इमरान खानले जेलभित्रैबाट बेलायतको चुनाब लड्ने, बेलायती पूर्व प्रधानमन्त्रीहरूसँग भिड्ने

डिसी नेपाल
१४ साउन २०८१ ११:१७

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान भ्रष्टाचारलगायत अन्य कैयौं मुद्दामा जेलमा छन् । यसैबीच उनी जेलभित्रैबाट अक्सफोर्ड विश्वविद्यालयको कुलपतिको निर्वाचनमा लड्ने खबर आएको छ ।

द टेलिग्राफको रिपोर्टका अनुसार इमरानले जेलभित्रैबाट अनलाइन मतपत्रमार्फत अक्सफोर्ड विश्वविद्यालयको कुलपति पदका लागि चुनाव लड्नेछन् । बेलायतको टोरी पार्टीका अध्यक्ष लर्ड प्याटनले राजीनामा दिएपछि अक्सफोर्ड विश्वविद्यालयको कुलपतिको पद रिक्त भएको छ । लर्ड प्याटन लगभग २१ वर्ष यस पदमा थिए।

अक्सफोर्ड विश्वविद्यालयबाट स्नातक गरेका र नेता बनेका पूर्व विद्यार्थीहरूलाई कुलपतिको पदमा नियुक्त गरिन्छ। यस विषयमा इमरानका सल्लाहकार सैयद जुल्फी बुखारीले भने ‘इमरानले अक्सफोर्ड विश्वविद्यालयको कुलपतिको पदका लागि चुनाव लड्नुपर्ने माग भएकाले उनले यो पदका लागि चुनाव लड्दैछन् । यसबारे कुरा स्पष्ट भएपछि हामी सार्वजनिक रूपमा यसको घोषणा गर्नेछौं र त्यसका लागि हस्ताक्षर अभियान सुरु गर्नेछौं।’

इमरानका अलावा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर र बोरिस जोन्सन पनि यो पदका लागि मैदानमा छन् । यसपटक अक्सफोर्डको कुलपतिको चुनाव पहिलो पटक अनलाइनबाट हुनेछ।

इमरान आफै अक्सफोर्डका स्नातक हुन् । उनले १९७२ मा विश्वविद्यालयको कोबर कलेजबाट अर्थशास्त्र र राजनीतिको अध्ययन गरे। उनले सन् २००५ देखि २०१४ सम्म ब्राडफोर्ड युनिभर्सिटीको कुलपतिको रूपमा पनि काम गरेका थिए। चुनाव लड्ने उनको यो निर्णयले उनका समर्थक र विपक्षीहरु अचम्ममा परेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *