माओवादीभित्रको अन्तरसंघर्षमा नयाँ ट्विस्ट, गुरुङ, सापकोटा र पुनको मोर्चाबन्दी

शरद रिजाल
७ साउन २०८१ १०:०२

काठमाडौं। विभाजन र गुटबन्दीले आक्रान्त भएको नेकपा(माओवादी केन्द्र) मा अहिले फेरि नेताहरु बीच अन्तरपार्टी धुर्बीकृत हुने क्रम चलिरहेको छ।

यही क्रममा पार्टीका केही प्रमुख नेताहरुको नयाँ मोर्चाबन्दी सुरु भएको छ। माओवादीका उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुनले मोर्चाबन्दी गरेको स्रोतले जनाएको छ।

उनीहरुको मोर्चाबन्दी भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विरुद्धमा नभएर नेतृत्वलाई नै सहजीकरण गर्नेगरी भएको स्रोतको दाबी छ।

लामो समय देखि पार्टीको नेतृत्वमा रहेका प्रचण्डको एकल मनोमानीका विरुद्ध केही समय यता माओवादीमा उपमहासचिव जनार्दन शर्माले अन्तरसंघर्ष चलाइरहेका छन्।

शर्माले पार्टीमा अध्यक्ष प्रचण्डको एकलौटीपनको विरुद्धमा लोकतान्त्रिकरणको प्रयत्न सुरु गरे पनि त्यसले मूर्तरुप लिन सकेको छैन। पार्टीले आगामी दिनमा गर्ने विशेष महाधिवेशनमा नेतृत्व चयन लोकतान्त्रिक विधिबाट तय गर्नुपर्ने प्रस्ताव उपमहासचिव शर्माले प्रबलरुपमा उठाउने नेताहरुले बताउँछन्।

शर्माको प्रस्तावलाई समर्थन गरेर सुरुमा उनीसँगै रहने प्रतिवद्धता जनाएका पुन पछिल्लो समय प्रचण्डकै सारथि बनेका छन्। पुनकै प्रयत्नमा माओवादीभित्र अध्यक्ष प्रचण्डको प्रतिरक्षा गर्ने भन्दै नेतात्रयले नयाँ मोर्चाबन्दी सुरु गरेको माओवादी स्रोतको दाबी छ।

पुनले सुन प्रकरणमा मुछिएपछि प्रचण्डसँग आत्मसमर्पण गरेको गंगा दाहाल निकट स्रोतले जनायो। पहिले प्रचण्डको एकलौटीविरुद्ध सहकार्य गर्ने भन्दै शर्मालाई हौसाएका पुन अन्ततः प्रचण्डको रक्षाकवचका रुपमा नयाँ अन्तरपार्टी गठबन्धन बनाएका हुन्।

उपमहासचिव रहेका शर्मा र पुनको गुटबन्दीले यस अघि माओवादीको आठौं महाधिवेशन पछि महासचिव चयनमा निकै बिलम्ब भएको थियो। यी नेताद्वयले आफ्नो दाबी नछाड्दा प्रचण्डले तेस्रो व्यक्ति देव गुरुङलाई महासचिव बनाएका थिए।

अहिले उनै गुरुङ अध्यक्ष प्रचण्डलाई सघाउने भन्दै पार्टीमा ती दुई नेताहरुसँगको मोर्चाबन्दीमा समाहित भएका हुन्। यी नेतात्रयमध्ये गुरुङबाहेक अन्य दुई निरन्तर प्रचण्डसँग रहँदै आइरहेका छन्।

महासचिव गुरुङ भने २०६९ मा विभाजित भएर मोहन बैद्य किरण नेतृत्वको पार्टीमा गएर २०७३ मा रामबहादुर थापा बादलसहितको टिममा फर्किएका हुन्। सापकोटा र पुनले भने प्रचण्डलाई जनयुद्धकालदेखि हालसम्मै निरन्तर साथ दिँदै आएका छन्।

यो मोर्चाबन्दीलाई कतिपयले भूराजनीतिसँग जोडेर समेत हेर्ने गरेका छन्। माओवादीमा यिनीहरुलाई चिनियाँ पक्षधर नेताहरु भनेर पनि चित्रित गरिन्छ।

तर, महासचिव देव गुरुङ भने पार्टीमा आफूहरुले कुनै गुटबन्दी नगरेको बताउँछन्। उनले पार्टी निर्माणको विषयमा भएका छलफललाई दिग्भ्रमित तुल्याउन मोर्चाबन्दीको प्रचार गरिएको आरोप लगाए।

‘पार्टी निर्माणको विषयमा भएको छलफललाई गुटबन्दी या मोर्चाबन्दी भनेर चित्रित गरिनु अफबाह फैलाउने चेष्टा हो।’, महासचिव गुरुङले डिसी नेपालसँग भने, ‘अहिले पार्टी निर्माण गर्ने मूल विषय हो। तसर्थ कसैका विरुद्ध मोर्चाबन्दी या गुटबन्दी गरिएको छैन र गर्नु आवश्यक पनि होइन।’

महासचिव गुरुङले पार्टीमा अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी निर्माणको प्रक्रिया सुरु गरिएको जनाए। उनले पार्टीमा कसैले कसैका विरुद्ध मोर्चाबन्दी नगरेको जिकिर गरे।

यद्यपि, १८ महिना पछि सरकारबाट बाहिरिएर बालुवाटारबाट खुमलटार सरेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री प्रचण्डलाई भेट्न आआफ्ना गुटका नेता कार्यकर्ताहरु लिएर गएको भन्दै माओवादीमा चर्चा भइरहेको छ।

माओवादी पार्टी भन्दा पनि गुटहरुको मोर्चाको रुपमा विकसित भएको छ। अहिले पार्टीमा विभिन्न गुटहरु सक्रिय रहेका छन्। यिनै गुटसम्बद्ध नेताहरुले आफ्नो शक्ति प्रदर्शन गर्न आफू पक्षीय कार्यकर्ताहरुलाई खुमलटारमा पठाएर प्रचण्डलाई देखाउने होडबाजी चलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *