‘जनताको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ’
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनताको जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बयालीसौँ बिपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले जनतालाई आर्थिक रूपमा सबल बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
‘जनताको जीवनस्तर उकास्ने बाटोमा सरकार प्रतिबद्ध छ, तपाईँहरूले बधाई दिने गरी मन्त्रालयबाट बाहिरिनेगरी काम गर्छु’, मन्त्री खड्काले भने। उनले ऊर्जा क्षेत्रको विकासका लागि पर्याप्त बजेट नभए पनि भएको बजेटलाई समयमै खर्च गर्नेगरी सरकारले काम गर्ने बताए।
नेपाली कांग्रेस धनकुटाका पूर्वसभापति एवं संविधानसभा सदस्य मनोहरनारायण श्रेष्ठले जनताको मन जित्नेगरी सरकारले काम गर्नुपर्ने बताए। उनले विधानअनुसार पार्टी सञ्चालन भएमात्र बलियो हुने उल्लेख गरे।
सम्पर्क समितिका सभापति भीम सुयंल थापा, कांग्रेस धनकुटाका उपसभापति निर्मल ओझा, धनकुटा कांग्रेसका सचिव विजय सन्तोषी राईलगायतले पार्टीभित्रको गुटलाई अन्त्य गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर लगेमात्र आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने बताए।
सोही अवसरमा सम्पर्क समितिले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई सम्मान गरेको थियो। कार्यक्रममा कांग्रेस धनकुटाका पूर्वसभापति मनोहरलाल श्रेष्ठ, कांग्रेस नेता प्रा डा सुरेश आचार्य, श्रीहरि अधिकारी, गणेश निरौला, राजेन्द्रबहादुर प्रधान, रेवतीप्रसाद दाहाल, टंक दुवाडी, तिल महत, मदन घिमिरे, करुणा कटुवाल, विमला परियार, ममता राई, नन्दु राईलगायतलाई सम्मान गरिएको थियो।
Facebook Comment