गोली हान्छु भन्ने मिलनले आफैं गोली खाए

डिसी नेपाल
२४ साउन २०७६ १३:५०

काठमाडौं। राजधानीको विजेश्वरीमा प्रहरीले गोली चलाएर पक्राउ गरेका लोप्साङ लामा भनिने मिलन तामाङले गोली हान्ने धम्की दिएर फिरौती मागेको खुलेको छ । गोली हान्ने धम्की दिएका मिलन अहिले भने आफैंले गोली खाएर पक्राउ परेका छन् । उनी गुण्डागर्दी र फिरौती असुलीमा संलग्न थिए ।

तामाङलाई पक्राउ गर्न खोज्दा भाग्ने प्रयास गरेपछि घुँडामुनी गोली हानेर पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी केदार ढकालले जानकारी दिए ।  ढकालका अनुसार घाइते तामाङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

मिलनले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्कालाई धम्क्याएर २ करोड फिरौती मागेका थिए । उनले फिरौती नदिए खड्काकी छोरीलाई गोली हान्ने धम्की दिएका थिए । खड्काले महानगरीय अपराध महाशाखामा उजुरी गरेपछि उनको खोजी भइरहेको थियो। महाशाखको टोलीले मिलनसँगै रहेका अमृत तामाङलाई नियन्त्रणमा लिएको छ। मिलन र अमृत लुटपाट र गुण्डागर्दीमा संलग्न रहेको एसपी ढकालले बताए। महाशाखाले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *