कविता : विभेद

कल्पना पौडेल 'जिज्ञासु '
११ साउन २०८१ १४:०५

तिमी पनि मानव,
म पनि मानव।
छुत अछुतको कठबार
जातको प्रश्न र विभेदको उत्तर
जातीय विभाजक रेखाले विभक्त
परम्पराको खोलभित्र
अपारदर्शी काँडेतारले कोतर्दैगर्दा
प्रेमको अनुभूति गर्दै
खुशीका लालीमा छर्न किन सकिँदैन ?
मान्छेले मान्छेबीच अँगालोमा कस्न किन सकिँदैन ?
दुई हात जोडेर
शिष्टाचार पस्किनका लागि !
हैसियत र प्रतिष्ठाको भाँजो हालेर
वर्ग र जातको कुरुप करौंतीले
सामाजिक जुइनो चुडाल्दा,
म प्रश्न गर्छु साथी
हाम्रो जात फरक फरक किन ?
हाम्रो वर्ग फरक किन?
दलितको लाहाछाप
गरीबको उपनाम
तिरस्कारको खञ्जर
किन ? किन ? किन ?
इमान र जमान,
अनि नैतिकताले कङ्गाल !
तिनै मान्छेहरू
कथित उच्च र निम्न जातकै कारणले
हीन विचारको जस्केलाबाट
प्रतिष्ठाको रवाफ डकारिरहेका छन्
किन ? किन ? किन?
सिङ्गो जगतको:
घाम उही हो, जून उही हो ।
धर्ती उही हो ,नुन उही हो ।
आत्मा उही हो ,खुन उही हो ।
नियम उही हो ,कानुन उही हो !
तर, मान्छे मान्छे बीचमा,
यति धेरै फरक किन ?
भावना र आत्मा
हैसियत आचरण
मूल्य र मान्यता
मर्यादा र प्रतिष्ठा
आचरण विचरण
इमानर जमान
नीति र नैतिकता
सबै सबै फरक किन ?
एकै धर्तिका मान्छे मान्छे फरक किन ?
के कारण फरक ?
कसरी फरक ?
कस्ले दिन्छ यसको जवाफ ?
मानव सभ्यताको युगले मागिरहेको छ…….
कसले दिन्छ यसको जवाफ ?

खजुरा बाँके




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *