भ्रष्टाचार मुद्दाका अभियुक्त निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा

डिसी नेपाल
१३ साउन २०८१ १९:०१

काठमाडाैं। अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा निलम्बित मुख्यसचिव वैकुण्ठ अर्याल धरौटीमा रिहा भएका छन्।

आइतबार बिशेष अदालतमा बयानका लागि हाजिर भएका अर्यालको थुनछेक बहसपछि ५० हजार धरौटीमा रिहा गर्ने आदेश भएको थियो। त्यसपछि उनी धरौटी बुझाएर रिहा भएका हुन्।

विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवर, न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयानपछि धरौटी माग गर्ने आदेश गरेको बिशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए।

आइतबार दिनभर भएको बयानपछि थुनछेक आदेश भएको उनले बताए। उनले उक्त प्रकरणमा ७ जना अदालत उपस्थित भइसकेको र ५ जना उपस्थित हुन बाँकी रहेको जानकारी दिए।

अन्तःशुल्क स्टिकर छपाइ प्रकरण तत्कालीन मुख्यसचिवसहित १२ जनाविरुद्ध असार ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रूपैयाँ बिगो दाबी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *