षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास-भाग २
जंगबहादुरको उदयदेखि रणोद्दीपसिंहसम्म
पृथ्वीनारायण शाह पछिको नेपालको राजनीतिको एक ठूलो कालखण्ड रानीहरूको हस्तक्षेप, राजाहरूको लहडीपना, युवराज तथा शहजादाहरूको मोजमज्जायुक्त जीवन र व्यक्तिगत स्वार्थ र उद्दण्डता र विभिन्न थरीका क्षेत्रीहरूको जातीय राजनीति र दबदबा, गुरुज्यु-पुरोहित, बाहुन र नेवार भारदारहरूको खुराफातपूर्ण क्रियाकलाप तथा केही हदसम्म तत्कालीन भारतमा शासन गरिरहेका बेलायतीहरूको स्वार्थले गर्दा पनि घृणित र षड्यन्त्रपूर्ण र रक्तपातपूर्ण रहन गयो।
राणाशासन छँदा आफ्नै दाजुभाइहरू बीच असमझदारी र शंकाको वातावरणले गर्दा विभिन्न खालको षड्यन्त्र भइ नै रह्यो।
युवराज र राजाहरूमा देखिएको सन्काहा र दिमागी असन्तुलनका लक्षण राजा पृथ्वीवीर विक्रम र राजा त्रिभुवनमा पनि केही हदसम्म देखिएको थियो भने युवराज दीपेन्द्र निकै उद्दण्ड स्वभावका थिए।
रानी राज्यलक्ष्मी पछि सूशुप्त हुन पुगेको पोथी बास्ने खेला रानी ऐश्वर्यमा देखिन पुग्यो र आखिर राजा वीरेन्द्रको अति भलाद्मीपना, रानी ऐश्वयको नचाहिँदो हैकम, हस्तक्षेप र ढिपी तथा दिपेन्द्रको सनक र उद्दण्डताको फाइदा उठाएर नै मुलुकभित्र र बाहिरका दुष्टहरूले उनैको हातबाट आजसम्मको सबैभन्दा खतरनाक हत्याकाण्डको खेल रचेर नेपालको यस्तो हविगत बनाइदिए।
आजको जमानामा भाले र पोथीको बास्ने हक बराबर भए पनि आधिकारिक रूपले कुनै पदमा पुगेर आफ्नो कार्यभार सम्हालिरहेका भाले या पोथीका जीवनसाथी वा अन्य नातागोताले भने पदधारण गर्ने व्यक्तिको सट्टामा बासेर हिँड्नु गैरकानुनी कार्य हुन जान्छ। तर आजको दिनसम्म पनि केही प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ व्यक्तिका पति–पत्नी, पुत्रपुत्री वा आफन्तहरूले बास्ने काम गरि नै रहेको देखिन्छ।
सन् १८४६ सेप्टेम्बर १४ मा कोतपर्वमार्फत नेपालको राजनीतिमा उदाएका त्यतिबेला २९ वर्षे जंगबहादुरको शासनकालदेखि १०४ वर्षसम्मको राणाशासनभर मुलुकमा विगतको पोथी बास्ने परम्पराले मौलाउने अवसर पाएन।
तर पनि जंगबहादुरले आफ्ना ४ दर्जन महारानीहरूमध्ये हिरण्यगर्भ देवी (ललित राज्येश्वरी र विष्णुदिव्येश्वरीकी माता) सँग परिआएको बेला साधारण सरसल्लाह लिने गर्दथे भने नन्दकुमारी-जगतजंग र जीतजंगकी माता), पुतली महारानी (बबरजंगकी माता), विष्णुकुमारी देवी-पद्मजंगकी माता) आदिसँग पनि सल्लाह-मस्वरा लिने गर्दथे।
सती प्रथा उन्मुलन गर्न तम्सिएका तर असफल भएका जंगका मन परेका रानीहरू मध्येका हिरण्यगर्भ देवी, पुतली महारानी र मिश्री महारानी उनीसँगै सती गए। भाइ बमबहादुरको असामयिक निधन हुँदा जंगबहादुरले बमबहादुरका पत्नीहरूलाई सती जानबाट रोकेका थिए।
तर आफ्नै मृत्यु भएपछि आफ्ना मन परेका पत्नीहरू सती गए। जंगबहादुर र उनीसँग सती जाने रानीहरूको चितामा उनका छोरा पद्मजंगले दागवत्ती दिएका थिए। यिनै पद्मजंगले पछि भारतमा निर्वासित जीवन बिताउँदा आफ्ना पिताको जीवनी ‘लाइफ अफ जंगबहादुर’ अंग्रेजी भाषामा लेखेर सन् १९०९ मा प्रकाशन गरेका थिए।
वास्तवमा जंगबहादुरले आफैं नेपालको राजगद्दीमा बस्न सक्ने अवसरलाई पटक पटक अस्विकार गरेर आफू प्रधानमन्त्री बनेको करिव १० वर्ष पछि भाइ बमबहादुरलाई प्रधानमन्त्री बनाई केही समय पछि आफू कास्की र लमजुङको श्री ३ महाराजको रूपमा रहेर मुलुकको सम्पूर्ण शक्ति आफ्नो हातमा लिएका थिए।
बमबहादुरले करिव १० महिना मात्र शासन गरे पश्चात् उनको मृत्यु भयो। केही समय अर्का भाइ कृष्णबहादुरलाई कार्यवाहक प्रधानमन्त्रीको पदमा राखेपछि जंगबहादुरले श्री ३ महाराज र प्रधानमन्त्रीको कार्यभार आफैं सम्हाल्न थाले।
त्यतिबेला जंगले सत्तामा नरहँदाको अवस्था, चाकरीबाजहरूले आफ्नो बाटो अर्को शक्ति केन्द्रतिर सोझ्याउन थालेको र बेलायती रेजिडेन्टसमेतको हेयको व्यवहार देखेर शक्तिमा हुँदा र नहुँदाको भिन्नताको अनुभव बटुल्न पाए।
जंगबहादुर प्रधानमन्त्री होउञ्जेलसम्म नेपालका प्रधानमन्त्री (बमबहादुर) कालगतिले मरेको यो पहिलो घटना थियो। नत्र सबै प्रधानमन्त्रीहरू पद छँदै मारिएका थिए। बमबहादुर पछिका साहिँला भाइ बद्रीनरसिंहलाई साहेबज्यू उपेन्द्र विक्रमसँग मिलेर जंगबहादुरलाई गोली हानेर मार्ने षड्यन्त्रका सहभागीहरूसँग मिलेको अभियोगमा भारतको जेलमा राख्नुका साथै पछि छुटेर आए पश्चात् पाल्पामा बस्ने बन्दोवस्त मिलाइयो र उनी प्रधानमन्त्रीको रोलक्रमबाट पनि वञ्चित भए।
यस अघि सन् १८५० जनवरी १५ मा बेलायत यात्रामा निस्कने बेलामा जंगबहादुरले आफ्ना माहिला भाइ बमबहादुर कुँवरलाई कार्यवाहक प्रधानमन्त्री र साहिँला भाइ बद्रीनरसिंहलाई कार्यवाहक कमाण्डर-इन-चीफको जिम्मेवारी दिएका थिए। पछि बद्रीनरसिंहका छोरा तथा नजिकका नातेदारले भित्र भित्र नरसिंह गुट खडा गरेका थिए।
भाइहरूलाई मुख्तियारीको रोलक्रम सुम्पिएको भए पनि राजाकी छोरीसँग बिहे गरेका तथा निकै धनवान उनका जेठा छोरा जगतजंगले बुवा पछि श्री ३ महाराज हुने र धीरशमशेर पछिको प्रधानमन्त्रीको रोलक्रमसमेत पाएकाले उनको फुर्ती र रवाफ निकै बढेको थियो।
यो सब कुरा र जंगबहादुरकी छोरीहरूको युवराजसँग बिहे भएको कुराले जंगका भाइहरूले बाहिर खासै प्रतिक्रिया नदेखाएका भए पनि कान्छा भाइ धीरशमशेरका १७ भाइ छोराहरूमा यस्ता कुराले इश्र्या जगाएको थियो।
दरवारका बाठा पुरोहित र भारदारहरू त्यतिबेला पनि सुलसुले झैं अशान्ति मच्चाउन व्यस्त छँदै थिए भने तत्कालीन बेलायती रेजिडेन्टहरूको कुटिल क्रियाकलापमासमेत कमी आएको थिएन।
त्यसैले सतही रूपमा सबै ठीक भइरहेको जस्तो देखिएको त्यो बेलाको राजनीतिमा भित्र भित्र अर्को भयंकर रक्तपातको तयारी भइरहेको थियो र यसमा जंगबहादुरका छोरानातीको मोजमज्जाको जीवनशैलीले समेत उर्जा प्रदान गरिरहेको थियो।
जंगबहादुरले बेलायतको यात्रा गरेर र भारतमा भएको सिपाही विद्रोहलाई आफैं गई दबाएर र शिकार कुटनीतिको माध्यमबाट पनि बेलायतलाई खुशी तुल्याएर आफ्नो सत्ता जोगाउन र मुलुकको अश्मिता बचाउन धेरै काम गरेका हुन्।
यस अघि भीमसेन थापाले फ्रान्ससँगको आफ्नो विशेष सम्बन्धका कारण बेलायतीसँग नझुकेर युद्धमा जाने निर्णय गरे वापत नै नेपाल खुम्चन पुग्नुका साथै उनि विरुद्धको धुर्त फिरंगीको षड्यन्त्र नेपालको दरवारभित्र समेत पसेकोले उनको तख्ता पल्टेर ज्यादै दुखद निधन हुन पुग्यो।
वास्तवमा बेलायतीहरूको राजनीतिक षड्यन्त्र त्यतिबेलादेखि नै नेपालको दरबार र शासकहरूमा पर्दै आएको थियो। भनिन्छ, जंगबहादुरको कोपभाजनमा परेका बेलायत विरोधी गगनसिंह भण्डारी र फत्तेजंग शाहको हत्यामा समेत बेलायतीहरूको हात थियो।
यदि यो कुरा सत्य हो भने के जंगबहादुरले कोतपर्व रच्दा समेत कहीँ बेलायती रेजिडेन्सी र उनी बीच भित्री साँठगाँठ त भएको थिएन? नत्र कोतपर्व हुने समयमा यानी मध्यराति हतार हतार लैनचौरस्थित रेजिडेन्सीमा निकै सस्तो भएर पुगेका राजा राजेन्द्रलाई त्यहाँका गोरा अधिकारीहरूले नभेटिकनै किन फिर्ता पठाएका होलान् र कोतपर्वको लगत्तै पछि बेलायतीले किन जंगबहादुरलाई दूतावासमा नै भेटेर सहजै मान्यता दिएका होलान्।
नेपालमा पहिलो पटक जनगणना र नापी गराउने तथा सिमास्तम्भ राख्न शुरु गरेका जंगबहादुरले वनजंगलको संरक्षणमा बोल्ने र कानुन बनाउने प्रथम शासक, दैवीप्रकोपको सामना गर्न कोष खडा गर्ने व्यक्ति, विभिन्न खालका सामाजिक कानुन बनाउन तथा सती प्रथा हटाउन लागि परेका मानिस र मुलुकी ऐन लागू गर्ने व्यक्ति बन्ने कुराको पनि सौभाग्य पाए।
त्यतिबेला नेपालको जनसंख्या करिव ९४ लाख जति थियो। कूटनीति अन्तर्गत उनले बेलायतलाई देखाउनको निम्ति नै भए पनि जर्मनी र फ्रान्ससँग पनि सम्पर्क र सम्बन्ध राखीरहेका थिए। पछि बेलायतको भ्रमण सक्ने वित्तिकै उनी उतैबाट फ्रान्सको भ्रमणमा गएका थिए।
बेलायत यात्राबाट प्रभावित भएर आफ्ना सन्तानले राम्रो शिक्षा पाउन् भन्ने हेतुले उनले थापाथली दरवारभित्रै दरवार स्कूलको स्थापना गरे भने लेडिज कोर्टको पनि शुरुवात गरे। यिनैको पालामा नेपालको वैदेशिक व्यापारको आधिकारिक तवरमा शुरुवात भयो।
जंगबहादुरले ३० वर्ष शासन गर्दा नेपालमा त्यो भन्दा पहिलेको दाँजोमा शान्ति निकै नै छाएको हो भने यिनले धेरै नयाँ कुराहरूको थालनी पनि गरे। उनलाई हटाउन पटक पटक राजा राजेन्द्रदेखि भाइभारदारबाट समेत षड्यन्त्र नभएको होइन। राजा राजेन्द्रलाई उनले बाँकी जीवन भक्तपुर दरवारमा एक्लै बसेर बिताउने गरी नजरबन्दमा राखेका थिए र पछि त्यहीँ उनको मृत्यु भयो। जंगबहादुर माथिको कुनै पनि षड्यन्त्रले सफल हुने अवसर पाएन।
उनको निधनपश्चात् श्री ३ महाराज बनेका रणोद्दीपसिंहलाई भाइ धीरशमशेरको ठूलो आड र भरोसा मिलेको थियो। तर धीरका छोराहरू भने ठूलो बुवा रणोद्दीप र आफ्ना बुवा धीरशमशेरको शासन पश्चात् जसरी भए पनि नेपालको शासनसत्ता जगतजंगमा नगई आफूहरूमा आउनु पर्ने आकांक्षाका साथ भित्र भित्र तयारी गर्दै थिए।
सन् १८७७ फेब्रुअरी २५ तारिखका दिन काठमाडौँ उपत्यकाभन्दा बाहिरको मधेशमा पर्ने पत्थरघट्टाको जंगलमा ५९ वर्षको उमेरमा जंगबहादुरको निधन भयो। उनको निधनको खवर प्राप्त हुने वित्तिकै जंगका भाइ रणोद्दीपसिंह, जगतशमशेर र धीरशमशेरले गोप्य सल्लाह गरी दाजु जंगबहादुरलाई सञ्चो नभएको भन्दै जंगका छोराहरूलाई साथमा लिइ धीरशमशेर पत्थरघट्टातिर लागे।
उता राजा सुरेन्द्रको दस्तखतसहित रणोद्दीपसिंहलाई श्री ३ महाराज र प्रधानमन्त्री बनाइयो। बाटैमा बुवाको निधनको खवर पाएका जगतजंग आफ्ना बाबुको उत्तराधिकारीको रूपमा श्री ३ महाराज बन्न काठमाडौँ पुग्दा श्री ३ र प्रधानमन्त्रीको दुवै पद काका रणोद्दीपसिंहले पाएको कुरा थाहा पाएर छक्क परे।
यसरी जंगबहादुरका बाँकी रहेका भाइहरू जगतशमशेर, रणोद्दीपसिंह र धीरशमशेरले नेपालको सत्ता जंगको छोराको हातमा तत्काल जान नदिएर आफ्नो हातमा पारेपछि जगतजंग निकै क्रुद्ध र विक्षिप्त हुन पुगेका थिए।
रणोद्दीपसिंह दोस्रो श्री ३ महाराज र प्रधानमन्त्री भए पनि मुलुकको खास सत्ता सञ्चालन धीरको हातमा थियो। धार्मिक स्वभावका रणोद्दीपको दिनचर्या गाँजा खान र पिपलको पातमा राम नाम लेख्नमा नै बित्दथ्यो। उनका रानीहरूमध्ये सबैभन्दा मन परेकी माहिली रानी हरिप्रियादेवी उनलाई बेला बेलामा राजनीतिक सल्लाह पनि दिन्थिन्।
विगतका हत्याकाण्डमा मारिएका प्रधानमन्त्री तथा सेनाका अधिकृतहरू र शासनसत्ताबाट बाहिरिन वाध्य भएका साहेवज्यू तथा अन्य उच्च पदस्थ भारदारहरू भित्र भित्र सत्ता हात पार्ने षड्यन्त्रको जालो बुनि नै रहन्थे। जगतजंगको श्री ३ को पदवी पाउने पालो मिचिए पछि उनलाई सन्काएर उनको मन जित्ने र सत्ताप्राप्तिकाे षड्यन्त्रमा उनलाई सामेल गराउनेहरूको पनि कमी थिएन।
उता रोलक्रम खोसिएका बद्रीनरसिंहका सन्तान पनि जंग र शमशेरहरूसँग निकै रुष्ट थिए। यसरी विभिन्न गुटका भित्री षड्यन्त्रहरू जारी नै थिए र आफूलाई पायक पर्ने समयको पर्खाइमा थिए।
यसै बीच सन् १८८१ को डिसेम्बर महिनामा प्रधानमन्त्री रणोद्दीप सिंह जाडो छल्ने क्रममा शिकार खेल्न तराई गएको मौका पारी राजा पृथ्वीवीर विक्रम, प्रधानमन्त्री रणोद्दीप सिंह र प्रधान सेनापति धीरशमशेरको हत्या गर्ने र साहेबज्यू नरेन्द्र विक्रमलाई राजा, जगतजंगलाई श्री ३ र प्रधानमन्त्री र पद्मजंगलाई प्रधान सेनापति बनाउने उद्देश्यसहितको षड्यन्त्रको पर्दाफास भएपछि कार्यवाहक प्रधानमन्त्री धीरशमशेरले धरपकड गर्ने आदेश दिनुका साथै धेरै जनालाई गर्दन काटेर मृत्युदण्डको सजाय दिइयो भने कतिपयको सर्वस्वहरण गरेर डाँडा कटाइयो।
यो काण्डपछि जगतजंग माथिको विश्वास ह्वात्तै घट्न पुगेको थियो शमशेर दाजुभाइमा। जगतजंग त्यतिबेला आँखाको उपचारको निम्ति कलकत्तामा भएकाले उनलाई पक्रन बेलायती सरकारसँग लेखापढी गरियो र उनी उतैको कारागारमा कैदमा परे तर केही समय पछि उनी त्यहाँबाट भागेर नेपाल पस्न सफल भए।
नेपालको सेनाले उनलाई पक्रेर केही समय कैद गरेपछि रणोद्दीपसिंहकै आज्ञाले उनी उनकै मनोहरास्थित साततले दरवारमा नजरबन्दमा राखिए। उनको नाम रोलक्रमबाट पनि हटाइएको थियो।
केही समय पछि भने उनको हिमचिम श्री ३ रणोद्दीपसिंहसँग बढ्न थालेकोले शमशेर दाजुभाइहरू निकै सशंकित हुन थालेका थिए। यस्ता यावत षड्यन्त्रहरूमा मुख्य भूमिकाका साथ खुराफाती दिमाग चलाउने ब्राह्मणहरू नै हुन्थे तर ब्राह्मण हत्याको पापको डरले भने मृत्युदण्डबाट उनीहरू सधैँ बच्ने गर्दथे।
रणोद्दीपसिंह श्री ३ महाराज र प्रधानमन्त्री भएको २ वर्ष पछि नै प्रधानमन्त्रीको रोलमा रहेका जगतशमशेरको निधन भयो भने त्यसको ३ वर्षपछि यानी सन् १८८३ मा जंगका कान्छा भाइ धीरशमशेरको निधन भयो।
मधुमेहको उपचार गराइ रहेका धीरले एक दिन कालिजको मासु खाँदा उनको घाँटीमा हाड अड्कनाले घाउ हुन गई निको हुन नसके पछि यही बहानामा त्यो घटनाको केही महिना पछि नै उनको निधन हुन गयो।
रणोद्दीप पछि जंगबहादुरका अति विलासी र अहम्ले महिमत्त भएका छोरा जगतजंगमा सत्ता जाने कुरा कान्छा भाइ धीरशमशेरका अलिक विपन्न सत्र भाइ छोराहरूलाई सहन गर्न मुश्किल भइरहेको बेलामा बुवा धीरशमशेरको निधन भइ दिनाले उनिहरू टुहुरा जस्ता हुन पुगे र उनको सत्ता कब्जा गर्ने महत्वाकांक्षा झनै बढ्न थाल्यो।
त्यसैले आफ्ना सहोदर काका प्रधानमन्त्री रणोद्दीप सिंहको हत्या गरेर भए पनि सत्ता हत्याउने जुक्ति सुझ्यो उनिहरूमा। यस भन्दा पहिले पनि आफ्ना भाइ धीरलाई भेट्न नारायणहिटीबाट हिटीदरवारसम्म सुरक्षाकर्मी विनै आवतजावत गर्ने प्रधानमन्त्री रणोद्दीपको बानी देखेर धीरका माहिला छोरा खड्गले रणोद्दीप आफ्नो हिटी दरवारमा आउँदा त्यहीँ थुनेर बुवा धीरले श्री ३ महाराज भए हुने भन्ने कुरा गरेका थिए।
तर धीरले छोराको यो कुरा सुन्ने वित्तिकै रिसाएर बेस्कन कुटि तत्काल नारायणहिटी गइ दाजु प्रधानमन्त्री रणोद्दीपलाई अब उप्रान्त पहिले नै जनाउ दिएर र कडा सुरक्षाका साथ मात्र दरवारबाट बाहिर निस्कने सल्लाह दिएका थिए।
जंगबहादुरका भाइहरूमध्ये धीरशमशेर सबैभन्दा बलिया र बुद्धिमान पनि थिए। त्यसैले जंगबहादुरले बेलायत जाँदा पनि उनलाई सँगै लगेका थिए र गौढ विषयका सल्लाह पनि उनैसँग लिने गर्दथे।
यो सब देखेको भएर निसन्तान रणोद्दीपले धीरलाई निकै विश्वास गरेका थिए। उनको दरवारको सुरक्षाको मुख्य जिम्मा भने उनले धर्मपुत्र बनाएर पालेका उनकैै दाजु बद्रीनरसिंह राणाका रोलवाला छोरा ध्वजनरसिंह राणा रहेकाले त्यतिबेला नरसिंह गुट पनि निकै शक्तिशाली भएको थियो।
धीरशमशेरको निधन पछि त ध्वजनरसिंह झनै शक्तिशाली बनेका थिए। रणोद्दीपसिंहले आफू श्री ३ बन्ने वित्तिकै खडा गरेको सुरक्षा दस्ता ‘बिजुली गारतका करिव १५० जना सेनाले पनि उनको सुरक्षा गरिरहेका हुन्थे।
यस्तै समयमा निकै महत्वाकांक्षी र अध्ययनशील युवराज त्रैलोक्य विक्रमको पनि हत्या हुन गयो। उनीबाट पछि राणा विरोधी राजनीतिक क्रियाकलाप फस्टाउन सक्ने भयले उनलाई शमशेर दाजुभाइले विष खुवाएर मारेको आशंका गरिएको थियो। उनका छोरा पृथ्वी वीर बिक्रम ५ वर्षको उमेरमा राजा भएपछि रणोद्दीपले उनको सुरक्षाको निम्ति उनलाई आफैंसँग राख्ने बन्दोवस्त मिलाएका थिए।
आफ्ना दाजुहरू र आफ्नो दायित्व प्रति धीर ज्यादै वफादार थिए। उनि जस्ता इमानदार भाइ र प्रधान सेनापति होउञ्जेलसम्म श्री ३ महाराज रणोद्दीपको सुरक्षामा कुनै खतरा आउने सम्भावना नै थिएन भने उनलाई दैनिक शासनसत्ता चलाउन दिँदा पनि रणोद्दीप निकै ढुक्क थिए।
यसै सिलसिलामा सन् १८८५ नोभेम्बर २१ को राति आफ्नै भतिजाहरू यानी कान्छा भाइ धीरशमशेरका छोराहरूको हातबाट गोली खाई प्रधानमन्त्री रणोद्दीपसिंहको मृत्यु भयो भने त्यसको भोलिपल्टसम्ममा जंगबहादुरका जेठा छोरा जगत्जंग र नाती युद्धप्रतापजंग लगायत धेरैको विभत्स हत्या भयो।
यसरी जंगबहादुरले निकै माया गर्ने र ‘सान्नानी’ भनेर बोलाउने कान्छा भाइ धीरशमशेरका जेठा छोरा तथा आफ्नै दरवारमा हुर्काइएका र मायाले ‘कैले’ भनेर बोलाउने गरेका भतिजा वीरशमशेरको अगुवाइमा सन् १८८५ नोभेम्बर २२ तारिखको दिन प्रधानमन्त्री रणोद्दीपसिंहको साथै जंगबहादुरका छोरानातीको जघन्य हत्या भयो भने वीरशमशेर नेपालका तेस्रा श्री ३ महाराज र प्रधानमन्त्री बन्न पुगे।
क्रमशः …
-लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment