भेनिसमा प्रदर्शन हुँदै ‘पूजा, सर’
काठमाडौं। विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ।
छायांकनको क्रममा ‘राजागञ्ज’ नाम राखिएको चलचित्रको नाम परिवर्तन गर्दै निर्देशक दीपक रौनियारले ‘पूजा, सर’ राखेका छन्। निर्देशक रौनियारले चलचित्रको छनोटको खबर पाएसँगै यसलाई सुखद् यात्राको आरम्भको रूपमा व्याख्या गरेका छन्। ‘अघिल्ला चलचित्र झै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट प्रदर्शनी (वल्र्ड प्रिमियर) प्रारम्भ हुँदैछ। यसपटक नेपाली निर्मातासँग सहकार्य गरेर बनाएको चलचित्रले विश्व चलचित्र मञ्चमा कस्तो यात्रा गर्ला ? यसको प्रतीक्षा मलाई पनि उत्तिकै छ’, उनले भने।
यसअघि सन् २०१६ मा उनकै ‘ह्वाइट सन’ ले यही विधामा छनोट हुने पहिलो नेपाली चलचित्रको इतिहास रचेको थियो। गत वर्ष भने फिडेल देवकोटाले निर्देशन गरेको ‘द रेड सुटकेस’ छनोट भएको थियो।
विश्व बजारमा प्रदर्शन गरिसकेपछि मात्रै नेपालमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र ‘पूजा, सर’ लाई ‘थ्रिलर’ विधामा तयार गरिएको छ। जनकपुरमा छायांकन गरिएको चलचित्रमा महिला प्रहरीको कथा समेटिएको छ।
यसमा अभिनेत्री आशा मगराती, अभिनेता दयाहाङ राई, पूर्वमिस नेपाल निकिता चण्डक, आरती मण्डल, रिचा शर्मा, विजय बराल, गौमाया गुरूङ, नीरज श्रेष्ठ, पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन्।
Facebook Comment