा पर्यटन प्रवर्द्धन गर्नु थियो।
ग्रान्ड हयात बैंककको एक लोकप्रिय पर्यटक क्षेत्रमा स्थित छ। पछिल्ला वर्षहरूमा यस क्षेत्रमा धेरै हाई प्रोफाइल अपराधहरू भएका छन्।
गत वर्ष अक्टोबरमा सियाम प्यारागन मलमा एक १४ वर्षीय बालकलाई तीन जनाले गोली हानेका थिए । यो मल होटलबाट केही कदम टाढा अवस्थित छ।
होटलको ठीक अगाडि इरावानको बौद्ध मन्दिर पनि छ। यहाँ सन् २०१५ मा बम विस्फोटमा २० जनाको मृत्यु भएको थियो ।
मंगलबार थाइल्यान्डका प्रधानमन्त्रीले पर्यटकको सुरक्षाका लागि विस्तृत व्यवस्था मिलाइएको बताए ।
पर्यटन थाइल्याण्डको मुख्य आम्दानीको स्रोत हो र कोभिडपछि पर्यटनलाई ट्रयाकमा ल्याउने प्रयास भइरहेको छ ।
थाइल्याण्ड सधैं पर्यटकहरूको लागि मनपर्ने गन्तव्य भएको छ। तर अहिले यो देशले बढी खर्च गर्ने शक्ति भएका पर्यटकलाई आकर्षित गर्न खोजेको छ ।
साइनाइड एक तत्काल असर गर्ने, घातक रसायन हो जसले शरीरको अक्सिजन प्रयोग गर्ने क्षमतालाई असर गर्छ।
तरल वा ग्यासको रूपमा यो रंगहीन र लगभग गन्धहीन हुन्छ, जसका कारण यसको उपस्थिति पत्ता लाग्दैन।
यसलाई कागज बनाउने, कपडा उद्योग र प्लास्टिक उद्योगमा पनि रसायनको रूपमा प्रयोग गरिन्छ।
सायनाइड प्राकृतिक रूपमा पनि केही बोटबिरुवा र फलफूलहरूमा पाइन्छ।
Facebook Comment