बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा
म्याग्दी। म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक १० दिनपछि आज साँझदेखि सञ्चालनमा आएको छ। बेनी नगरपालिका-४ र मंगला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतमा पहिरो खसेपछि गत असार २८ गतेदेखि बेनी-दरवाङ सडकअवरुद्ध भएको थियो।
पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरी पहिरो पन्छाएपछि आइतबार साँझदेखि सडक सञ्चालनमा आएको हो। कार्यालयका सव–इञ्जिनियर रविन चोखालले सडकमा थुप्रिएको पहिरो पन्छाएर यातायातका साधन सञ्चालन गरिएको जानकारी दिए।
सडक अवरुद्ध हुँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको जिल्ला सदरमुकाम बेनी बजारसँग यातायात सम्पर्कबिच्छेद भएको थियो। सर्वसाधारणलाई आवतजावत, बिरामीलाई अस्पताल लैजान, दैनिक उपभोग्य सामान ढूवानी, कृषि उपज निकासी प्रभावित बनेको थियो।
निर्माण सामग्री ढुवानी गर्न समस्या हुँदा पश्चिम म्याग्दीमा निर्माणाधिन जलविद्युत्, सडक, भवन, प्रसारण लाइन, सवस्टेशन आयोजनाको काम प्रभावित बनेको छ। फापरखेतको करिब एक सय मिटर दुरीमा पाखोबाट खस्ने सुक्खा पहिरो प्रदेश सरकारले स्तरोन्नति गरिरहेको बेनी-दरवाङ सडकको चुनौती बनेको छ ।
म्याग्दी-१ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान र सडक निर्माणका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिएको बताए।
Facebook Comment