बागमतीकाे मुख्यमन्त्रीमा बहादुर सिंह लामाकाे दाबी पेश

डिसी नेपाल
८ साउन २०८१ १३:३२

काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले दाबी पेश गरेका छन्।

लामाले नेकपा एमाले र कांग्रेसका ६४ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। ११० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ र एमालेका २७ सांसद छन्।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले साउन ६ गते दुई दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

कांग्रेस र एमाले बराबर हैसियतमा बागमती सरकारमा सामेल हुन लागेका छन्। कांग्रेसले मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय र एमालेले बाँकी ६ मन्त्रालय लिने सहमति छ।

बागमती प्रदेशमा पहिलोपटक नेपाली कांग्रेसले र देशमा पहिलोपटक तामाङ समुदायले मुख्यमन्त्री पाउने भएका हुन्।

बागमतीमा पहिलो चरणमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामा मुख्यमन्त्री बन्नेछन्। कांग्रेस नेता लामा र एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाबीच भएको नयाँ सहमति अनुसार आर्थिक मामिला मन्त्रालय कांग्रेसले लिनेछ भने एमालेले भौतिक पूर्वाधार मन्त्रालय लिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *