बाढीले कुतियाकबरका अधिकांश किसानको खेती बगरमा परिणत

डिसी नेपाल
६ साउन २०८१ २१:४०

कञ्चनपुर। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकबरका बमबहादुर सुनारले १२ कट्टा जमिनमा परबल खेती गरेका थिए। त्यही खेतीबाट उनले वर्षभरीको खर्च जोहो गर्थे।

असार तेस्रो साता अविरल वर्षापछि आएको बाढीले उनको परबल खेती बगरमा परिणत भएको छ। खेती मात्रै होइन बाढीले घरभित्रको अन्नपात, लुगाफाटोसमेत बगाएपछि उनी समस्यामा छन्। “खेतमा लगाइएको परबल पुरिएर नष्ट भएको छ । वर्षभरीको घर खर्च धान्ने खेती नै सखाप भएपछि अब के खाने, कसरी खर्च चलाउने भन्ने चिन्ता बढेको छ”, उनले दुःखेसो पोखे।

बाढीको बेला केही दिन अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका उनी अहिले बस्तीमै फर्किसकेका छन्। बाढीले क्षति पु¥याएको घरको मर्मत गरेर रात बिताइरहेको उनको भनाइ छ।

दोधारा चाँदनी नगरपालिका–१० का खड्के बुढाले डेढ बिघा जमिन भाडामा लिएर तरकारीसँगै धान रोपाइँ गरेका थिए। बाढीले उहाँको खेत पनि पूरै लेदो र बालुवाले भरिएको छ। “तरकारी र धानमा रु ५० हजार खर्च भएको थियो । तरकारी खेती नै प्रमुख आयस्रोत हो”, उनले भने, “खेतमा सबै पुरिएर माटो र बालुवा मात्रै छ । तीन वर्षअघि पनि यस्तै भएको थियो । बाढीले आयस्रोत नै खोस्यो”, उनले गुनासो गरे।

महाकाली नदी र जोगबुढा नदीले घेरिएको कुतियाकबरमा बसोबास गर्ने अधिकांशको जमिन बगरमा परिणत भएको छ। यहाँका अधिकांश स्थानीय बासिन्दा परबललगायत तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका छन् । वर्षभरीलाई खान पुग्ने धान र घर खर्च जोहो गर्ने तरकारी खेती बगर बन्दा अहिले यहाँका किसान निकै पीडामा छन्।

“बाढीले सबै लग्यो । बिहान बेलुका खानलाई घरभित्र अन्न छैन । खाना पकाउन भाडाकुडा, लगाउनलाई लत्ताकपडा पनि छैनन्”, दोधारा चाँदनी नगरपालिका–१० की बृतकली सुनार भन्छन्, “बाढीले यत्रो पीडा दिँदा पनि सरकारले हामीलाई हेरेको छैन । हामी के खाएर बाच्ने ?”

असार तेस्रो साताको अविरल वर्षापछि भएको डुबान र बाढीले विस्थापित भएकाहरू विद्यालय तथा आफन्त कहाँ आश्रय लिएर बसेको थिए । अधिकांश विस्थापित बस्तीमै फर्किए पनि खाद्यलगायत अत्यावश्यक समानमा बाढीले क्षति पु¥याएपछि खान र बस्न समस्या भएको छ । बाढी र डुबानले बस्ती अस्तव्यस्त बनेकाले स्थानीय बासिन्दा अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन्।
९९९




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *