नेपाली खेलाडी प्रशिक्षकबिना ओलम्पिकमा, कोचको ठाउँमा अर्कैले पेरिसको सयर गर्दै
काठमाडौं। खेलकुदको सम्बन्धित संघका पदाधिकारीको बेइमानीका कारण नेपाली ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहाल प्रशिक्षकबिना ओलम्पिक खेल्नका लागि पेरिस जान बाध्य भएका छन्।
दाहाल ओलम्पिकका लागि छनोट भइसकेपछि उनका प्रशिक्षकको नाम सिफरिस गरिनुपर्नेमा नेपाल ब्याड्मिन्टन संघले प्रशिक्षकको नाम नदिएपछि दाहाल प्रशिक्षकबिना नै पेरिस पुगेका हुन्।
आजदेखि पेरिसमा ओलम्पिक प्रतियोगिता सुरु हुँदैछ। तर, नेपाली खेलाडी दाहालले भने यो अवधिमा आफ्ना प्रशिक्षकको मार्गदर्शन पाउने छैनन्। नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्रशिक्षकको सट्टा अर्कै व्यक्तिलाई टिम म्यानेजरको रुपमा पेरिस पठाउने प्रयास गरेका कारण खेलाडीसँग प्रशिक्षक जान नपाएका हुन्।
दाहाल ओलम्पिकका लागि छनोट भएपछि राष्ट्रिय खेलकुद परिषदले उनलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षणका लागि श्रीलंका पठाएको थियो। प्रशिक्षणका लागि श्रीलंकामा रहँदा दाहालसँगै ब्याड्मिन्टनका प्रमुख प्रशिक्षक सुदिप योञ्जन पनि उनको साथमा थिए। ओलम्पिकमा जानुभन्दा ठिक पहिले दाहालले जुन प्रशिक्षकसँग प्रशिक्षण लिएका थिए उनै प्रशिक्षक योञ्जन दाहालको साथमा फ्रान्स जान पाएनन्।
ब्याड्मिन्टन संघका अध्यक्ष श्रेष्ठले दाहाल श्रीलंकामा भएका बेला अमेरिकामा भएको एक प्रतियोगितामा पनि नेपाली खेलाडीसँगै असम्बन्धित व्यक्तिलाई अमेरिका पठाउने प्रयास गरेका थिए।
तर अमेरिकी दूतावासले उनीहरुलाई भिसा दिएन। प्रिन्स भने उक्त प्रतियोगिताका लागि नामांकित भए पनि श्रीलंकामा प्रशिक्षणमा व्यस्त भएकोले अमेरिका गएका थिएनन्।
अहिले ओलम्पिकमा ब्याड्मिन्टनका प्रशिक्षक नगएका भए पनि संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ आफू भने गएका छन्। खेलाडीलाई मार्गदर्शन गर्ने प्रशिक्षक नै नहुँदा खेलाडीको मनोबल घट्ने अवस्थामा प्रशिक्षकको नाम दिन नसकेका श्रेष्ठ आफू भने संघको अध्यक्षको हैसियतमा पेरिसको सयर गरिरहेका छन्।
यसबाहेक उनले अन्य धेरै व्यक्तिहरुलाई संघको तर्फबाट सिफारिस गरेर पेरिसको भिसा दिलाएको आरोप लागेको छ। यस सम्बन्धमा ब्याड्मिन्टन संघका अध्यक्ष श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा उनी फ्रान्समा रहेकोले सम्पर्क हुन सकेन।
नेपाल ब्याड्मिन्टन संघका महासचिव प्रकाश ढकाललाई यस विषयमा प्रश्न गर्दा उनी बहानाबाजी गरेर पन्छिए। डिसीनेपालसँग टेलिफोन सम्पर्कमा आएका ढकाललाई संघले प्रशिक्षक नपठाइ असम्बन्धित व्यक्तिलाई पठाएको आरोपबारे प्रश्न गर्दा उनले आफू व्यस्त भएको बताउँदै जवाफ दिएनन्। केही समयपछि उपलब्ध हुने बताएका उनले त्यसपछि फोनको जवाफ दिएनन्।
यसरी संघहरुले खेलाडीको साथमा विभिन्न बहानामा असम्बन्धित व्यक्तिहरुलाई पठाउने घटना नौलो नभएको पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ बताउँछन्। पूर्वमन्त्री श्रेष्ठका अनुसार उनले यही ओलम्पिकमा समेत असम्बन्धित व्यक्ति पठाउने प्रयासलाई रोक्न पहल गरेका थिए।
‘हामीले संघहरुलाई अनाधिकृत व्यक्ति पठाए अध्यागमनबाटै फर्काइदिने चेतावनी दिएका थियौं’ श्रेष्ठले डिसीनेपालसँग भने ‘यसअघि फुटबल खेलका क्रममा एन्फामार्फत इङल्याण्ड जान लागेका १५ जनालाई हामीले विमानस्थलबाटै फर्काएको उदाहरण पनि छ।’
फरक-फरक खेलका संघहरुले यसरी अनाधिकृत व्यक्तिलाई विदेश पठाउने खेल पहिलेदेखि नै चलाइरहेको र आफू मन्त्रालयको नेतृत्वमा आएपछि रोक्ने प्रयास गरेको पूर्वमन्त्री श्रेष्ठ बताउँछन्।
‘मन्त्रालयलाई थाहै नदिइ असम्बन्धित व्यक्तिलाई विदेश पठाउने गरेको हामीले फेला पारेका थियौं’ उनले भने। आफूले यस विषयमा कडाइ गरेको तर आफू जिम्मेवारीमै नरहेपछि ओलम्पिकमा पठाइने असम्बन्धित व्यक्तिहरुलाई आफूले रोक्न नपाएको उनले बताए।
नेपाल ओलम्पिक कमिटीका अनुसार नेपाल व्याडमिन्टन संघसँग प्रिन्स दाहालको कोचको नाम माग्दा संघले दिन सकेन। ‘हामीले बारम्बार प्रिन्स दाहालको कोचको नाम दिनु भनेर ताकेता गर्दा उहाँहरुले दिन सक्नु भएन,’ ओलम्पिक कमिटी स्रोतले भन्यो, ‘आयोजकले दिएको समयसीमा भित्र व्याडमिन्टन संघले नाम दिन नकसेपछि कोच विना नै प्रिन्स दाहाल पेरिस गएका हुन्।’
Facebook Comment