पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन राष्ट्रियसभाका सांसदको सुझाव

काठमाडौं। सांसद गंगाकुमारी बेलबासेले राजनीतिक स्थिरता र विकास निर्माणका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने धारणा व्यक्त गरेकी छिन्। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने गरी काम गर्न आग्रह गरिन्।
“खर्चिलो चुनाव भयो भनिएको छ । जनताबाट निर्वाचित भएको कार्यकारी प्रमुखलाई निर्वाचन गर्न हामी पहिलेदेखि नै तयार छौँ । यो पक्षमा जाने आँट गर्नुहुन्छ भने हामी समर्थन जनाउँछौँ”, उनले भनिन्। उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन हुँदा स्थिर सरकार बन्न सक्ने धारणा राखिन्।
सांसद आनन्दप्रसाद ढुंगाना संविधान संशोधन गर्नु भनेको समावेशी प्रणाली विरोधी नभएको बताए। उनले प्रतिपक्षी दलले संविधान संशोधन गर्नु भनेको समावेशी विरोधी भएको भन्दै गलत भाष्य प्रचार गरेको बताए।
उनले राजतन्त्र हटाएर गणतन्त्र ल्याउँदा र संविधान बनाउदासमेत सत्तापक्ष पार्टी सधैँ समावेशीकै पक्षमा रहदै आएको बताए। “समानुपातिक समावेशी नेपाली जनताले पाइसकेको अधिकार हो”, उहाँले भन्नुभयो, “सरकार विरोधी होइन, प्रतिपक्षीको गलत प्रचार हो।”
उनले जनताले अब सरकारसँग परिणाम खोजेको उल्लेख गर्दै त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए। संविधान संशोधन निकासको अर्को आधार भएको उनको तर्क थियो। गठबन्धन सरकारले संविधानको संशोधनको कुरा उठाउनु मुलुकलाई निकास दिनका लागि भएको उनले बताए। संविधान बनेको दश वर्षपछि यसका सबल र निर्वल पक्षमाथि समीक्षा गर्नुपर्नेमा उहाँले जोड दिएका हुन्।
(((
Facebook Comment