विश्वविद्यालयका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ: मन्त्री भट्टराई

डिसी नेपाल
५ साउन २०८१ १८:००

पाटन। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ भन्ने धारणा राखेकी छन्। काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनद्वारा आज ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्था सम्बन्धी छलफलमा उनले अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ भनिन्।

‘विश्वविद्यालयले अनुसन्धान गरेका विषयवस्तुलाई ग्रहण गर्नेमा अहिलेसम्मका सरकारले ध्यान दिन सकेको छैन, कार्यकारी भूमिकामा रहेको सरकार र विश्वविद्यालय अन्तरसम्बन्धित भएर अगाडि बढ्नुपर्छ, निरन्तर सम्वाद चल्नुपर्छ, युवा देशबाट विदेशिनुको कारण राज्य पहिलो भन्ने कुरा स्थापित गर्न नसक्नु हो, हामीले पारस्परिक सहकार्य र सहयोगका माध्यमबाट यसलाई समाधान गर्न सक्छौँ।’ मन्त्री भट्टराईले भनिन्।

उनले विश्वविद्यालयसँग समन्वय गरेर ७० प्रतिशत प्राविधिक शिक्षालाई जोड दिनुपर्नेछ जनाउँदै प्रदेश र स्थानीय तहसँग बसेर धेरै काम गर्न बाँकी छ भन्ने धारणा राखिन्। उनले युवाहरुको चाहानमा देशको विकास गर्ने गरी उनीहरुकै चाहनामा ज्ञानसीप युक्त बनाउन तालिम र कोषको विकास गरिनुपर्छ भन्नेमा जोड दिइन्।

‘हामी विद्यार्थीमैत्री हुन सकेका छैनौँ, विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ, तीनै तहका सरकारले निर्धारण गरेका योजनालाई जोड्नुपर्छ’, उनले भने। प्रविधिको क्षेत्रमा विश्वविद्यालयसँग समन्वय र छलफल गर्ने बताउँदै मन्त्री भट्टराईले दुई दिने कार्यक्रमबाट प्राप्त निष्कर्ष मन्त्रालयले पाउने विश्वास व्यक्त गरिन्। काठमाडौं विश्वविद्यालयका उपकूलपति प्रा डा भोला थापाले विश्वविद्यालयको काम शिक्षा र सेवा दिने मात्रै हैन अनुसन्धान गर्ने पनि हो भन्ने धारणा राखे।

‘नौलो र नवीन काम गर्न डराउनुहुँदैन, विद्यालय शिक्षालाई उत्कृष्ट बनाउन उच्चशिक्षा पनि राम्रो हुनुपर्छ, देशको उन्नति र स्रोतसाधनको उपयोगका लागि ध्यान दिनुपर्छ। जिम्मेवारी, रणनीति योगदानको मूल्यांकन गर्दै नेपालको शिक्षालाई अगाडि बढाउने काममा हामीले गर्ने काम महत्वपूर्ण हुनेछ।’ प्रा डा थापाले भने ।

माध्यमिक शिक्षकको हैसियतभन्दा प्राविधिक धारका शिक्षा दिने इञ्जिनियरको मान्यता विद्यालय तहमा नहुनुले समस्या छ भन्दै उनले विद्यार्थीले खोजेका चाहना पूरा गरेर ज्ञान पनि भरिदिनुपर्ने अहिलेको आवश्यकता रहेको बताए।

नवीनतम प्रविधि र शिक्षाको क्षेत्रमा नेपाल सरकारले के भन्छ भन्दा पनि अन्तर्राष्ट्रिय संस्थाहरुले के भन्छ भन्ने अहिले हाम्रो चुनौती छ भन्दै उनले विश्वविद्यालयले ‘मेन्टरिङ’ गर्नेमा ध्यान दिनुपर्छ भन्नेमा जोड दिए।

हामीलाई समृद्ध बनाउने परम्परागत सीपलाई छोडेर आधुनिकतातर्फ जाँदा दुःख पाइरहेका छौँ भन्दै उनले काठमाडौं विश्वविद्यालय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा अत्यन्तै प्रभावकारी ढंगले अगाडि बढ्ने बताए।

मन्त्रालयका सहसचिव बैकुण्ठप्रसाद अर्यालले प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रदान गर्ने निकायमा विद्यार्थी भर्ना दर सन्तोषजनक नभएको बताए। उनले प्राविधिक शिक्षाका क्षेत्रमा लक्ष्य र बजारको तालमेल हुन सकिरहेको छैन भन्दै यसतर्फ सरकारको बजेट विनियोजन कम भएको धारणा राखे। उनले बजारको मागअनुसार सिटिइभिटीको क्षमता अभिवृद्धि गर्ने कार्यलाई ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गरे।

काठमाडौं स्कुल अफ एजुकेशनका डीन प्रा डा बालचन्द्र लुइँटेलले विश्वविद्यालयले तीन वर्षयता समुदायसँग मिलेर काम गरिरहेको जानकारी गराए। उनले देशका १९ वटा पलिकाका समुदायमा पुगेर ३६ वटा शैक्षिक संस्थाका साथै अन्य निजी संस्थासँग मिलेर काम गरिरहेको बताए।

पूर्वडिन तथा प्राध्यापक डा महेशनाथ पराजुलीले प्राविधिक र व्यावसायिक शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको विश्वविद्यालयले देशभरका विभिन्न पाँच स्थानमा कार्यक्रम गर्दै आएको र सात वर्षदेखि विभिन्न विषयमा अनुसन्धान गरेको जानकारी गराए। उनले प्राविधिक तथा व्यावसायिक शिक्षामा सहयोग पुर्‍याउन गरिने अनुसन्धान र तथ्यांकलाई विश्वासनीय बनाउँदै संघीय सरकारलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने अभिप्राय विश्वविद्यालयको रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *