सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्छः प्रचण्ड

डिसी नेपाल
११ साउन २०८१ १८:१०

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तराष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको भन्दै अब सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

सरकारबाट बाहिरिदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको प्रचण्डले बताएको माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।

उनले अब जनताको सम्बन्ध थप स्थापित गर्नका लागि अभियान नै बनाएर जानुपर्नेमा समेत जोड दिएको सापकोटाले बताए। शुक्रबार पदाधिकारी बैठकमा ६ जना सदस्यहरुले धारणा राखेका थिए। उनीहरुले संघर्षका रुपमा पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राखेको प्रवक्ता सापकोटाले बताए। पदाधिकारी बैठकले पार्टीलाई रुपान्तरण गर्दै जनतामा जाने अभियानको मार्गचित्र बनाउने उनको भनाइ छ।

शनिबार र आइतबार पदाधिकारी बैठक बस्ने र त्यसपछि स्थायी कमिटी हुदै केन्द्रीय कमिटी बैठक बसेर आवश्यक निर्णय गर्ने प्रवक्ता सापकोटाले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *