सहकारी छानबिन संसदीय विशेष समितिले लियो राजनीतिक दलहरुसँग सुझाव
काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका बिषयमा बिभिन्न राजनीतिक दलहरुसँग सुझाव लिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकमा एमाले लगाएत अन्य दलले सहकारीका बिषयमा सुझाव दिएका हुन् ।
बैठकमा एमालेको सहकारी बिभागले लिखित सुझाव दिएका थिए भने अन्य केहि दलले पनि मौखिक तथा लिखित सुझाव दिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए। उनले सवैको सुझावका आधारमा सहकारी संस्था बचत रकम दुरुपयोगका सम्बन्धमा अध्ययन गर्न सहज हुने बताए।
त्यस्तै आइतबार नै समितिले चाटर्ड एकाउन्टेन्ट सम्बन्धी संस्थाका प्रतिनिधिहरुसंग छलफल गरेको थियो। सो क्रममा सहकारी क्षेत्रको लेखा परिक्षणका क्रममा देखिएका तथ्यहरुका बारेमा जानकारी लिएको उनले बताए।
नियमन नभएका कारण नै सहकारीमा बचत दुरुपयोगको अवस्था आएको संयोजक थापाले बताए। सहकारी संस्था बचत रकम दुरुपयोगको छानविनका लागि निरन्तर सरोकारवाला निकायहरुसंग छलफल गर्ने र निष्कर्षमा पुगिने उनले बताए।
Facebook Comment