पहिरोमा परी २४ जनाको मृत्यु, ७० जना घाइते, अझै धेरै मानिस पहिरोमा फसेको आशंका
काठमाडौं । मङ्गलबार केरलाको वायनाडस्थित मेपाडी नजिक पहिरोमा परी २४ जनाको मृत्यु भएको छ । केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले भनिन्– ‘अहिलेसम्म २४ जनाको शव अस्पताल लगिएको छ भने करिब ७० जना घाइते छन् । अत्यावश्यक चिकित्सा औषधिहरू वायनाडका अस्पतालहरूमा पुर्याइएको छ।’
मंगलबार बिहान २–३ बजे पहिरो खसेको वीणा जर्जले बताइन् । पहिरोमा ठूलो संख्यामा मानिसहरु फसेको आशंका छ । मृत्यु हुनेको संख्या बढ्न सक्छ। वनमन्त्री एके ससेन्द्रनले बीबीसीलाई भने, ‘अहिले नै पहिरोमा फसेका मानिसको संख्या भन्न गाह्रो छ ।’
एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर उद्धार कार्यमा संलग्न छन्। तर वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ । मुख्यमन्त्री पिनाराई विजयनको कार्यालयले सेनालाई पहिरोमा पुग्नका लागि अस्थायी पुल निर्माण गर्न मद्दत गर्न आग्रह गरेको जनाएको छ।
केही दिनयता केरलाका धेरै ठाउँमा भारी वर्षा भइरहेको छ । मुन्डक्काई, अट्टामाला र कुनहोम जस्ता क्षेत्रहरू पनि यी स्थानहरूमा समावेश छन्। केरलाका मुख्यमन्त्री पिनाराई विजयनले वैवादमा उद्धार कार्य सुरु गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । पीएम मोदीले पिनाराई विजयनसँग पनि कुराकानी गरेका छन्। प्रधानमन्त्री कार्यालयले पहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई जनही २ लाख रुपैयाँ दिने जनाएको छ । घाइतेलाई ५० हजार रुपैयाँ दिइनेछ ।
राष्ट्रपति द्रौपदी मुर्मुले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको स्वास्थ्यलाभ र उद्धार कार्यको सफलताको कामना गरेकी छिन् । वायनाडका सांसद राहुल गान्धीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म वायनाडमा पहिरोबाट दुःखी छु। आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति म दुःख व्यक्त गर्दछु। म आशा गर्दछु कि जो अझै पनि फसेका छन् तिनीहरूको छिट्टै सकुशल उद्धार हुनेछ।’
राहुल गान्धीले पिनाराई विजयन र वायनाडका जिल्ला मजिस्ट्रेटसँग पनि कुरा गरेका छन्। कन्ट्रोल रुम स्थापना गर्न अनुरोध गर्दै राहुल गान्धीले राहत कार्यका लागि केही आवश्यक परेमा आफूहरूलाई जानकारी गराउनुपर्ने बताए । राहुलले युडीएफका कार्यकर्ताहरुलाई उद्धार कार्यमा सहयोग गर्न अपिल गरेका छन् ।
प्रियंका गान्धीले पनि पहिरोको घटनाप्रति दुःख व्यक्त गरेकी छन् । राहुल गान्धीले वायनाड सिट छोडेपछि प्रियंका गान्धीले यस सिटबाट कांग्रेसको टिकटमा चुनाव लड्ने छिन् । प्रधानमन्त्री मोदीले पनि केन्द्र सरकारले सम्भावित सबै सहयोग गर्ने बताएका छन् । केरला सरकारले हेल्पलाइन नम्बरहरू जारी गरेको छ।
Facebook Comment