समुन्द्रमा भेटियो १९ औं शताब्दीको ‘खजाना’, स्याम्पेनको बोतलले खोल्यो धेरै पुराना रहस्य
काठमाडौं । स्वीडेनको समुन्द्र भित्र एउटा ठूलो खजाना फेला परेको छ । गोताखोरहरूले १९ औं शताब्दीमा बाल्टिक सागरमा डुबेको जहाजको भग्नावशेष फेला पारेका छन्, त्यसमा भेटिएका चीजहरू अचम्मका छन् । खोजकर्ताहरूले जहाजमा स्याम्पेन, वाइन, मिनरल वाटर र पोर्सिलेन वस्तुहरू फेला पारेका छन्।
खोजकर्ताहरूले जहाजमा १०० भन्दा बढी स्याम्पेनका बोतलहरू रहेको बताएका छन्। पोल्याण्ड डाइभिङ समूह बाल्टिटेकका गोताखोर टोमास स्टाचुरा, जसले जहाज फेला पारेका थिए, विश्वास गर्छन् कि ढुवानी रूसी जारको लागि जाँदै गरेको हुन सक्छ। बाल्टिटेक समूह बाल्टिक सागरमा जहाज पत्ता लगाउन माहिर छ। समूहले आफ्नो नयाँ खोजलाई “खजाना” को रूपमा वर्णन गरेको छ।
टोलीका नेता स्टाचुराले भने, ‘म ४० वर्षदेखि डाइभिङ गरिरहेको छु । तपाईंले अन्वेषणको क्रममा जहाजको अवशेषमा एक वा दुईवटा बोतलहरू भेट्टाउन सक्नुहुन्छ, तर मैले यति ठूलो संख्यामा रक्सी र पानीका बोतलहरू सँगै देखेको छैन।’
यो जहाज स्वीडेनको ओल्यान्ड आइल्याण्डबाट ३७ किलोमिटर टाढा समुन्द्रमा फेला परेको हो । स्टाचुराका अनुसार उनका दुई गोताखोरहरू छोटो डाइभिङका लागि पानीमा गएका थिए तर दुई घण्टासम्म बाहिर नआएपछि तल केही रोचक कुरा भएको थाहा पाए ।
उनले भने, ‘हामीलाई पहिले नै थाहा थियो कि त्यहाँ केहि रोचक छ।’ भग्नावशेषमा फेला परेका बोतलहरूमा जर्मन कम्पनी सेल्टर्सको ब्रान्ड नाम रहेको छ। बोतलहरूबाट खोजकर्ताहरूले थाहा पाए कि जहाज १८५०-१८६७ को बीचमा डुबेको हुन सक्छ।
१९औँ शताब्दीमा डुबेको जहाजमा सयभन्दा बढी स्याम्पेनका बोतल फेला पर्नु अचम्मको कुरा हो भने जहाजमा मिनरल वाटरको बक्स फेला पर्नु पनि अचम्मको कुरा हो । स्टाचुराले त्यसबेला मिनरल वाटर निकै विशेष हुने र औषधिको रुपमा राखिने गरेको बताए । यसलाई त्यो समयका राजाहरूले प्रयोग गर्थे।
स्टाचुरा भन्छन्, ‘मिनरल वाटर यति मुल्यवान थियो कि यसलाई बोक्ने सवारी साधनलाई प्रहरीले सुरक्षा दिने गर्दथ्यो।’
बीबीसीसँग कुरा गर्दै स्टाचुराले उक्त जहाज रुसी जार निकोलस प्रथमका लागि सामान लिएर गएको हुन सक्ने विश्वास व्यक्त गरे। सन् १८५२ मा यस क्षेत्रमा रुसी सम्राटको जहाज डुबेको बताइएको छ। उनी भन्छन्, ‘यसकारण जहाज यति धेरै बहुमूल्य सामानले भरिएको थियो ।’
जहाजमा पाइने स्याम्पेन र मिनरल वाटर आज पनि पिउन सकिने स्टाचुरा बताउँछन् । त्यतिबेला रुसीहरूले स्याम्पेनमा चिनी बढी मन पराउँथे र ब्रान्डी पनि स्याम्पेनमा थपिएको थियो। यस कारणले गर्दा, १९ औं शताब्दीको स्याम्पेन आज पनि पिउन योग्य छ। चिसो र अन्धकारमा अवशेष ५८ मिटर तल थियो, जसका कारण स्याम्पेन लामो समय पछि पनि बिग्रिएको थिएन।
Facebook Comment